Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

नियमावलीमा चलखेल भएको भन्दै पहिचानवादीको आपत्ति

उद्‌घोष संवाददाता
१० भदौ २०८२, मङ्गलवार

विराटनगर । प्रदेशको नाम ‘कोशी’ राखिएको विरोधमा निरन्तर संघर्षमा रहेको ‘प्रदेश नं १ पुनः नामाङ्कन अभियान समिति’ ले नेकपा एमाले नेतृत्वमा फेरि अर्को चलखेल भइरहेको भन्दै आपत्ति प्रकट गरेको छ । 

प्रदेशसभमा नियमावलीबाट प्रदेशको नामकरण संशोधन प्रस्ताव गर्न नसकिने गरी नियम नै खारेज गर्ने तयारी भइरहेको भन्दै समितिले सोमबार विज्ञप्ति जारी गरेर आपत्ति प्रकट गरेको हो । 

‘प्रदेशसभा नियमावली २०७९ संशोधन संमितिका संयोजक एमाले प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीद्वारा कोशी नाम संशोधन प्रस्तावबाटै च्याप्टर क्लोजको प्रस्ताव भएको सञ्चारमाध्यमहरु मार्फत सार्वजनिक भएको छ’ विज्ञप्तिमा भनिएको छ । यस्तो प्रस्तावले प्रदेशमा द्वन्द्व थप चर्किने भन्दै समितिले चेतावनी पनि दिएको छ ।

कोशी नाम खारेजी आन्दोलनमा ४२ वर्षीय पदम लिम्बू (लाजेहाङ) को मृत्यु भएको, गोली लागेर युवाहरु घाइते भएको, सोही प्रकरणमा आषिश सा“बा हालसम्म इलाममा जेल जीवन बिताइरहेको प्रसंग उल्लेख गर्दै समितिले आन्दोलनको क्रममा २५० भन्दा बढी घाइते भएको र त्यति नै संख्यालाई झुटा मुद्दा लगाइएको स्मरण पनि गरेको छ ।

‘कथित कोशी नाम खारेजीको आन्दोलन निरन्तर चलिरहेको छ । एमाले सम्बद्ध लिलाबल्लभ अधिकारीले तयारीको अन्तिम भनिएको नियमावलीको संशोधन मस्यौदा समितिमा प्रस्तुत गर्दा प्रदेशको नामकरण पुनः संशोधन प्रस्तावसम्म गर्न नसकिने गरी ल्याउन लागेको सूचना प्रति हामी थप गम्भीर भएका छाै‌, आक्रोशित भएका छाै‌’, विज्ञप्तिमा भनिएको छ ‘कथित कोशी नाम राखेर गल्ती भएको माओवादी केन्द्रको केन्द्रीय समिति, प्रदेश समिति र नेपाली कांग्रेसको १४ जिल्ला सभापतिहरुले संयुक्त विज्ञप्ति प्रकाशन गरेर पुनः विचार गर्नुपर्ने विज्ञप्ति आएको सर्वविदितै छ ।’

सरकार र संघर्ष समितिवीच पटक–पटक वार्ता भएको भन्दै समितिले कोशी नाममा हस्ताक्षर गर्ने प्रदेश सभा सदस्यहरु, आन्दोलनरत पक्षलाई असभ्य भाषामा प्रयोग गर्दै जातीय हिंसा गराउन खोज्ने प्रधानमन्त्री केपी ओली, योगेश भट्टराई र महेश बस्नेत विरुद्ध प्रतिरोध संघर्ष जारी रहेको पनि बताएको छ ।

‘कसैले माग नगरेको कोशी नाम राखेपछि नाम सम्बन्धी प्रदेशसभा नियमावलीको नियम ५८ (ख) तत्काल हटाएर पहिचानवादी आम प्रदेशवासीको भावनामा चोट पु¥याइएको थियो’ विज्ञप्तिमा भनिएको छ । 

प्रदेशको नाम संशोधन गर्न नमिल्ने गरी नियमावली नल्याउन माग गर्दै समितिले त्यसो गरिए त्यसले झनै ठूलो समस्या ल्याउने चेतावनी पनि दिएको छ ।

विज्ञप्तिमा अभियानका नेताहरु प्रेम येक्तेन, ग्याल्जेन शेर्पा, डकेन्द्रसिंह थेगिम, जीवन हाताचो राई, लाक्पा शेर्पा, गोपाल किराती, केपा पालुङ्वा कुमार लिङ्देन मिराक, दीपक याक्खा, रमेश राईलगायतले हस्ताक्षर गरेका छन् ।

View : 397

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved