Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सिटिजन्स बैंक घोटाला प्रकरण

नक्कली ऋणी खडा गर्ने को हुन् मुख्य अभियुक्त ?

उद्‌घोष संवाददाता
१९ चैत २०८२, बिहिवार

विराटनगर । सिटिजन्स बैंक कञ्चनबारी शाखा (राजवंशी चोक) बाट करीव पाँच करोड रुपैयाँ हिनामिना भएको भनिएको घटनामा मुख्य अभियुक्त पहिचानका लागि प्रहरीको अनुसन्धान लम्बिएको छ ।

बैंकको सो शाखामा नक्कली ऋणी देखाएर ४ करोड ९१ लाख हिनामिना भएको प्रारम्भिक विवरण अनुसार सो घटनामा संलग्नहरूको बैंक स्वयम्ले आन्तरिक अनुसन्धान जारी राखेको छ भने प्रहरीले पनि मुख्य दोषीको पहिचान गर्न बैंककै अनुसन्धान कुर्नुपर्ने भएको हो ।

बैंकले गर्ने आन्तरिक लेखापरीक्षणका क्रममा शंकास्पद ऋण परिचालनको विवरण पहिल्याएको थियो । त्यसपछि गरिएको छानबिनका क्रममा बैंकका कर्मचारीहरूको संलग्नता देखिएपछि थप अनुसन्धानका लागि प्रहरी सक्रिय भएको थियो ।

रकम हिनामिना भएको देखिएपछि बैंकले केही कर्मचारीहरूलाई निलम्बन गरी उनीहरूमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिइसकेको छ ।

यो हिनामिनाको घटनामा बैंककी अपरेशन प्रमुख रोजी कँडेलसहितका कर्मचारीको संलग्नता रहेको बैंकको स्रोतको दाबी छ । 

कँडेलले नै नक्कली ऋणी खडा गरेको देखिएको भन्दै बैंकले प्रहरीमा दिइएको निवेदन दिएको छ । 

बैंक स्रोतले कँडेलसहित अन्य कर्मचारीको पनि मिलेमतो रहेको दाबी गरे पनि प्रहरीले भने अझैपनि मुख्य दोषी पहिचान गर्न अनुसन्धान जारी राखेको छ ।

बैंकले आन्तरिक अनुसन्धानका क्रममा कँडेलले अन्य कर्मचारीले प्रयोग गर्ने ‘युजर आईडी’ प्रयोग गरेको स्वीकारेको जनाएको छ । 

बैंक विदाको समयमा ऋण खडा गरिएको पाइएको छ’ बैंक स्रोतले भन्यो, ‘यो कुरा हाम्रो आन्तरिक अडिटका क्रममा देखिएपछि आन्तरिक रुपमै अनुसन्धान भएको हो, ऋणीहरू पनि नक्कली देखिएका छन् ।’ 

बैंकले सो नक्कली ऋणको जोखिमबाट बच्नका लागि तत्कालै अपरेशन इञ्चार्ज कँडेलको परिवारबाट सात करोड रुपैयाँ बराबरको जग्गा धरौटी लिइसकेको जनाइएको छ ।

तर, अपरेशन प्रमुख कँडेलका परिवार भने बैंकले अन्य कर्मचारीलाई जोगाउन खोजेको आरोप लगाएका छन् । बैंकले जोखिमबाट बच्न कँडेलबाट धरौटी लिइसकेको र आफूलाई मात्रै फसाउन खोजेको भन्दै मोरङ प्रहरीमा निवेदन दिएको जनाइएको छ ।

दुवै उजुरीमाथि प्रहरीले अनुसन्धान गरिरहे पनि बैंक र सम्बन्धित निकायबाट विस्तृत वित्तीय अनुसन्धानको प्रतिवेदन प्राप्त नहुञ्जेल प्रहरीलाई पनि मुख्य दोषीको नजिक पुग्न कठिनाई भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार अहिलेसम्म यो हिनामिनासम्बन्धि घटनाका मुख्य अभियुक्तको पहिचान हुन सकेको छैन । 

बैंकले नै आन्तरिक अनुसन्धान गरिरहेका कारण त्यसको विस्तृत प्रतिवेदन नआउन्जेल दोषी किटान गरी अनुसन्धान अघि बढाउन समय लाग्ने उनले बताए ।

‘मुख्य अभियुक्त पक्राउ परेका छैनन्, अहिले बैंकबाट नै आन्तरिक छानबिन गर्ने काम भइरहेको छ’ प्रवक्ता लामिछानेले भने, ‘मुख्य व्यक्ति नै पक्राउ नपरी अरु पक्राउ हुन गाह्रो छ, पहिलो निवेदनका आधारमा संलग्न भनिएका व्यक्तिहरू पक्राउ गर्न पुर्जी भने जारी भइरहेको छ ।’

बैंकले भने गत फागुन २८ मा प्रहरीमा पहिलो निवेदन दिएको थियो । सोही जाहेरी निवेदनका आधारमा अहिले छानबिन अनुसन्धान भने चलिरहेको जनाइएको छ । 

प्रहरीले अनुसन्धानका क्रममा आवश्यक जानकारी बैंकसँग माग गरेको जनाएको छ ।

View : 243

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved