Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

बालबाटिका स्कुलको स्वामित्व हस्तान्तरणमा विवाद

उद्घोष सम्वाददाता
२० चैत २०८०, मङ्गलवार

विराटनगर । विराटनगर–८ स्थित बालबाटिका इङ्लिस स्कुलको स्वामित्व खरिद बिक्री गरेका दुई पक्षबीच विवाद उत्पन्न भएको छ । बालबाटिकाका सञ्चालक राजन छाराहाङले विद्यालय बिक्री गरे पनि त्यहाँका विद्यार्थी र भौतिक सामग्री हस्तान्तरण गर्न आनाकानी गरेको स्वामित्व खरिदकर्ता नेशनल एकेडेमी प्रालिका सञ्चालक सकलदेव साहले आरोप लगाएका छन् ।

साहले सोमबार पक्रकार सम्मेलन गर्दै विद्यालय खरिद गरेर कानूनबमोजिम नामसारी गरिसकेको र खरिद बित्री सम्झौताअनुसार दुई पटक रकम समेत भुक्तानी गरिसकेको दाबी गरेका हुन् ।

दुई सञ्चालकबीच स्वामित्व हस्तान्तरणको विषय विवादित बनेपछि विद्यालयको नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्नाको विषय समेत प्रभावित भएको छ ।

बालबाटिकाका सञ्चालक छाराहाङले गत भदौ ३ गते २७ लाख ५० हजार रुपैयाँमा विद्यालयको सम्पूर्ण स्वामित्व विराटनगर–१० स्थित नेशनल ऐकेडेमीका सञ्चालक साहलाई बिक्री गरेका थिए ।

छाराहाङले आफूबाट नगद १० लाख रुपैयाँ लिएको र बाँकी रहेको रकममध्ये १२ लाख ५० हजार रुपैयाँ छाराहाङकै आग्रहमा पंकज गुप्तालाई दिएको दाबी गरेका छन् । तर अहिले

उक्त १२ लाख ५० हजार र बाँकी ५ लाख रुपैयाँ पनि आफैले पाउनुपर्ने भन्दै अड्को थापेर विद्यालयका विद्यार्थी र भौतिक सामग्री हस्तान्तरण नगरेको साहले गुनासो गरेका हुन् ।

आफूले कानुनबमोजिम विद्यालय खरिद गरेर कम्पनी रजिष्ट्रारको कार्यालय र विराटनगर महानगरपालिकामा समेत विद्यालयको अनुमति पाइसकेकोले पुरानो विद्यालय बालबाटिकाको रेकर्डअनुसारका ११० जना विद्यार्थी र डेक्स बेञ्च लगायतका भौतिक सामग्री प्राप्त गर्नुपर्ने साहले बताए ।

‘विद्यालय खरिदका लागि भएको सहमति र लेनदेनको कागजातअनुसार मैले अब ५ लाख रुपैयाँमात्रै दिन बाँकी छ, उक्त रकम म जतिबेला पनि दिन तयार छु’ साहले भने, ‘तर वहाँले कानूनअनुसार बिक्री गरेको विद्यालयको विद्यार्थी र त्यहाँको भौतिक सम्पत्ति हस्तान्तरण गर्नुभएको छैन ।’ 

साहले बालबाटिकाले कानूनी रुपमै विद्यालय बिक्री गरिसकेका कारण नयाँ शैक्षिक सत्र २०८१ देखि उक्त विद्यालयमा विद्यार्थी भर्ना नगर्न अभिभावकहरूलाई आग्रह गरेका छन् । उनले अभिभावकहरूले समेत कानुनी हैसियत नभएको शैक्षिक संस्थामा विद्यार्थी भर्ना हुन सक्ने अवस्था रहेकोले अभिभावकहरूलाई जानकारी गराउने काम भइरहेको बताए ।

नेशनल ऐकेडेमीको नाममा विद्यालय सञ्चालन भइसकेकोले साविक सञ्चालकले गैरकानुनी रुपले आफै सञ्चालन गर्दै बालबाटिकामा विद्यार्थी भर्ना नगर्न समेत साहले आग्रह गरेका हुन् ।

View : 83

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved