Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

उपचारमा लापरवाही गरेको भन्दै नोबेलका डाक्टर साहलाई कारवाहीको माग

छेडेर पत्थरी निकाल्ने भनिए पनि फुटाएर निकालिएको भनेर पहिलो दिननै ठगी भएको बताउँदै तिम्सिनाले पाँच जना चिकित्सकले बताएपछि सोध्न जाँदा पुनः आफूलाई डा साहले ठगेको बताए । स्वास्थ्यमा खेलबाड गरेको र अप्रेशन, बेडचार्ज, औषधि र अन्य गरेर ९० हजार रूपैंयाँ खर्च भएपछि पत्थरी जस्ताको त्यस्तै रहेको उनको भनाइ छ ।
उद्घोष सम्वाददाता
७ वैशाख २०८१, शुक्रवार

विराटनगर । नोबेल मेडिकल कलेज र त्यहाँ कार्यरत एक चिकित्सकलाई कारवाहीको माग गर्दै एक महिलाले मोरङ प्रशासनमा निवेदन दिएकी छन् ।

इटहरी–५ निवासी आस्था दाहालले उनका श्रीमान सुमन तिम्सिनाको गलत उपचार गरेको जनाउँदै बिहीबार जिल्ला प्रशासन कार्यालयमा कारवाही र क्षतिपूर्तिको माग गरेर निवेदन दिएकी हुन् । मृगौलामा १३ एमएमको पत्थरी रहेकाले तिम्सिना नोबेलमा कार्यरत चिकित्सक रामसागर साहसँग सुझावका लागि पुगेका थिए ।

गत चैत ८ मो तिम्सिनालाई पीसीएनएल प्रविधिबाट शल्यक्रिया गर्ने भनेर डा. साहले नोबेलमा भर्ना गरेका थिए । ‘४५ हजार रूपैंयाँको बिल तिरेपछि ९ गते अप्रेशन थिएटरमा लगेर श्रीमानलाई बेहोस पारियो, मसँग रगत समूह मिल्ने भएकाले मेरो रगत पनि एक पिन्ट लिइयो’ आस्थाले भनिन् ‘अप्रेशन नगरी बाहिर निकालिएपछि हामीले जिज्ञाशा राख्दा ६ हजार रूपैंया फिर्ता गरियो ।’

अप्रेशन नगरी बिरामी निकालिएपछि चिकित्सकले आरआईआरएस प्रविधिबाट पिसाव नलीमार्फत ढुङ्गा फुटाएको भनेर ६ हजार रूपैंयाँ फिर्ता गरिएको उनले बताइन् । फुटेको ढुङ्गा पुनः सोही प्रबिधिबाट १५ दिनपछि निकालिने र त्यसका लागि ६० हजार रूपैयाँ लाग्ने भनिएको थियो । पत्थरी फुटाएको बताए पनि दुखाई कम नभएकाले तिम्सिना इटहरी अस्पताल गएका थिए ।

त्यहाँ भिडियो एक्सरे गर्दा १३ एमएमकै पत्थरी रहेको बताइयो । त्यसपछि उनी वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गएका थिए । त्यहाँ पनि त्यही जवाफ दिइएको थियो । विराटनगरको न्युरो अस्पतालमा पुनः एक्सरे र भिडियो एक्सरे गरेर जाँच गर्दा पत्थरी नघटेको बताइयो । तीनजना युरोलोजिष्ट र दुई रेडियोलोजिष्टलाई देखाउँदा सबैले पत्थरी नफुटेको बताएपछि उनी वैशाख ४ गते नोबेल गएकी थिइन् ।

डा. साह नभेटिएपछि सो कुरा अस्पताल प्रशासनलाई जानकारी गराएर फर्किएका थिए । बैशाख ५ गते उनी डा साहलाई भेट्न पुनः गएका थिए । ‘५ जना डाक्टरले पत्थरी नफुटेको र पहिलेकै आकारमा रहेको बताए, उनीहरू गलत कि तपाई ? मैले डाक्टर साहलाई सोधें’ तिम्सिनाले भने ‘मेरो प्रश्नमा डाक्टर साह जङ्गिदै म जतिको सिनियर डाक्टरले भनेको गलत भयो ? भन्दै मलाई हप्काएर पठाए ।’

छेडेर पत्थरी निकाल्ने भनिए पनि फुटाएर निकालिएको भनेर पहिलो दिननै ठगी भएको बताउँदै तिम्सिनाले पाँच जना चिकित्सकले बताएपछि सोध्न जाँदा पुनः आफूलाई डा साहले ठगेको बताए । स्वास्थ्यमा खेलबाड गरेको र अप्रेशन, बेडचार्ज, औषधि र अन्य गरेर ९० हजार रूपैंयाँ खर्च भएपछि पत्थरी जस्ताको त्यस्तै रहेको उनको भनाइ छ ।

‘एउटा प्रविधिबाट अप्रेशन गर्ने भनि हाम्रो सहमति बेगर अर्को प्रविधिबाट गरिएको, आधा पत्थरी निकालिएको भनि गलत जानकारी दिएको, बिरामीमा कुनै सुधार नआएको’ जिल्ला प्रशासनमा दर्ता भएको निवेदनमा भनिएको छ–‘स्वास्थ्यमा खेलवाड गरेकाले ज्यानैसमेत जान सक्ने भएकाले प्रचलित कानुन बमोजिम निज साह र नोबेल अस्पताललाई कारवाही गरी उचित क्षतिपुर्ति दिलाई पाउँ ।’

अस्पताल स्रोतका अनुसार डा साह पीसीएनएल प्रविधिबाट छेडेर पत्थरी निकाल्ने विषयका विषेशज्ञ हैनन् ।

विषयको विज्ञ नभए पनि बिरामीलाई बिल तिराएर अप्रेशनका लागि बेहास पारेपछि डा साहले जानेको आरआईआरएस प्रविधिबाट पिसाव नलीमा पाइप लगाएका हुन् ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले दुबै पक्षलाई बोलाएर छलफल गराउने बताएको निवेदक दाहालको भनाइ छ ।

View : 257

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved