विराटनगर । कैदीबन्दीले पाउने गर्मी भत्ता असुली गरेको आरोपमा विराटनगरका अभिषेक गिरी पक्राउ परेपछि उनको समर्थन र बिरोधमा कारागार भित्र नाराबाजी भएको छ ।
विभिन अभियोगमा लामो समय जेल बसेर निस्केका गिरीलाई विराटनगर–८ स्थित उनको निवासबाट शनिबार विहान मोरङ प्रहरीले पक्राउ गरेको थियो ।
उनी पक्राउ परेपछि मोरङ कारागारमा दुई वटा ब्लकका कैदीबन्दीले समर्थन र बिरोधमा शनिबार बेलुकासम्म नाराबाजी गरेका हुन् । उनीहरूले कारागारभित्रै टायर बालेर बिरोध पनि गरेका थिए ।
कारागारको बी ब्लकका कैदीबन्दीले गिरीको रिहाईको माग र ए ब्लकका कैदीबन्दीले कारवाहीको माग गर्दै चर्को नाराबाजी गरेका थिए ।
दुई ब्लकबीचमा तनाव बढ्न सक्ने देखेर ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । कारागार सुरक्षामा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसहितका सुरक्षा अधिकारीहरू उपस्थित भएका थिए ।
कैदीबन्दीले पाएको जनही २ हजार ५ सय रूपैयाँ गर्मी भत्ता गिरीले लगेको प्रजिअ कट्टेललाई सूचना दिइएको थियो । सो कुरा बिभिन्न ब्यक्तिले शुक्रबार नै सामाजिक सञ्जालमा लेखेका थिए ।
कैदीबन्दीलाई सरकारले दिएर बितरण भएको भत्ता गिरीको घरमा कारागारका निमित्त चौकीदार चञ्चल बर्मनले लगिदिएको स्वीकार गरेपछि प्रहरी गिरीको घर पुगेको बताइएको छ ।
मोरङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले कैदीबन्दीलाई अनुचित प्रभावमा पारेर अबैध रूपमा रकम अशुली गरेको पाइएपछि गिरीलाई पक्राउ गरेर अनुसन्धान थालिएको जानकारी दिए ।
एक ब्लकमा रहेका कैदीबन्दीको करिव १३ लाख रूपैयाँ बर्मनले घरमा लगेर दिएको स्वीकार गरेपछि प्रहरीले गिरीको घरमा खानतलासी गरेको थियो ।
पक्राउ पछि गिरीलाई छाती दुखेकाले कोशी अस्पतालको आकस्मिक कक्षमा लगेर बिभिन्न परीक्षण गरिएको थियो ।
अस्पताल प्रमुख डा. चन्द्रभाल झाका अनुसार गिरीको रक्तचाप र मधुमेह बढेको देखिए पनि इसीजी भने सामान्य देखिएको थियो । गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष जेल सजाय पाएर छुटेपछि नेपाली कांग्रेसको राजनीति र सामाजिक काममा सक्रिय छन् ।
नाराबाजीका क्रममा कैदीबन्दीले अप्रिय घटना गराउन सक्ने देखेर कारागारमा दमकल तैनाथ राखिएको छ । केही वर्षअघि गिरी सोही कारागारमा चौकीदारका रूपमा रहेका बेला जेल सरूवाको प्रयास गरिंदा यसरी नै कैदीबन्दीले आगजनी र तोडफोड गरेका थिए ।
चौकीदार रहेका बेला गिरीले कैदीबन्दीका लागि जेलभित्र सञ्चालन गरेका घरेलु उद्योग हालसम्म सञ्चालित छन् । त्यसबाट आउने मुनाफा हाल पनि गिरीलाई पठाउने गरिएको बताइएको छ ।
View : 76
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved