विराटनगर । प्रदेश राजधानी विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमाथि जिल्ला प्रशासन कार्यालय मोरङले समयसीमा तोक्दै अंकुश लगाउने गरी कदम चालेको छ ।
सुरक्षा चुनौती बढेको र सडक दुर्घटना हुन थालेको कारण देखाउँदै प्रशासनले होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई राति १० बजेभित्रै गेट बन्द गर्न र साढे १० बजेसम्म सबै ग्राहकलाई परिसरबाट बाहिर निकालिसक्न निर्देशन दिएको छ ।
केही दिनअघि एक युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि प्रशासनले चाडपर्वको समयमा रात्रीकालीन व्यवसाय सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो ।
त्यसका लागि गएको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सुरक्षा तथा प्रशासनिक अधिकारीहरूले विराटनगरका होटल र रेष्टुरेन्ट व्यवसायीलाई छलफलमा बोलाएका थिए ।
छलफलमा सुरक्षा निकायका अधिकारीहरूले चाडपर्व अवधिभर राति १० बजेपछि होटल तथा रेष्टुरेन्ट सञ्चालन नगर्न व्यवसायीलाई आग्रह गरे । रातिको समयमा दुर्घटना र सुरक्षा जोखिम बढेको उनीहरूको भनाइ थियो ।
तर, व्यवसायीहरूले भने सुरक्षा व्यवस्थापनको जिम्मेवारी व्यवसाय बन्द गराएर पूरा नहुने बताएका थिए ।
राति अबेरसम्म विराटनगर आउने यात्रु र पर्यटकलाई सेवा दिनुपर्ने भएकाले प्रदेश राजधानीलाई निश्चित समयपछि ठप्प पार्ने निर्णय उपयुक्त नहुने उनीहरूको तर्क थियो । व्यवसायीका
आपत्तिबीच प्रशासनले रात्रीकालीन व्यवसाय सञ्चालनका लागि विभिन्न सर्तसहितको निर्णय तयार पारेको छ ।
ती सर्तअनुसार तत्कालका लागि राति १० बजेभित्र होटल तथा मनोरञ्जनात्मक व्यवसायको प्रवेशद्वार बन्द गर्नुपर्नेछ ।
१०ः३० बजेसम्म सबै ग्राहकलाई व्यवसाय परिसरबाट बिदा गरिसक्नु पर्नेछ ।
संघीय सरकार मातहतको प्रशासनको यो निर्णयप्रति कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समेत सार्वजनिक रूपमै आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत स्थानीय प्रशासनको निर्देशनलाई गैरजिम्मेवार भन्दै पर्यटन, यातायात र नागरिकको आवागमनलाई चौबीसै घण्टा सुरक्षा दिनुपर्ने राज्यको दायित्व भएको बताएका छन् । मुख्यमन्त्री कार्कीले लेखेका छन्, ‘राज्यले दिउँसो मात्रै सुरक्षा हुन्छ राति हुन्न र दिन्न भन्न मिल्दैन ।’
उनले अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्चालन हुने र घरेलु विमानस्थलसमेत राति अबेरसम्म खुल्ने उदाहरण दिँदै राति आउने पर्यटक तथा यात्रुलाई सेवा दिनुपर्ने बताएका छन् ।
‘हाम्रो बिराटनगरको घरेलु विमानस्थल पनि राति अबेरसम्म उडान र अवतरण हुने गर्छ । हाम्रा सडक पनि बिस्तार र स्तरोन्नतिसँगै जतिबेला जहाँसुकै अनुकुलतामा मान्छेहरु आवतजावत गर्न सक्छन’, उनले लेखेका छन् ।
भारतका सीमावर्ती सहरमा रहेका अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ८–९ बजे ओर्लिएका यात्रु राति १० बजेपछि नेपालका सहरमा आइपुग्न सक्ने उल्लेख गर्दै उनले प्रश्न गरेका छन्, ‘त्यहाँ ओर्लिएका पर्यटक वा प्यासेन्जर हाम्रा सहरमा राति १० बजेदेखि बिहानसम्म यहाँ आइपुगे भने के भन्ने ? तपाईंहरु हाम्रो देश वा सहर नआउनुस भन्ने हो ? वा हाम्रा देश भित्रकै सडक यातायातबाट राति आइपुग्ने व्यक्तिलाई बस र गाडीमै बस्नुस् गाडीबाट नओर्लिनुस् भन्ने हो ?’
मुख्यमन्त्री कार्कीले स्थानीय प्रशासनले प्रदेश र स्थानीय सरकारसँग पनि परामर्श गरेर निर्णय गर्नुपर्ने बताएका छन् । उनले थप लेखेका छन्, ‘स्थानीय प्रशासनले यस्ता गैरजिम्मेवार सूचना प्रकाशन गर्नु अघि दशौं पटक सोची विचारी गर्नु ठिक हुन्छ । देशको प्रतिष्ठा अनि हाम्रो देशको पर्यटन क्षेत्र र व्यवसायीलाई नकारात्मक असर गर्ने काम गर्नु हुँदैन ।’
उनले राज्यको काम नागरिक र पाहुनाको जनधनको सुरक्षा गर्नु भएको भन्दै त्यसबाट कुनै पनि बहानामा उम्किन नमिल्ने बताएका छन् ।
‘राज्यको काम जनता र हाम्रा पाहुनाको जनधनको सुरक्षा गर्ने हो । यो कामबाट हामी कुनै पनि बहानामा उम्किन वा भाग्न सक्दैनौं’, मुख्यमन्त्री कार्कीको भनाइ छ ।
प्रशासनले तयार पारेको निर्णयमा रात्रीकालीन होटल, रेष्टुरेन्ट, गजल रेष्टुरेन्ट, स्पा, क्लब, लाउन्ज, डान्सबार, डिस्कोथेक तथा मनोरञ्जनात्मक व्यवसायलाई व्यवस्थित गर्न एक महिनाभित्र एकीकृत मापदण्ड बनाउने उल्लेख छ ।
उक्त मापदण्ड तयार भएर लागू नहुँदासम्मका लागि तत्कालीन सर्तहरू तोकिएका हुन् । त्यसो त विराटनगरमा प्रशासन र महानगरले तीन वर्ष अघि पनि रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने सम्बन्धि मापदण्ड बनाएका थिए । तर, मापदण्ड लागू गर्नुभन्दा राति ९ बजेपछि सिटी फुक्दै प्रहरी होटल बन्द गराउँदै हिँड्ने गरेको छ ।
यसपटकको निर्णयमा त प्रशासनले सुरक्षाको जिम्मा पनि व्यवसायीलाई नै सुम्पेको छ । निर्णय अनुसार व्यवसायीले मादक पदार्थ सेवन गरेका ग्राहकलाई सवारी साधन चलाएर घर फर्कनुपर्ने अवस्था आए उनीहरूको सुरक्षाको सुनिश्चितता गर्नुपर्नेछ । त्यसको विकल्पका रूपमा सुरक्षित यातायातको व्यवस्था व्यवसाय सञ्चालकले गरिदिनुपर्नेछ ।
त्यस्तै, व्यवसाय परिसरमा ध्वनि प्रदूषण हुन नदिन सावधानी अपनाउनुपर्ने, प्रवेशद्वार र आसपासको क्षेत्रमा कम्तीमा ३० दिनसम्मको अभिलेख रहने सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने र पर्याप्त प्रकाशको व्यवस्था गर्नुपर्ने सर्त राखिएको छ ।
यसबाहेक कर्मचारीलाई नियुक्तिपत्र दिनुपर्ने, बैंकिङ प्रणालीबाट न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध गराउनुपर्ने र जोखिम बीमा गर्नुपर्ने पनि निर्णयमा उल्लेख छ । राति काम गर्ने महिला कर्मचारीका लागि सुरक्षित यातायात र खानाको व्यवस्था गर्नुपर्नेछ ।
कार्यस्थलमा यौन उत्पीडन, शोषण र अमर्यादित व्यवहार हुन नदिन आचारसंहिता लागू गर्नुपर्ने तथा डान्सबार, क्लब, डिस्कोथेक, लाउन्ज बार र गजल रेष्टुरेन्टमा १८ वर्षमुनिका बालबालिकालाई प्रवेश निषेध गर्नुपर्ने सर्त राखिएको छ । खाद्य पदार्थको स्वच्छता, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै लैंगिकमैत्री शौचालय र फोहोर व्यवस्थापनलाई समेत सञ्चालनका सर्तमा समेटिएको छ ।
यी सर्त कार्यान्वयन भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय रात्रीकालीन व्यवसाय अनुगमन समिति गठन गर्ने निर्णय भएको छ ।
समितिमा प्रहरी, सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघ, स्थानीय तह र होटल व्यवसायी संघका प्रतिनिधि रहनेछन् । तोकिएका सर्त उल्लंघन गरी कानुनविपरीत गतिविधि गरेको पाइए प्रचलित उपभोक्ता संरक्षण ऐन, कालोबजारी ऐन तथा अन्य कानुनअनुसार कारबाही गर्ने प्रशासनको निर्णय छ ।
त्यस्तै मोरङमा सञ्चालित होटलले विदेशी नागरिकको पासपोर्ट अनिवार्य इन्ट्री गर्नुपर्ने र नेपाली नागरिकको परिचयपत्रको अभिलेख राखेर मात्रै होटल बुकिङ गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका उपाध्यक्ष तथा होटल व्यवसायी राजन श्रेष्ठले प्रशासनको निर्णयलाई अव्यावहारिक भन्दै सुरक्षा व्यवस्थापनको जिम्मेवारी व्यवसाय बन्द गराएर पूरा गर्न खोजिएको बताएका छन् ।
‘यो जे निर्णय भएको छ, ठीक भएको छैन । अहिले विराटनगरमा राती अबेलासम्म विमान चल्छ । देशका विभिन्न भागबाट गाडी मध्यरातसम्म आउँछन् । १० बजे नै होटलको गेट बन्द गर्ने भनेपछि ती मान्छेहरुलाई कहाँ जान भन्ने ?’ श्रेष्ठले प्रश्न गरे ।
उनका अनुसार राति अबेरसम्म विराटनगर आइपुग्ने यात्रु, पर्यटक र अन्य सेवाग्राहीलाई होटल तथा रेष्टुरेन्ट आवश्यक पर्छन् । प्रशासनले तोकेको समयसीमाले उनीहरूलाई सेवा पाउने अवसरबाट वञ्चित गर्नेछ ।
‘प्रशासन र सुरक्षा निकायले सुरक्षा प्रबन्ध गर्ने हो, व्यवसाय नै ठप्प पार्न लगाउने होइन’, श्रेष्ठले भने ।
विराटनगर कोशी प्रदेशको राजधानी र पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्र हो । भारतसँगको खुला सीमा, रेल, हवाई तथा सडक यातायातको पहुँच र औद्योगिक गतिविधिका कारण यहाँ रातिसम्म मानिसको आवागमन भइरहन्छ ।
विराटनगर विमानस्थलमा राति अबेरसम्म उडान तथा अवतरण हुने र पूर्वी पहाडी जिल्ला तथा देशका विभिन्न भागबाट सडकमार्ग हुँदै यात्रु आइपुग्ने भएकाले होटल तथा रेष्टुरेन्ट व्यवसायले पनि त्यसअनुसार सेवा दिँदै आएका छन् ।
व्यापारिक भेटघाट, यात्रुहरूको आवास, खानपिन र मनोरञ्जनका लागि सञ्चालनमा रहेका रात्रीकालीन व्यवसाय विराटनगरको सहरी अर्थतन्त्रसँग जोडिएका छन् ।
होटल, रेष्टुरेन्ट, बार, लाउन्ज र मनोरञ्जनस्थलमा राति काम गर्ने कर्मचारीदेखि यातायात र अन्य सेवाप्रदायकसम्म यस क्षेत्रको व्यवसायमा निर्भर छन् ।
View : 48
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved