मदरसाको कानुनी हैसियतमाथि पनि छानबिन गर्न गृहमन्त्री तयार
इनरुवा । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डपछि पीडित परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिमा घटनाको निष्पक्ष छानबिन, मृतक परिवारलाई राहत तथा मदरसाको कानुनी हैसियतबारे समेत छानबिन गर्न गृहमन्त्री सुदन गुरुङ तयार भएका हुन् ।
बिहीबार राती देवानगञ्ज पुगेका गृहमन्त्री गुरुङले घटनाको बारेमा स्थलगत जानकारी लिंदै मृतक युवकहरुलाई सहिद घोषणा गरी पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने सहमतिमा हस्ताक्षर गरेका हुन् । स्थानीय अगुवा, राजनीतिक दल, जनप्रतिनिधि लगायतको उपस्थितिमा बिहीबार राति भएको छलफलपछि पीडित परिवारसँग सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
गत साउन १० गते राति सुरक्षाकर्मीले चलाएको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता गृहमन्त्री गुरुङले गरेका छन् ।
सहमतिअनुसार देवानगन्ज–३ स्थित घटनासँग जोडिएको मदरसाको कानुनी हैसियत तथा सञ्चालन प्रक्रियाबारे प्रचलित कानुनअनुसार आवश्यक छानबिन गरिने उल्लेख छ । यस विषयलाई सहमतिको महत्वपूर्ण बुँदाका रूपमा समेटिएको छ ।
त्यसैगरी, सरकारले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति गरेको छ । दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने पनि सम्झौतामा उल्लेख छ ।
घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने तथा घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिस यथाशीघ्र कार्यान्वयन गरिने सहमति भएको छ ।
यस्तै, स्थानीय सरकारसँग समन्वय गरी मृतकहरूको सम्झनामा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिने विषय पनि सात बुँदे सहमतिमा समावेश गरिएको छ ।
सम्झौतापत्रमा पीडित पक्षका तर्फबाट ओमप्रकाश मेहताका अभिभावक कृष्णदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले पनि हस्ताक्षर गरेका छन् ।
गृहमन्त्री गुरुङ देवानगञ्ज पुग्दा स्थानीयले भने उनी विरुद्ध चर्को नाराबाजी गरेका थिए । घटना भएको पाँच दिन बितिसक्दा पनि सरकारले नजरअन्दाज गरेर बसेको र नागरिकमाथि चरम बल प्रयोग गरेको भन्दै उनीहरुले सडकमै गृहमन्त्री गुरुङ विरुद्ध नाराबाजी गरेका हुन् ।
यसैबीच, दुवै मृतकको अन्त्येष्टि आज शुक्रबार दिउँसो २ बजे गर्ने तयारी गरिएको जनाइएको छ ।

View : 45
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved