Biratnagar, Morang, Nepal
२७ फागुन २०८२, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा ८० प्रतिशत उम्मेदवारको जमानत जफत

कोशी प्रदेशका १४ जिल्लाका १७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको रास्वपाले चारवटा जिल्लामा भने जमानत जोगाउन असफल बनेको छ ।
उद्‌घोष संवाददाता
२७ फागुन २०८२, बुधवार

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचनमा कोशी प्रदेशका १४ जिल्लामा उम्मेदवारी दिएका ४९५ उम्मेदवारमध्ये ३९९ जनाको जमानत जफत भएको छ । यो संख्या कुल उम्मेदवारको ८० दशमलव ६१ प्रतिशत हो ।

झापा, मोरङ र सुनसरीमा ठुला दलकै उम्मेदवारहरूले जमानत जोगाउन सकेनन् । तराई र शहरी मतदातामाझ लोकप्रिय बनेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भने पहाडी जिल्लामा भने जमानत जफत गराएका छन् ।

प्रतिनिधि सभा निर्वाचनमा कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था रहेको छ । 

कोशी प्रदेशमा ठूलो संख्यामा स्वतन्त्र र साना दलका उम्मेदवार उठ्दा धेरैको जमानत जफत भएको छ ।

सबैभन्दा बढी सुनसरीमा १०० जना उम्मेदवारको जमानत जफत भएको छ । ११० उम्मेदवारमध्ये ९० दशमलव ९१ प्रतिशत उम्मेदवारले जमानत जोगाउने गरी आवश्यक मत पाउन सकेनन् ।

सुनसरी १ मा नेपाली कांग्रेसका सुजेन्द्र तामाङ, नेकपा एमालेका टिकाराम लिम्बु र नेपाल कम्युनिस्ट पार्टीका मनोज भट्टराईसहित २१ उम्मेदवारले जमानत जोगाउन सकेनन् । 

सुनसरी २ मा नेकपाकी रामकुमारी चौधरी र नेकपा एमालेका सुजन लामाले जमानत जोगाएनन् ।

सुनसरी ३ मा नेकपाका दुर्गेशकुमार चौधरी र सुनसरी ४ मा महमद महफुज अन्सारीले पनि जमानत जोगाएनन् ।

झापा र मोरङमा पनि ठुलो संख्यामा उम्मेदवारले जमानत गुमाएका छन् । झापामा ९० उम्मेदवारमध्ये ७८ जनाले जमानत जोगाउन सकेनन् । 

झापा १ मा नेकपा एमालेका रामचन्द्र उप्रेती, राप्रपाका हेमराज कार्की, नेकपाका अशेष घिमिरेलगायतको जमानत जफत भएको छ । 

त्यस्तै क्षेत्र नं २ मा राप्रपाका भद्रप्रसाद नेपाल(स्वागत), नेकपाकी धर्मशीला चापागाईसहित १६ जना उम्मेदवारको जमानत जफत भएको जनाइएको छ ।

झापा ३ मा कांग्रेसका राजेन्द्र घिमिरे, एमालेका हरिबहादुर राजवंशी, नेकपाका डिल्लीराम घिमिरेको पनि जमानत जफत भएको छ ।

झापा ४ मा राप्रपाका भक्तिप्रसाद सिटौला, नेकपाका पुरुषोत्तम चुडालसहित १३ जना उम्मेदवारको जमानत जफत भएको छ । झापा ५ मा कांग्रेसकी मन्धरा चिमरिया र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाको पनि जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

मोरङमा ११० उम्मेदवारमध्ये ९१ जनाले जमानत जोगाउन सकेनन् । मोरङ १ मा नेकपाका कुलप्रसाद साम्बा, मोरङ २ चन्द्रवीर राई, मोरङ ३ डा. देउमान सम्बाहाम्फे र ६ मा ओपेन्द्रकुमार रायले जमानत जोगाएनन् ।

एमालेबाट मोरङ ३ का ईरान राई, ४ का जीवन घिमिरे, ५ का मनोजकुमार अग्रवाल र ६ का विनोद ढकालले पनि जमानत जोगाउन सकेनन् । 

मोरङ ५ मा अघिल्लो पटक निर्वाचित सांसद योगेन्द्र मण्डलले समेतको यसपटक जमानत जोगिएन । मोरङका कांग्रेसका भने सबै उम्मेदवारले जमानत जोगाएका छन् ।

यसैबीच, धनकुटामा १७ उम्मेदवारमध्ये १३, संखुवासभामा १६ मध्ये १२, पाँचथरमा १५ मध्ये ११, खोटाङ र ओखलढुंगामा समान १५ मध्ये ११–११ जना उम्मेदवारको जमानत जफत भएको छ ।

ताप्लेजुङमा १३ मध्ये ९, उदयपुरमा ३१ मध्ये २१, इलाममा २७ मध्ये १८, र तेह्रथुममा १२ मध्ये ८ जनाको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

भोजपुरमा भने सवैभन्दा कम उम्मेदवारको जमानत जफत भएको छ । त्यहाँ १२ उम्मेदवारमध्ये ७ जनाको मात्रै जमानत जफत भएको आयोगको तथ्यांकमा उल्लेख छ ।

नेकपाबाट इलाम २ मा ओमबहादुर गुरुङ, संखुवासभामा सरिता थापा, तेह्रथुममा रनध्वज लिम्बु र धनकुटामा धर्मराज पौडेलले जमानत जोगाउन नसकेको जनाइएको छ ।

रास्वपाका चार उम्मेदवारको जमानत जफत

कोशी प्रदेशका १४ जिल्लाका १७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको रास्वपाले चारवटा जिल्लामा भने जमानत जोगाउन असफल बनेको छ ।

रास्वपाले आफ्नो प्रभाव कम भएका पहाडी जिल्लामा जमानत जोगाउन नसकेको हो ।

रास्वपाबाट ताप्लेजुङमा उम्मेदवार बनेका विरेन्द्र श्रेष्ठ, पाँचथरका महेन्द्र विक्रम थाम्सुहाङ, सोलुखुम्बुका ऋषिधन थुलुङ राई र खोटाङमा रुद्र गिरीले १० प्रतिशत मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको छ ।

View : 28

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved