वरिष्ठ समाजसेवी दीनबन्धु गोयल गुरुकुल माध्यमिक विद्यालयका अध्यक्ष नन्दकिशोर राठीलाई एक लाखको चेक हस्तान्तरण गर्दै ।
विराटनगर । कतिपय मानिस सम्पत्ति जोडेर आफ्नो सफलताको मापन गर्छन् । तर विराटनगरका ८० वर्षीय वरिष्ठ समाजसेवी दीनबन्धु गोयल भने आफूले कमाएको धन समाजमा बाँड्नुलाई जीवनको सबैभन्दा ठूलो उपलब्धि मान्छन् ।
यही सेवाभावलाई निरन्तरता दिँदै गोयलले बिहीबार विराटनगर-१४ जतुवास्थित गुरुकुल माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ नगद सहयोग गरेका छन्। विद्यालयको शैक्षिक तथा प्रशासनिक खर्चका लागि उनले एक लाख रुपैयाँ बराबरको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दकिशोर राठीलाई हस्तान्तरण गरेका हुन् ।
तीन दशकभन्दा लामो समयदेखि गोयल आफ्नो आम्दानीको अधिकांश हिस्सा शिक्षा, स्वास्थ्य, धर्म, सामाजिक संस्था तथा विपन्न नागरिकको सहयोगमा खर्च गर्दै आएका छन्। उनले विद्यालयका विद्यार्थीको अतिरिक्त क्रियाकलापलाई सहज बनाउन करिब ३९ हजार रुपैयाँ बराबरको एक थान साउण्ड सिस्टम पनि उपलब्ध गराएका छन् ।
चेक ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राठीले उक्त रकम विद्यालयको प्रशासनिक खर्चमा उपयोग गरिने जानकारी दिए । उनका अनुसार गुरुकुल माध्यमिक विद्यालय गुठीद्वारा सञ्चालित विद्यालय भएकाले प्रशासनिक खर्च व्यवस्थापन गर्न दाताको सहयोगमा निर्भर रहनुपर्ने अवस्था छ ।
नर्सरीदेखि कक्षा १० सम्म अध्ययन हुने विद्यालयमा हाल २२५ जना विद्यार्थी अध्ययनरत छन् । गोयलका लागि सहयोग कुनै औपचारिक कार्यक्रम वा प्रचारको विषय होइन। उनी यसलाई आफ्नो जीवनको कर्तव्य ठान्छन् ।
'म बाँचुञ्जेल सहयोग गरिरहन्छु,' उनी भन्छन् 'मैले आफ्नो कमाइको करिब ९० प्रतिशत समाजसेवामा खर्च गरेको छु । सरकारले लिनुपर्ने सबै कर तिरेर बाँकी बचेको पैसा समाजकै नाममा दिएको हुँ । 'आफूले कति व्यक्ति, कति संस्था वा कति विद्यालयलाई सहयोग गरेँ भन्ने हिसाबसमेत नराखेको उनी बताउँछन्। 'मैले कति व्यक्ति र संघसंस्थालाई सहयोग गरेँ, अहिले मलाई याद पनि छैन। जहाँजहाँ खबर पाएँ, जहाँजहाँ मेरो पहुँच पुग्यो, त्यहाँत्यहाँ सहयोग गरेको छु। ईश्वरले जति दिनुभएको छ, सकेसम्म त्यति नै समाजलाई फर्काएको छु,' गोयल भन्छन् ।
उनी धनलाई जीवनको अन्तिम लक्ष्य मान्दैनन्। बरु समाजमा बाँडिएको सम्पत्तिले नै मानिसलाई अमर बनाउने उनको विश्वास छ । 'धनसम्पत्ति मरेर कसैले लैजान सक्दैन। त्यसैले कमाइको जे जति हुन्छ, त्यसबाट केही हिस्सा समाजका लागि छुट्याउनुपर्छ। म सबैलाई यही कुरा भन्छु,' उनी भन्छन् ।
गोयलका अनुसार सहयोग गर्ने संस्कार विस्तारै समाजमा बढ्दै जानु आवश्यक छ । सक्षम व्यक्तिले आफ्नो आयको सानो अंश मात्र पनि सामाजिक क्षेत्रमा खर्च गरे धेरै विद्यालय, अस्पताल, आश्रम र विपन्न परिवारको जीवन सहज बन्ने उनको विश्वास छ ।
विराटनगर र आसपासका क्षेत्रमा गोयलको परिचय सफल व्यवसायीभन्दा बढी सहयोगी मन भएका समाजसेवीका रूपमा स्थापित छ । शिक्षा, धार्मिक संस्था, स्वास्थ्य सेवा, विपद् राहतदेखि लिएर विभिन्न सामाजिक अभियानसम्म उनको सहयोग पुगेको छ। धेरैजसो सहयोग उनले प्रचारभन्दा पनि आवश्यकताको आधारमा गर्ने गरेका छन् ।
उनको जीवनदर्शन सरल छ-सम्पत्ति थुपारेर होइन, समाजसँग बाँडेर मात्रै जीवन सार्थक हुन्छ। ८० वर्षको उमेरमा पनि सेवा गर्ने उत्साहमा कुनै कमी आएको छैन। बरु उनी अझै पनि आफू बाँचुन्जेल सहयोगको यात्रा नरोकिने बताउँछन्। 'ईश्वरले साथ दिनुभएसम्म सेवा गरिरहन्छु । मेरो खुसी अरूको अनुहारमा मुस्कान देख्दा हुन्छ,' गोयल भन्छन् ।
View : 150
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved