Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका मुख्यमन्त्रीले कांग्रेससँग भने– ‘म एमालेकै मन्त्रीहरू फेर्दैछु’

उद्‌घोष संवाददाता
२७ असार २०८२, शुक्रवार

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेका मन्त्रीहरू फेर्ने तयारी गरेको जानकारी सत्ता साझेदार दल कांग्रेसलाई दिएका छन् । 

कांग्रेसबाट मन्त्री बनेकाहरू विवादमा परेको र उनीहरूलाई फेर्ने तयारी भइरहेको चर्चा चलिरहँदा मुख्यमन्त्रीले एमालेकै मन्त्री फेर्ने तयारी गरेको बताएका हुन् ।

सत्ता साझेदार दल कांग्रेस कोशीका नेताहरूसँगको छलफलमा मुख्यमन्त्री कार्कीले यस्तो जानकारी दिएको कांग्रेस नेताहरूले बताएका छन् । 

‘म हाम्रै पार्टीका मन्त्रीहरू फेर्ने तयारीमा लागेको छु, तपाइँहरू के गर्नुहुन्छ त्यो कांग्रेसको कुरा हो’ मुख्यमन्त्री कार्कीले कांग्रेस नेताहरूसँग भनेका थिए ‘म यसको तयारी छिट्टै पूरा गर्दैछु ।’

कांग्रेस नेताहरूले दिएको जानकारी अनुसार मुख्यमन्त्रीले एमालेकै केही मन्त्रीहरूको कार्यसम्पादन कमजोर रहेको भन्दै गुनासो गरेका थिए । 

‘उहाँको मुख्य टार्गेट सामाजिक विकास मन्त्रीतिर थियो’ कांग्रेस नेताहरूले भने ‘तर, अरूको पनि वर्ष दिन पूरा हुँदा फेर्ने सहमति छ । त्यसैले अब कांग्रेसभन्दा अघि एमालेकै मन्त्री फेरिएला जस्तो छ ।’

कोशीमा नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहयात्रा थालेको वर्ष दिन पुग्नै लाग्दा मन्त्रीहरू फेर्ने कसरत सुरू भएको चर्चा चुलिएको र त्यो पूर्व निर्णयमा आधारित भएको दुवै दलका नेता र सांसदहरू बताउँछन् ।

‘वर्ष दिन पूरा भयो, साथीहरूले बजेट पनि ल्याइहाले । अब फेर्नुपर्छ भन्ने कुरा पार्टीभित्र उठिसकेको छ, छिटै फेरिनुपर्ने भन्ने हाम्रो कुरा छ’ एमालेका एक सांसदले उद्घोषसँग भने ‘हेरौं कहिलेसम्ममा टुंगो लाग्छ ।’ 

कोशीमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री राम राना, खानेपानी सिंचाइ तथा उर्जा मन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी छन् ।

सिर्जना राई राज्यमन्त्रीको भूमिकामा छिन् ।

एमालेबाट मन्त्री बनेकाहरू प्रायले वर्ष दिन पूरा गरिसकेको  र कांग्रेसका मन्त्रीहरूको पनि आउँदो भदौमा १३ महिना पूरा हुन लागेका बेला मन्त्रीहरू फेरिने चर्चा चुलिएको हो । 

यद्यपि कांग्रेस नेताहरूले भने फेर्नकै लागि मुख्यमन्त्रीले यसो भनेका हुन् कि कांग्रेसमा दबाब बढाउन भन्ने प्रष्ट नभएको बताएका छन् ।

कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीलाई यसबारे सोध्दा उनले चर्चा भन्दा पनि गत वर्ष संसदीय दलको बैठकमा नेताहरूले १३ महिनापछि मन्त्री फेरिने बताएको र अहिले सोही कुराका आधारमा अनुमानहरू भएको हुनसक्ने बताए । 

‘नेताहरूले बैठकमा १३ महिनापछि मन्त्री फेरिने भन्नुभएको थियो’, उनले भने ‘अहिले त्यही विषय उठेको होला ।’

त्यसो त गत वर्ष भदौमा हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सामेल हुनुअघि आयोजित नेपाली कांग्रेस संसदीय दलको बैठकमा दल नेता उद्धव थापाले भनेका थिए ‘केन्द्रको निर्देशन अनुसार अहिले जाने मन्त्रीहरूको कार्यकाल १३ महिनाको हुनेछ । १३ महिना पूरा भएपछि अरू नयाँ साथीहरूले मन्त्रीको जिम्मेवारी पाउनुहुनेछ ।’

नेता थापाले दलको बैठकमै यसो भनेको समयसीमा नजिकै आउँदै गर्दा मन्त्री हुन इच्छा गरिरहेका सांसदहरूले यो विषय अनौपचारिक रूपमा उठाउन थालेका छन् । 

‘दलको नेताले बैठकमै भनेको विषय भएकाले अहिले मन्त्री फेरिने हल्ला चल्नु अस्वाभाविक होइन’, कांग्रेस संसदीय दलका अर्का एक  पदाधिकारीले भने ‘हेरौं अझै एक डेढ महिना बाँकी छ ।’ 

कोशीमा कांग्रेसबाट अहिले भूपेन्द्र राईले भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्रालय सम्हालेका छन् । सदानन्द मण्डलले वन वातावरण र पर्यटन अनि खगेनसिं हाङ्गामले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा पाएका छन् ।

View : 941

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved