Biratnagar, Morang, Nepal
२१ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

प्रधानमन्त्री दाहालले पाए तेस्रो पटक विश्वासको मत

सभामुख देवराज घिमिरेले मत विभाजनको परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ प्राप्त भएको जानकारी गराए ।
उद्घोष सम्वाददाता
३० फागुन २०८०, बुधवार

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक सय १० मत प्राप्त भएको हो ।

बैठकमा दुई सय ६८ सांसद उपस्थित भएका थिए । सात सांसद अनुपस्थित रहेका थिए । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि एक सय ३८ मत आवश्यक पर्छ । विश्वासको मतसम्बन्धी प्रस्तावलाई मत विभाजनको प्रक्रियामा लगिएको थियो ।

सभामुख देवराज घिमिरेले मत विभाजनको परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ प्राप्त भएको जानकारी गराए । उनले सो सङ्ख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत भएकाले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

प्रधानमन्त्री दाहाललाई सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका हुन् ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज पुनः विश्वासको मत लिएका हुन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । उनले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले पहिलोपटक प्रतिनिधिसभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गरेका थिए ।

संसद्मा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिका हुन् । उनलाई सो समयमा नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त भएको थियो । त्यसबेला नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायतका सबै दलले विश्वासको मत दिएका थिए ।

राष्ट्रपति निर्वाचनका क्रममा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्री दाहालले दोस्रोपटक २०७९ चैत ६ गते पुनः प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका थिए । सो समयमा उनले एक सय ७२ मत प्राप्त गरेका थिए । उनको विपक्षमा ८९ मत परेको थियो ।
 

View : 94

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved