Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

गेटमा आएर स्वागत नगरेको भन्दै विश्वराज पोखरेलले शिक्षकलाई हप्कीदप्की गरेको घटनामा रास्वपाकै सांसदहरूको असन्तुष्टि

उद्‌घोष संवाददाता
१२ वैशाख २०८३, शनिवार

विराटनगर । विद्यालयको गेटमै स्वागत गर्न नआएको भन्दै ओखलढुंगाको एउटा विद्यालयका प्रधानाध्यापकलाई हप्कीदप्की गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलको व्यवहारलाई उनकै पार्टीका अरु सांसदहरूले व्यंग गरेका छन् । 

निर्वाचित भएपछि खिजिदेम्बा गाउँपालिकाको चण्डेश्वरी माध्यमिक विद्यालयमा पुगेका सांसद पोखरेलले विद्यालयको गेटै बाहिर आएर प्रध्यानाध्यापकले स्वागत नगरेको भन्दै आक्रोसित बनेका हुन् । 

प्रअ शान्तबहादुर मगरले आफुलाई गेट बाहिर पर्खाएको उनले आरोप लगाएका छन् । उनले प्रअ मगरलाई हप्काएको भिडियोले अहिले सामाजिक संजाल नै तताएको छ ।

‘तपाईँले म आउँदा बाहिर निस्किनुपर्छ, तपाईँ कर्मचारी हो, तपाईँ जिल्लाको माननीय आउँदा चुप लागेर बस्ने ? माननीय आयो भने रिसिभ गर्न आउनुपर्छ, म यो जिल्लाको १ नम्बर माननीय हो, पार्टी जुनसुकै हो, विचारले हुन्छ ? सिकाउन खोज्नहुन्छ ?’ उनले भनेका छन्, ‘माननीयलाई अपमान गर्नुहुन्छ ? पाँच बर्षको जनप्रतिनिधि हुँ, तपाईले गरेको हर कामको लेखाजोखा गर्नसक्छु ।’ 

सांसद पोखरेलले विद्यालय पुग्दा आफूलाई गेटमै स्वागत गर्न नआएको भन्दै प्रअको व्यवहारप्रति आपत्ति जनाएको भिडियोमा देखिन्छ । उनले आफुलाई स्वागत नआएपछि प्रअ मगरसँग झोंक्किदै भनेका छन्, ‘म पुलिस फोर्सको विशिष्ट मान्छे हो, आईजी भएर झण्डैझण्डै चलाएको हो, अन्याय परेर राजनीतिमा आएको मान्छे हुँ, मलाई थाहा छ देश कसरी चलेको छ, तपाई त्यहाँ माननीय गेटमा आएर बसिरहेको छ, तपाई बाहिर निस्किंदै ननिस्किने ?’

प्रअ मगरले भने आफु एउटा चिठी बनाउने काममा भित्र व्यस्त भएको र आफुलाई जानकारी पनि नभएको प्रष्टिकरण दिएका छन् । तर सांसद पोखरेलले आफू नेपाल सरकारको विशिष्ट श्रेणीबाट २९ वर्ष सेवा गरेर निवृत्त भएको भन्दै सांसद हुनुअघिको पदीय दम्भ समेत प्रस्तुत गरेका छन् । 

उनले विद्यालयका प्रअले निष्पक्षता नदेखाएको आरोप लगाएका छन् । ‘तपाईँ निष्पक्ष हुनुस् है हाम्रो पार्टीले निष्पक्ष मान्छे खोज्छ, तपाईँहरुको विद्यालयमा हरेकमा कहाँ के छ हामी खोज्दैछौं ।’ 

उनले शिक्षक तथा विद्यालय प्रशासनलाई शिष्टाचार र संस्थागत मर्यादाको ख्याल गर्न आग्रह गरेका छन् ।

पोखरेल नेपाली कांग्रेसका कुमार लुईंटेललाई पाँच मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । 

सांसद पोखरेलको यस्तो व्यवहारप्रति भने उनकै दल रास्वपाका सांसदहरूले पचाएका छैनन् । 

आफैंले आफैंलाई माननीय घोषित गर्दै हिंड्नु उचित नभएको भन्दै मोरङ ३ बाट निर्वाचित रास्वपाकै सांसद गणेश कार्कीले टिप्पणी गरेका छन् ।

‘म माननीय भनेको राम्रो सुनिन्छ र ? सुनिंदैन त । आवश्यक नै भयो भने म सांसद भन्दा बयो बरु’ उनले आफ्नो फेसबुक पोष्टमा भनेका छन्, ‘यही सांसद पद पनि बढीमा ५ बर्षको हो । के बानी पार्नु ? अनि ‘हजुर एक भोट दिनुस् न’ भन्दै हजारौं नमस्ते गरेको २ महिना नि भा छैन, के बिर्सिनु, भुँई नछाडौं है ।’

उदयपुर क्षेत्र नम्बर १ बाट निर्वाचित रास्वपाकै सांसद पारषमणि गेलालले पनि पोखरेलको व्यवहार लक्षित टिप्पणी गरेका छन् ।

उनले ‘माननीय हुँ किन आइनस् स्वागत गर्न ? भनेर थर्काउँदा हात जोड्दै सेवक हौं हामी भन्दै भोट माग्न हिंड्नेहरूको छाती कति चिराचिरा भयो होला’ भन्दै लेखेका छन् ।

‘अहंकारिता नपाल्नुस् माननीयज्यू, सांसदज्यू । हजुर कुनै भगवान होइन कि आफ्नो ड्यूटी छाडेर कुद्दै आउनु पर्ने, हामी जनताको सेवक हौं’ सांसद गेलालले भनेका छन्, ‘चेतना भया । नागरिक र हरेक सेवकको इज्जत गर्न सिकौं ।’

View : 181

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved