विराटनगर । नदीजन्य सामग्रीको अवैध उत्खनन्को समाचार संकलनका क्रममा पुगेका पत्रकारहरूलाई ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझी र उनी निकटका व्यक्तिहरूले अभद्र व्यवहार गर्दै आक्रमणको धम्की दिएका छन् ।
जथाभावी खोला उत्खनन् गरी नदीजन्य सामग्री चोरी पैठारी भएको विषयमा समाचार संकलन गर्न ग्रामथान–४ स्थित लोहन्द्रा खोला पुगेका पत्रकारहरूलाई अध्यक्ष माझीले नै गालीगलौच गरेको पत्रकारहरूले बताएका छन् ।
यो घटनाले अध्यक्ष माझी नै अवैध उत्खनन्मा संलग्न रहेको आरोप पुष्टि भएको उनीहरूले बताएका छन् ।
पत्रकारमाथि भौतिक आक्रमणमा उत्रिने मनसायका साथ धाकधम्की दिइएको भन्दै घटनाको छानबिन गर्न माग राख्दै पत्रकारहरूले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई बुधबार ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल पत्रकार महासंघका कोशी प्रदेश समिति, मोरङ शाखाका प्रतिनिधि र पीडित पत्रकारहरूले बुधबार जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरूले स्वतन्त्रपूर्वक समाचार संकलन गर्न पाउने हकको सुरक्षा गर्न माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ मोरङले समाचार संकलनका क्रममा पत्रकारमाथि भएको धम्की तथा दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उत्खनन् भएको क्षेत्रमा मंगलबार समाचार संकलनका लागि पुगेका महासंघ मोरङका कार्यसमिति सदस्य डुमरलाल मेहतासहित सदस्यहरू मोहन ढकाल, सन्तोष मेहता तथा पत्रकारहरू नगेन्द्र खड्का, प्रवेश तिम्सिना, भवदेव महतो र दीपेन्द्रकुमार साहलाई खोला उत्खनन्मा संलग्न व्यक्तिहरूले ज्यान मार्ने धम्की दिएको जनाइएको छ ।
महासंघले उक्त घटनालाई अत्यन्त गम्भीर, निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमण भनेको छ ।
महासंघले पत्रकारहरूको सुरक्षाको प्रत्याभूति दिनुपर्ने जिम्मेवारी बोकेका जनप्रतिनिधिबाटै यस्तो व्यवहार हुनु लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र कानुनी शासनमाथिको खुला चुनौती भएको उल्लेख गरेको छ ।
रिपोर्टिङका लागि पुगेका पत्रकार दीपेन्द्रकुमार साहले पालिका अध्यक्ष माझीकै निकट रहेका र मादकपदार्थ सेवन गरेका बाउन्सरजस्ता व्यक्तिहरूले आफूहरूलाई रिपोर्टिङका क्रममा अवरोध गरी अपशब्द प्रयोग गरेको र आक्रमणको धम्की दिएको बताए ।
‘उत्खनन्स्थलमा भेटिएका व्यक्तिहरूले धम्क्याउँदा माझीले जेनजी आन्दोलनमा शेरबहादुर देउवाले त कुटाइ खाएका थिए’ भन्दै आक्रमण हुनसक्ने चेतावनी दिएका थिए ।
माझीले आफूहरूलाई ‘जानकारी नगराई रिपोर्टिङमा किन आएको’, ‘विज्ञापन मागेको भए भैहाल्थ्यो’ भन्दै आगामी दिनमा ग्रामथानमा समाचार संकलन नगर्न चेतावनी दिएको उनले बताए ।
अध्यक्ष माझीको धम्कीपूर्ण भाषाले उक्त उत्खनन्मा उनकै मिलेमतो रहेको स्पष्ट भएको स्थानीय अर्का पत्रकारले बताए ।
ज्ञापनपत्र बुझाउँदै नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारीले जनप्रतिनिधिले नै धम्कीपूर्ण भाषा बोल्नु पदीय गरिमाविपरितको कार्य भएको भन्दै पत्रकारमाथि भएको घटना निन्दनीय रहेको बताए ।
महासंघ मोरङका सचिव नेत्रपी अधिकारीले घटनालाई गम्भीर रुपमा छानबिन गर्न प्रजिअ कट्टेल समक्ष आग्रह गरेका छन् ।
प्रजिअ कट्टेलले अध्यक्ष माझीलाई बोलाएर सोधपुछ गरिने आश्वासन दिएका छन् ।
उनले प्राकृतिक स्रोत–साधनको दुरुपयोग भएको विषयमा पत्रकारहरूले आवाज उठाएर प्रशासनलाई सघाएको बताएका छन् ।
सिंघिया र लोहन्द्रा खोलामा अवैध रुपमा उत्खनन् भइरहेको जानकारी आएका कारण प्रशासनकै सक्रियतामा स्थलगत अनुगमनसमेत भइसकेको र गाउँपालिकासँग जवाफसमेत माग भइसकेको बताए ।
View : 151
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved