Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

प्रधानमन्त्री ओलीद्वारा प्रदेश लगानी सम्मेलनको भव्य उद्घाटन

उद्‌घोष सम्वाददाता
१८ वैशाख २०८२, बिहिवार

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश लगानी सम्मेलन २०२५ को बिहीबार भव्य कार्यक्रमका साथ उद्घाटन गरेका छन् । 

विराटनगर महानगरपालिकाले करिव २२ करोड रुपैयाँ खर्चिएर पुनर्निमाण गरेको विरेन्द्र सभागृहमा आयोजित लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कोशी प्रदेश लगानीका लागि निकै अनुकूल रहेको बताए ।

प्रधानमन्त्री ओलीले सडक सञ्जाल, कानुनी अवस्था र अन्य कुराहरुको कारण अहिलेको अवस्था लगानीका लागि अनुकुल रहेको बताउ । उनले कोशी प्रदेशमा सबैतिर सडक सञ्जाल जोडिएकाले कच्चा पदार्थ ढुवानी र उत्पादनलाई बजारसम्म पुर्याउन कुनै समस्या नभएको बताए । 

हुलाकी राजमार्ग अन्तर्गत कनकाई र कमलामा पुल निर्माण भएलगत्तै चितवनसम्म सहज पहुँच हुने, माथिल्लो खण्डतर्फ एसियन मापदण्डको राजमार्ग निर्माण भइरहेकोले अहिले लगानी गरेर संचालन हुने उद्योगले आफ्नो उत्पादन सुरु गर्दासम्म सडक तयार भइसक्ने दाबी गरे ।

मदन भण्डारी राजमार्ग, कोशी, तमोर, किमाथांका, टिप ताला नाकाजस्ता स्थानहरू खुला भएकाले कोशी करिडोर निर्माण भइरहेको र जहाँसुकै सामान ढुवानी गर्न सकिने हुँदा लगानीकर्तालाई नडराई अगाडि बढ्न आग्रह गरे ।

उनले लगानीको वातावरण बनाउने प्रमुख कुरा भनेकै लगानीकर्ता र श्रमिकबीच कुनै खटपट नहुनु हो भन्दै श्रमिक र रोजगारदाताबीचको समस्या पनि सहजै समाधान हुने बताए । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट सामान ढुवान गर्न सहज र सस्तो बनाउन जलमार्गको प्रयोग गर्न सम्भव भएको बताए । कोशी नदी र कर्णाली नदीमा पानीजहाज संचालन गरी सामान ढुवानी गर्न सकिने बताए । प्रधानमन्त्री ओलीले विराटनगर विमानस्थल विस्तारको गरिने बताए । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार लगानीकर्ता र निजीक्षेत्रको वारेस बन्न तयार रहेको बताए । उनले कोशी प्रदेशमा आएको लगानीलाई सुरक्षित गर्न र लगानीका लागि भएका झन्झटहरू अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरू अध्यादेशमार्फत संसोधन गरेको बताए ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश लागनी सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित रहेको दाबी गरे । लगानी सम्मेलनमा ८ वटा क्षेत्रका ७१ वटा परियोजनालाई एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफल गरेपछि मात्रै ‘सोकेसिङ’ गरिएको जानकारी दिए ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले युवाहरुको पलायन रोक्न नेपालमा उद्योग र पर्यटन क्षेत्रको विकास गर्नु पर्नेमा जोड दिए । उनले छिमेकी मुलुक भारत र चीनबाट हिन्दु र बौद्ध धर्मावलम्बीहरूलाई ल्याउन सके देशको मुहार फेरिने बताए । सरकारले भारतीय पर्यटकले नेपाल आउँदा ल्याउन पाउने रकमको सीमा बढाउनु पर्ने बताए ।

लगानी सम्मेलनलाई शुभकामन दिंदै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देश संघीय संरचनामा गएपनि कतिपय कानुनहरू अझैपनि पुरानै रहेका कारण समस्या भएको बताए । 

संघीय संरचनालाई बलियो बनाउन कानुनी र संरचनामा देखिएको जटिलता फुकाउन आवश्यक रहेको बताए । मुख्यमन्त्री कँडेलले सात दशक लामो समय अधिकार प्राप्तिको लडाँईमा समय बितेको र अहिले देश विकासको गतिमा अघि बढेको उनले बताए ।

View : 91

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved