आन्तरिक राजश्व विराटनगरको प्रगति
विराटनगर । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कार्यालय भवनमा भएको तोडफोड र आगजनीले भौतिक संरचनाहरू खरानी भए पनि आन्तरिक राजश्व कार्यालय विराटनगरले राजश्व संकलनमा लोभलाग्दो प्रगति हासिल गरेको छ ।
कार्यालयको भवनसहित अन्तःशुल्कका महत्वपूर्ण सामग्री, जफत गरिएका सवारीसाधन तथा अन्य भौतिक संरचनामा करिब छ करोड रुपैयाँ बराबरको क्षति भई कर्मचारी बस्ने कुर्सी–टेबल समेत नभएको विषम परिस्थितिमा पनि कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को सात महिनामा उत्साहजनक प्रगति हासिल गरेको हो ।
कार्यालय प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीका अनुसार उक्त आन्दोलनका कारण कार्यालय सञ्चालनमा ठूलो चुनौती देखिएपनि तीन दिनभित्रै अस्थायी व्यवस्था मिलाएर डढेको संरचना र खुला स्थानबाटै सेवा प्रवाह सुरु गरिएको थियो ।
तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२–८३ को माघ महिनासम्म अर्थात् सात महिनाको कुल लक्ष्य ५ अर्ब ६९ करोड रुपैयाँ रहेकोमा कार्यालयले ४ अर्ब ९५ करोड रुपैयाँ असुली गर्न सफल भएको छ । यो कुल लक्ष्यको ८६.९० प्रतिशत प्रगति हो ।
गत आर्थिक वर्ष २०८१–८२ को सोही अवधिको तुलनामा यस वर्षको राजश्व संकलन दरमा सुधार देखिएको छ । गत वर्ष माघसम्म ५ अर्ब ३६ करोड लक्ष्य रहेकोमा ४ अर्ब ५३ करोड रुपैया अर्थात् ८४.४ प्रतिशत मात्र असुली भएको थियो ।
विशेष गरी यस वर्षको माघ महिनाको मात्रै लक्ष्य र असुलीलाई हेर्दा कार्यालयले शतप्रतिशत भन्दा बढी सफलता पाएको छ ।
माघ महिनाका लागि ७६ करोड ४७ लाख रुपैयाको लक्ष्य तोकिएकोमा ७७ करोड ४७ लाख रुपैयाँ असुली भएको छ, जुन मासिक लक्ष्यको १०१.३० प्रतिशत हो ।
गत वर्ष माघ महिनाको ७३ करोड २६ लाखको लक्ष्यमा जम्मा ६० करोड ७१ लाख रुपैया मात्र असुली भएको थियो ।
कार्यालय प्रमुख उप्रेतीका अनुसार पछिल्लो समय मूल्य अभिवृद्धि कर र अन्तःशुल्कतर्फ उल्लेख्य सुधार देखिएको छ भने आयकर शीर्षकमा भने लक्ष्यको ८१ प्रतिशत मात्र असुली भएको तथ्याङ्क छ ।
मूल्य अभिवृद्धि करमा दिइएको विशेष स्कीमले कर संकलनमा थप सहयोग पुगेको र यसले समग्र राजश्व वृद्धिमा टेवा पु¥याएको उनको भनाइ छ ।
आन्दोलनपछि भौतिक संरचना ध्वस्त हुँदा सेवाग्राहीका केही कागजपत्रहरू अपुग भई प्राविधिक कठिनाइ भएपनि बाँकी सबै सेवाहरू समयमै उपलब्ध गराइरहेको कार्यालयले जनाएको छ । ‘कर्मचारी बस्ने ठाउँसमेत नभएको अवस्था थियो, तर हामीले सेवा रोकेनौ, त्यसैले प्रतिकूलताका बीच पनि राजश्वको लक्ष्य पछ्याइरहेका छौं, उप्रेतीले भने ।
View : 54
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved