Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

केआईआईटीको तनावपछि जोगवनी र काँकडभिट्टाबाट धमाधम फर्किंदै विद्यार्थी

रक्सौलबाट १२६, रानीबाट ७३ र काँकडभिट्टाबाट १७ जना फर्किए
उद्‌घोष सम्वाददाता
७ फागुन २०८१, बुधवार

विराटनगर । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न तनावले विस्थापित भएका ९२ विद्यार्थी कोशी प्रदेशका दुईवटा नाकाबाट नेपाल फर्किका छन् ।

रानी नाकाबाट ७५ जना र काँकडभिट्टा नाकाबाट १७ जना विद्यार्थीहरू नेपाल फर्किएको जनाइएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार केआईआईटी कलेजमा उत्पन्न तनावपछि नेपाली विद्यार्थीहरू विराटनगरको रानी नाकाबाट फर्किएको जानकारी दिए । 

फर्किएका विद्यार्थीहरूलाई आफ्नो घरतर्फ पठाउन सहजीकरण गरिएको उनले बताए । 

फर्किनेमा सवैभन्दा धेरै मोरङका ३६ जना छन् । सप्तरीका १६, सुनसरीका ११, काठमाडौंका ३, सिरहाका ३, सर्लाहीका २, धनुषाका २ जना  छन् । 

ललितपुर र उदयपुरका १–१ जना विद्यार्थी नेपाल फर्किएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

त्यसैगरी झापाको काँकडभिट्टा नाकाबाट १७ जना विद्यार्थी नेपाल फर्किएका छन् । 

झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सोमबार १६ र मंगलबार १ जना गरी १७ जना विद्यार्थी नेपाल फर्किएका हुन् । 

‘अहिलेसम्म १७ जना विद्यार्थीहरू फर्किनु भएका छन्, उनीहरूलाई आ–आफ्नो घरतर्फ पठाइएको छ’ प्रजिअ अधिकारीले भने । 

उक्त विश्वविद्यालयमा भएको घटनापछि परराष्ट्रमन्त्री डा. आरजु राणाले उडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग मंगलबार सम्वाद गर्दै नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको निष्पक्ष रूपमा अनुसन्धान गरी दोषीमाथि कानूनी कारबाही गर्न आग्रह गरेकी छन् । 

उनले उक्त विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूलाई सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्था गर्न समेत टेलिफोनमार्फत आग्रह गरेको जनाइएको छ ।

विद्यार्थी लम्सालको मृत्युपछि नेपाली विद्यार्थीहरूको पक्षमा उक्त विश्वविद्यालयका भारतीय विद्यार्थीहरूले समेत ऐक्यवद्धता जनाएका थिए । 

तर विश्वविद्यालय प्रशासनका जिम्मेवार पदाधिकारीहरूले भने नेपाली विद्यार्थीहरूलाई धम्की दिंदै छात्रावास (होस्टल) छाड्न चेतावनी दिएका थिए । 

घटनापछि कानूनी कारबाही अघि बढाइएको र नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा होस्टेलमा रहेर पठनपाठन गर्न सक्ने सुरक्षाको प्रबन्ध गरिएको भारतीय अधिकारीहरूले दाबी गरेका छन् ।

उक्त घटनापछि नेपाली विद्यार्थीहरू घर फर्किन थालेपछि कूटनीतिक प्रयास सुरू भएको थियो । कलेज प्रशासनले नेपाली विद्यार्थीसँग सार्वजनिक रूपमै माफी माग्दै विद्यार्थीहरूलाई होस्टेलमा फर्कन आग्रह गरिएको जनाइएको छ ।

रक्सौलबाट १२६ विद्यार्थी फर्किए

यसैबीच, केआईआईटीमा अध्ययरत १२६ जना विद्यार्थी रक्सौल नाकाबाट नेपाल भित्रिएका छन् । उनीहरू असुरक्षाका कारण देखाउदै फर्किएको जनाइएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार मंगलबार १०३ छात्र र २३ छात्रा फर्किएको जानकारी दिए ।

केआईआईटी प्रशासनले धम्की र मानसिक यातनाका कारण फर्किन बाध्य भएको विद्यार्थीहरूले बताएका छन् ।

View : 320

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved