Biratnagar, Morang, Nepal
६ जेठ २०८१, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

चितवनमा आजदेखि अन्तरप्रदेश खेलकुद

कोशी प्रदेशबाट दुई सय ५३ खेलाडीले प्रतिष्पर्धा गर्दै

उद्घोष सम्वाददाता
२५ चैत २०८०, आइतवार

सुनसरी । चितवनमा आइतबारदेखि सुरु हुने अन्तरप्रदेश खेलकुदमा कोशी प्रदेशबाट दुई सय ५३ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा सहभागी हुने कोशी प्रदेशका खेलाडीहरूलाई शनिबार बिहान बिदाइ गरिएको छ ।

इटहरी रंगशालामा कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले, उपाध्यक्ष विन्दिया कार्की लगायतले खेलाडीहरूलाई बिदाइ गरेका हुन् ।

कोशी प्रदेशका बिभिन्न जिल्लाबाट छनोट भएर आएका खेलाडीहरु एकसाता यता इटहरी रंगशालामै बन्द प्रशिक्षणमा थिए । महिला क्रिकेट र पौडीका खेलाडी भने चितवन पुगिसकेका छन् । 

शनिबार महिला तथा पुरुष फुटबलतर्फ ४०, भलिबलका २८, तेक्वान्दोका २५, एथलेटिक्सका ३९, करातेका २४, बक्सिङका १७ र ब्याडमिन्टनका ८ जना गरि एक सय ८१ खेलाडी चितवन हिंडेका हुन् ।

खेलाडीहरूलाई बिदाइ गर्दै मन्त्री  कार्कीले प्रदेशको मात्र नभएर सिंगो राष्ट्रको नाम राख्ने गरी खेल्न आग्रह गरे । कोशी प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिव हंसराज वाग्लेले प्रतियोगितामा सहभागी हुने खेलाडीको तयारीलाई आधार मान्दा उत्कृष्ट नतिजा आउने दाबी गरे । समूहगत तर्फको भलिबल, फुटबल र महिला क्रिकेटतर्फ पदकको अपेक्षा गरेको उनले बताए । 

बाग्मती प्रदेशको आयोजनामा चितवनमा आइतबारदेखि आगामी वैशाख १ गतेसम्म अन्तर प्रदेश खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ । भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको उद्घाटन गर्ने छन् ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुने छ । पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुने आयोजकले जनाएको छ ।

पुरुष फुबटल हेटौंडास्थित गौरीटार रंगशालामा हुने छ । प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ काँस्यका लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ ।

View : 65

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved