Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेसमा महाधिवेशन बहस :

परीक्षाको डिलमा शेखर कोइराला

उद्‌घोष संवाददाता
२३ कार्तिक २०८२, आइतवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसमा विशेष कि नियमित महाधिवेशन भन्ने बहस उत्कर्षमा रहेका बेला संस्थापन पक्ष जसरी पनि महाधिवेशन टार्ने उपायमा छ । 

यहीबेला लामो समयदेखि महाधिवेशनको सुनिश्चितता खोज्ने नेता डा शेखर कोइरालाले दबाब बढाउन इच्छा नदेखाएको भन्दै उनकै टिममा असन्तुष्टि सुरु भएको छ । 

कोइराला समयमै महाधिवेशन हुनुपर्ने पक्षमा उभिदै आएका नेता हुन् । १४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित उनी १५ औं मा सभापतिका स्वाभाविक दाबेदार थिए । तर, भदौको जेनजी आन्दोलनले पार्टीहरुमा युवा नेतृत्व  खोजेपछि शेखर पनि किनारामा धकेलिने खतरा उत्पन्न भएको छ । 

त्यही खतराका कारण शेखरले अपेक्षित रुपमा महाधिवेशनका लागि दबाब नदिएको केही नेताहरुको भनाइ छ । 

दुई जना महामन्त्री र पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले महाधिवेशनका लागि दबाब उच्च पार्दा शेखरले भने दबाबकारी भूमिका देखाउन नसकेको भन्दै असन्तोस सुरु भएको उनी निकट एक केन्द्रीय सदस्यले बताए ।

‘नियमित महाधिवेशन नगर्न सस्थापन पक्ष जब्बर भएर लागेको छ, यस्तोमा शेखर कोइरालाले नियमित नभए विशेष महाधिवेशन गरौ भनेर दबाब बढाउनुपर्ने हो । ताकी सस्थापन पक्ष नियमित गर्न बाध्य बनोस्’ ती नेता भन्छन् ‘नियमित गरौं भनेको भन्यै गर्ने तर संस्थापनको नियत बुझेर पनि विशेष महाधिवेशनका पक्षमा खुलेर नउभिने उहाँको शैलीले शंका बढाएको छ । हामीले विषेश भनेर हस्ताक्षर गर्नुको कारण पनि चुनाव अघि नियमित महाधिवेशन होस् भनेर हो । तर, शेखर दाइका सबै निकटकाले सही गरेनन् । उहाँ आफैले पनि पुग्दो दबाब दिनुभएको छैन ।’ 

आफ्नै टिमका बहुसंख्यक महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने, उनका खास भनिएका नेताहरुले नगर्ने, नियमित भनिरहने तर दबाब दिन नखोज्ने उनको शैलीले कांग्रेसमा कोइराला पुनः एक पटक परीक्षाको घडिमा पुगेको नेताहरु बताउँछन् । 

कोइराला परिवारको राजनीतिक विरासत बोकेका उनी पार्टीभित्रको महाधिवेशनका बारे मध्यमार्गी कुरा गरेर बसिरहेको गुनासो बढेको छ । 

केन्द्रीय समितिको बैठक चलिरहेका बेला पार्टीका दुवै महामन्त्री (गगन थापा र विश्वप्रकाश शर्मा) ले फागुन २१ गते सरकारद्वारा घोषणा भएको प्रतिनिधिसभा चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् । सोही अडानमा कोइरालाको मत पनि मिल्दो देखिन्छ । तर, उनी सो विषयमा स्पष्ट र दृढ दबाब दिन सकिरहेका छैनन् । 

१४औं महाधिवेशनमा सभापति पदमा पराजित भइसकेका र १५ औं महाधिवेशनमा सभापतिमा भिड्ने  तयारीमा रहेका कोइराला अहिले नेतृत्व–सन्तुलन र निर्णय क्षमताको कठिन घडीमा छन् । 

एक केन्द्रीय सदस्यका शब्दमा, ‘शेखरजी परिवर्तनका पक्षमा देखिन्छन्, तर प्रश्न छ—उनी महामन्त्रीहरूसँग मिलेर दबाब बढाउँछन् कि देउवा पक्षका ६ भाइको अगाडि फेरि निरीह बन्छन् ?’

त्यसो त कोइरालाले शुक्रबार मात्रै काठमाडौको विशालनगरस्थित सम्पर्क कार्यालयमा आफूनिकट केन्द्रीय सदस्य र जिल्ला सभापतिसँग भेट गर्दै आउँदो आम निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्ने बताएका छन् । 

‘पार्टीमा ४० प्रतिशत होल्ड छ भन्ने नेताले त्यति गरेर पुग्दैन, संस्थापनसित सोझो दबाबमा आफूलाई उभ्याउनुपर्छ’ ती नेताको भनाइ छ । 

शेखर भने आफूले धेरै अघि नै १५ औं महाधिवेशन २०८२ मंसिर मसान्तभित्र सम्पन्न गर्नुपर्ने धारणा राखिसकेको तर, परिस्थिति र समयको चापलाई हेर्दा पुस मसान्तसम्म महाधिवेशन सक्नुपर्नेमा रहेको बताउँछन् ।  ‘पुस मसान्तसम्मको तालिका बनाउँदा निर्वाचन आयोगले तोकेको चुनाव तालिकासँग नबाझिने गरी योजना बनाउनुपर्छ,’ कोइरालाले भने । 

महामन्त्री गगन थापाले केन्द्रीय समितिमा पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव औपचारिक रूपमा पेश गरिसकेका छन् । थापा र विश्वप्रकाश दुवै महाधिवेशन गर्ने पक्षमा छन् । 

उनीहरूका प्रस्तावसँग कोइरालाको धारणा मिल्दो भए पनि उनको निकट मानिएका मोरङका सभापति डिगबहादुर लिम्बूसहित मोरङकै केही नेताहरूले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर नगरेको विषयले  कोइरालाप्रति असन्तोष बढाएको हो । 

गगन थापा र कोइरालाको सम्बन्ध पनि अब  नेतृत्व–प्रतिस्पर्धाको चरणमा पुगेको देखिन्छ । १४औं महाधिवेशनमा थापा कोइरालासँगै थिए, तर अहिले थापा स्वयं नेतृत्वका दावेदार बनेका छन् । तर, महाधिवेशनको मुद्दामा भने यी तीनै जना—थापा, शर्मा र कोइराला—एकै धारमा उभिएका छन् ।

संस्थापन पक्षको अनिच्छा र अहिलेको राजनीतिक सन्दर्भमा शेखर  परिवर्तनको पक्षमा दृढ उभिएर दबाब बढाउने कि सस्थापन पक्षको दबाबमा स्थिर रहन बाध्य हुने सम्भवत यही प्रश्नले कांग्रेसभित्र शेखरको स्पेस र पहिचान निर्धारण गर्नेछ ।

View : 571

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved