विराटनगर । कोशी प्रदेशबाट चार जना महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचित भएका चारैजना राष्ट्रिय स्वतन्त्र पार्टीका हुन् ।
झापाको क्षेत्र नम्बर १ बाट रास्वपाकी निशा डाँगी, २ बाट इन्दिरा राना मगर, मोरङ ५ मा आशा झा र मोरङ ६ बाट रुविना आचार्य निर्वाचित भएका छन् ।
झापा १ बाट ४५ हजार ६८० मत प्राप्त गर्दै डाँगी निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन् ।
झापा २ बाट विघठित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर भारी मतान्तरका साथ निर्वाचित भइन् । उनले आफ्नै कार्यकालका सभामुख तथा एमाले नेता देवराज घिमिरेलाई पराजित गरेकी हुन् ।
राना मगरले ६० हजार ११० मत प्राप्त गरिन् । घिमिरेले ११ हजार ३६८ मत मात्रै प्राप्त गरेका छन् ।
यता, मोरङ–५ मा रास्वपाकी आशा झा र ६ मा रुविना आचार्य निर्वाचित भएका छन् ।
झाले नेपाली कांग्रेसका फुलकुमार लालवानीलाई फराकिलो मतान्तरले पराजित गरिन् । उनले ३० हजार ४३४ मत पाइन् भने लालवानीले ९ हजार ४१५ मत पाएका हुन् ।
मोरङ ६ मा रुविना आचार्य पनि भारी मतान्तरले निर्वाचित भइन् । उनले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई ४२ हजार बढीको मतान्तरले पराजित गरेकी हुन् ।
रुविनाले कुल ५५ हजार ५१३ मत प्राप्त गरिन् । कांग्रेसका कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् ।
कोशीमा रास्वपाबाहेक अन्य प्रमुख दलहरूबाट उम्मेदवार बनेका कोही पनि महिला उम्मेदवार निर्वाचित हुन सकेनन् ।
सुनसरी ३ मा एमालेबाट भगवती चौधरी, सोलुखुम्बुमा कल्पना राई र ओखलढुंगामा अस्मिता थापा उम्मेदवार बनेका थिए । तर उनीहरू पराजित भए ।
कांग्रेसबाट झापा ५ मा मन्धरा चिमोरिया र झापा २ मा सरिता प्रसाईँ तथा झापा २ मै नेकपाबाट झापा २ मा उम्मेदवार बनेकी धर्मशीला चापागाईँ र संखुवासभामा सरिता खड्का ‘ह्याभिवेट महिला उम्मेदवार’ थिए ।
मोरङ १ मा उम्मेदवार बनेर चर्चा कमाएकी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिनले भने उल्लेख्य मत प्राप्त गरे पनि उनी निर्वाचित हुन सकिनन् ।
View : 66
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved