भोटेकोशी बाढीको वितण्डा
विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सयौं सर्वसाधारण सम्पर्कविहीन अवस्थामा छन् । यही सूचीमा मोरङका १२ जनासहित कोशी प्रदेशका पनि एक सय ३० भन्दा धेरै नागरिक परेका छन् ।
बुधबार बिहानको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।
रोजगारी, पर्यटन तथा विभिन्न कामको सिलसिलामा त्यस क्षेत्रमा पुगेका कोशी प्रदेशका कम्तीमा १३० जना नागरिक हालसम्म सम्पर्कविहीन छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बिहीबार साँझसम्म कोशीका विभिन्न जिल्लाका कूल १३० जना सम्पर्कविहीन भएको र तीमध्ये १० जना सम्पर्कमा आएका छन् ।
‘बिहीबार साँझसम्म हामीलाई प्राप्त तथ्यांक हो यो,’ कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले भने ‘अझै खोजी भइरहेको छ । यो संख्या थपिन सक्छ ।’
प्रदेश प्रहरीको तथ्यांक अनुसार रसुवा बाढीमा परेर कोशीका सबैभन्दा बढी सोलुखुम्बु जिल्लाका ३८ जना सम्पर्कविहीन छन् । जसमध्ये १ जना सम्पर्कमा आएका छन् ।
यस्तै मोरङका १४ जनामध्ये २ जनाको उद्धारपछि उपचार जारी रहेको छ । त्यस्तै उदयपुरका १३ जना बेपत्तामध्ये ३ जना सम्पर्कमा आएका छन् ।
यसैगरी ओखलढुंगाका बेपत्ता १२ जनामध्ये १ जना सम्पर्कमा आएका छन् भने सुनसरीका १७ जना बेपत्तामध्ये २ जना सम्पर्कमा आएका छन् ।
इलामका ९ जना मध्ये १ जना सुरक्षित रूपमा सम्पर्कमा आएको प्रदेश प्रहरी प्रमुख खनालले जानकारी दिए ।
यसैगरी खोटाङका ८ जना, झापाका ८ जना, ताप्लेजुङका ६ जना, संखुवासभाका ३ जना, भोजपुरका १ जना र धनकुटाका १ जना अझै सम्पर्कविहीन छन् ।
रसुवा बाढीमा परेर शिवशंकर गुप्ता विराटनगर–७, सचिन गौतम विराटनगर, दुर्गाप्रसाद पोखरेल विराटनगर–१, सोमप्रसाद कट्टेल विराटनगर–७ तथा ३ वर्षका नातिसहित पूजा आचार्य नेपाल हालसम्म बेपत्ता छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका–६ लामिटार निवासी मेघा चेम्जोङ, सोना चेम्जोङ, देबिमाया तामाङ र पासाङ तामाङ रसुवा बजार क्षेत्रबाट सम्पर्कविहीन भएका छन् । त्यस्तै सुन्दरहरैंचाका सूर्यबहादुर कार्की र भोजराज अधिकारी पनि बेपत्ता छन् ।
त्यस्तै रंगेलीका सुरज मण्डल र पथरी शनिश्चरेकी ऋचा निरौला पनि सम्पर्कविहीन रहेका छन् ।
बाढी प्रभावित क्षेत्रबाट मोरङका ३८ वर्षीय गजेन्द्र थापालाई नुवाकोटको विदुरस्थित नेपाली सेनाको क्याम्पमा उद्धार गरी ल्याइएको छ ।
त्यसैगरी प्रभु बैंक टिमुरे शाखाका प्रबन्धक तथा विराटनगर निवासी रमनलाल श्रेष्ठ घाइते अवस्थामा फेला परी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीका अनुसार झापाबाट तीर्थ वा रोजगारीका लागि गएका अन्य व्यक्तिहरूको अवस्था पहिल्याउन जिल्ला प्रशासन कार्यालय झापाले आपतकालीन सूचना जारी गर्दै परिवारको सम्पर्कमा नभएका व्यक्तिबारे जानकारी गराउन सर्वसाधारणमा आहवान गरेको छ । यस्तै आह्वान प्रदेशका सबै जिल्ला प्रशासनहरूले गरेका छन् ।
View : 46
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved