विराटनगर । कोशी प्रदेश सरकारले २०८२ भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा भएको आगजनी र तोडफोडबाट क्षति पुगेका भौतिक संरचना, सवारी साधन, मेसिनरी औजार तथा कार्यालयका सामानहरूको लिलामी बिक्री गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले विपद् खोज उद्धार तथा राहत वितरण सम्बन्धी नयाँ कार्यविधि स्वीकृत गरेको उनले बताए ।
सरकारको कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित विपद् खोज उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि २०८३ लाई स्वीकृत गरेको मन्त्री पराजुलीले बताए ।
मन्त्रिपरिषद्ले प्रदेश बिउ बिजन नियमावली २०८३ र प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८३ लाई पनि स्वीकृत गरेको जनाइएको छ ।
सरकारले आर्थिक वर्ष २०८२८३ को लागि उद्योग, कृषि तथा सहकारी मन्त्रालय मातहतका विभिन्न निकायहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको मन्त्री पराजुलीले बताए ।
बैठकले प्रदेश खेलकुद ऐन (पहिलो संशोधन) अध्यादेश २०८३ लाई स्वीकृत गरेको छ ।
त्यस्तै, बृहत् विराट क्षेत्र विकास समितिको प्रमुख कार्यकारी निर्देशक छनोट गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।
साथै, स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यरत विशेषज्ञ चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ लाई पनि स्वीकृत गरिएको जनाइएको छ ।
View : 66
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved