कांग्रेसको १५ औं महाधिवेशन :
विराटनगर । विद्रोहमार्फत विशेष महाधिवेशन आयोजना गरेर नेपाली कांग्रेसको नेतृत्वमा पुगेका गगन थापालाई १५ औं महाधिवेशनले सभापतिको रुपमा पुनः अनुमोदन गरेको छ । लामो समयदेखि पार्टी रुपान्तरणको वकालत गर्दै आएका थापालाई प्रचण्ड बहुमतसहित प्रतिनिधिहरुले आगामी पाँच वर्षलाई पार्टी हाक्ने जिम्मा दिएका हुन् ।
विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्वमा पुगेका गगन थापा र विश्वप्रकाश शर्माको जोडीलाई कांग्रेसको १५औँ महाधिवेशनले विधिवत अनुमोदन गरेको छ । सभापतिमा थापा निर्वाचित भएका छन् भने वरिष्ठ उपसभापतिमा शर्मा निर्विरोध चयन भएका छन् । नेतृत्व परिवर्तनको माग गर्दै अघि बढेको उनीहरूको अभियानले महाधिवेशनबाट संस्थागत मान्यता पाएको छ ।
अब उनीहरूका लागि मुख्य प्रश्न नेतृत्व परिवर्तनलाई पार्टी सञ्चालनको शैली र संगठनको काममा कसरी उतार्ने भन्ने हो, राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईंले भने । उनले भने जस्तै चुनौती थापा–शर्माको जोडीलाई कांग्रेस कार्यकर्ताले ठूलो मतसहित नेतृत्वमा पठाएका छन् ।
शुक्रबार भएको निर्वाचनको शनिबार बिहान सार्वजनिक मतपरिणामअनुसार थापाले सभापतिमा ६ हजार ५८४ मत पाए । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत मात्रै प्राप्त गरे । कुल ७ हजार ३९ प्रतिनिधिले मतदान गरेको निर्वाचनमा ५४ मत बदर भएको थियो । कुल ७ हजार ३१७ प्रतिनिधि रहेको कांग्रेसमा थापाले पाएको मतले उनको नेतृत्वलाई महाधिवेशन प्रतिनिधिहरूको बलियो समर्थन प्राप्त भएको देखाउँछ ।
गगन–विश्वप्रकाशको सहकार्य यस अर्थमा पनि चासोको विषय बनेको छ कि दुवै नेता कांग्रेसको नेतृत्वमा पुस्तान्तरणको बहसका अगुवा थिए । १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित भएका उनीहरू पार्टीभित्रै रहेर नेतृत्व र कार्यशैली परिवर्तनको पक्षमा उभिएका थिए ।
गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिक सम्बन्ध विद्यार्थी राजनीतिबाट सुरु भएको हो । २०५७ सालमा शर्मा नेपाल विद्यार्थी संघका सभापति हुँदा थापा उपसभापति थिए ।
त्यसबेला विद्यार्थी संगठनमा एउटै नेतृत्वमा काम गरेका उनीहरू पछि कांग्रेसको केन्द्रीय राजनीतिमा पनि सँगै अघि बढे । कांग्रेसको १४औँ महाधिवेशनमा दुवै महामन्त्री निर्वाचित भएका थिए । पार्टीको संगठनात्मक काम, नेतृत्वको जवाफदेहिता र राजनीतिक कार्यशैलीबारे उनीहरूले उठाउँदै आएका प्रश्न पछिल्ला वर्षमा नेतृत्व परिवर्तनको बहससँग जोडिए ।
जेनजी आन्दोलनपछि कांग्रेसमा नेतृत्व र संगठन सुधारको बहस थप चर्कियो । पुरानै नेतृत्व र कार्यशैलीबाट पार्टी अघि बढ्न नसक्ने तर्कसहित थापा र शर्मासहितका नेताले परिवर्तनको पक्षमा आवाज उठाए ।
यही बहस विशेष महाधिवेशनसम्म पुग्यो, जहाँ थापा सभापति र शर्मा उपसभापति बनेका थिए । अहिले १५औँ महाधिवेशनले उनीहरूको नेतृत्वलाई नियमित महाधिवेशनको प्रक्रियाबाट अनुमोदन गरेको छ ।
अर्की उपसभापति पुष्पा भुसाल पनि महिला उपसभापतिमा निर्विरोध चयन भएकी छन । अन्य पदाधिकारीहरुसहितको मतगणना जारी छ ।
अब सभापतिका रूपमा थापाले पार्टीको समग्र नेतृत्व र निर्णय प्रक्रियाको जिम्मेवारी सम्हाल्नु पर्नेछ । वरिष्ठ उपसभापति शर्माको भूमिका पनि संगठन सञ्चालन, नेताहरूबीच समन्वय र पार्टीको राजनीतिक सन्देशलाई कार्यकर्तासम्म पु¥याउने काममा जोडिनेछ ।
कांग्रेसको नेतृत्व परिवर्तनसँगै सबै पुराना समूहको असन्तुष्टि स्वतः समाप्त भएको छैन । शेरबहादुर देउवा नेतृत्वको समूहले विशेष महाधिवेशनको प्रक्रियाप्रति असहमति जनाउँदै छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ । त्यसैले पार्टीभित्रको विवादलाई कसरी सम्बोधन गर्ने भन्ने प्रश्न नयाँ नेतृत्वका सामु छ ।
विश्लेषक प्रसाइका अनुसार कांग्रेसमा गुटगत प्रतिस्पर्धा केवल सभापतिको निर्वाचनमा सीमित छैन । केन्द्रीय पदाधिकारी तथा सदस्यको चयन, पार्टीका विभाग र भ्रातृ संगठनको नेतृत्व, जिल्ला तहको जिम्मेवारी र आगामी निर्वाचनमा उम्मेदवार छनोटजस्ता विषयमा पनि समूहगत प्रभाव देखिँदै आएको छ । यसपटक गुट भत्केको घोषणा भएको तर त्यसलाई आगामी दिनमा प्रमाणित गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ ।
नयाँ नेतृत्वले जिम्मेवारी बाँडफाँट गर्दा निर्वाचनमा आफ्नो पक्षमा उभिएका नेताहरूलाई मात्रै प्राथमिकता दिन्छ वा फरक धारमा रहेका नेताहरूलाई पनि संगठनमा भूमिका दिन्छ भन्ने विषयले पार्टीभित्रको एकताको अवस्था देखाउनेछ, उनले भने ‘असन्तुष्ट समूहलाई संवादमा ल्याउने र निर्णय प्रक्रियामा सहभागी गराउने प्रयास कति प्रभावकारी हुन्छ भन्ने पनि उत्तिकै महत्वपूर्ण हुनेछ ।’
त्यसो त गगन स्वयमले स्विकारेका छन, कांग्रेसको चुनौती आन्तरिक शक्ति सन्तुलनमा मात्र सीमित छैन । पार्टीले आफ्नो संगठनलाई सक्रिय बनाउने, मतदातासँगको सम्बन्ध सुधार्ने र राजनीतिक मुद्दामा स्पष्ट धारणा राख्ने काम पनि गर्नुपर्नेछ ।
पछिल्लो निर्वाचनमा कांग्रेसले ठूलो चुनावी क्षति बेहोरेको तथ्यले पनि नयाँ नेतृत्वमाथि संगठन र जनसमर्थन पुनःनिर्माणको दबाब देखाउँछ । थापाले सभापति बनेपछि परम्परागत मतदाताको विश्वास फर्काउने र संगठन बलियो बनाउने विषयलाई प्राथमिकता दिने बताएका छन् ।
गगन–विश्वप्रकाशको नेतृत्वले कांग्रेसमा परिवर्तनको अपेक्षा बढाएको छ । तर त्यो अपेक्षा पूरा गर्न उनीहरूले पार्टीभित्रको विवाद व्यवस्थापन, संगठनात्मक सुधार र मतदातासँगको सम्बन्धलाई सँगसँगै अघि बढाउनुपर्ने खाँचो उच्च रहेको विश्लेषक भास्कर गौतमको भनाइ छ ।
कांग्रेसलाई बदल्ने घोषणा उनीहरूका लागि नयाँ होइन । विद्यार्थी राजनीतिदेखि महामन्त्री र विशेष महाधिवेशन हुँदै पार्टीको शीर्ष नेतृत्वसम्म आइपुगेका दुवै नेताले परिवर्तनको पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएका छन, उनले थपे अब उनीहरूकै नेतृत्वमा पार्टी सञ्चालनको अभ्यास कति बदलिन्छ भन्ने प्रश्नको उत्तर व्यवहारबाट दिनुपर्नेछ ।
View : 44
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved