विराटनगर । कोशी अस्पतालले स्वामित्वमा रहेको जग्गामा संरचना बनाएर बसेका संघसंस्थाहरूलाई ठाउँ खाली गराउन फेरी सात दिनको अल्टिमेटम दिएको छ । अस्पतालको जग्गामा बनेका संरचना हटाउन अस्पताल प्रशासनले सोमबार सूचना टाँस्दै सात दिने अन्तिम अल्टिमेटम दिएको जनाएको हो ।
अस्पतालले गत असार ७ मा सूचना निकालेर १५ दिने अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम पनि गत शुक्रबार नै सकिएको थियो । तर उक्त समय समय सीमामा जग्गा खाली नभएपछि अस्पतालले थप प्रक्रिया अघि बढाएको हो ।
आइतबार गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले अस्पतालको क्षेत्राधिकारभित्र पर्ने जग्गाको स्थलगत अनुगमन गरिसकेका छन् । उनीहरूले जग्गा खाली गर्न आवश्यक प्रक्रिया अघि बढाउने निश्कर्षसहित स्थानीय प्रशासनलाई आवश्यक सहयोग गर्न निर्देशन समेत दिइसकेको जनाइएको छ ।
विराटनगर–७ स्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा नेपाल रेडक्रसको रक्त संचार केन्द्र (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर, देवकोटा पुस्तकालय लगायतका संस्थाले बर्षौंदेखि भवन संरचनासहित बस्दै आएका छन् ।
विभिन्न कालखण्डमा राजनीतिक प्रभावका आधारमा अस्पतालको जग्गामा बसेका यी संस्थाहरूलाई हटाउन अस्पतालले पाँच बर्षदेखि प्रयासरत रहेको छ ।
नापी कार्यालय मोरङले तयार गरेको फिल्ड रेखांकन प्रतिवेदन अनुसार विभिन्न संस्थाले प्रयोग गर्दै आएको जग्गा अस्पतालकै रहेको देखाइसकेको छ । तर चारवटै संस्थाले उक्त जग्गामा व्यापारिक सटर र भवन समेत निर्माण गरी भाडामा लगाउने गरेका छन् । त्यसैको आम्दानीका कारण राजनीतिक पहुँच बनाएर जग्गा खाली गर्न अनिच्छा देखाउँदै आएका छन् ।
अस्पतालका अनुसार नापी कार्यालय मोरङको २०८२ जेठ २९ गतेको फिल्ड रेखांकन प्रतिवेदन अनुसार अस्पतालको स्वामित्वमा रहेको जग्गाको कित्ता नं. ११, १२, १५, २२, २३ र २६ मा विभिन्न व्यक्ति तथा संस्थाहरूले कब्जा जमाई संरचना निर्माण गरेको उल्लेख छ ।
उक्त जग्गा खाली गराउन यसअघि निकालिएको सूचना अनुसार बिहीबारसम्मको म्याद सकिएपछि पुनः सात दिनको म्याद दिएर सूचना गरिएको हो । सात दिनभित्र अस्पतालको जग्गाभित्र रहेका सबै संरचना हटाई जग्गा खाली गरिदिन अस्पतालले अन्तिम पटक जानकारी गराइएको जनाएको छ ।
View : 40
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved