Biratnagar, Morang, Nepal
२५ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

भोटेकोशी बाढीको दुई साता : न मृत्युको प्रमाण, न जीवनको खबर

२५ भदौ २०८३, बिहिवार

Advertisement

विराटनगर । मोरङ सुन्दरहरैंचा–८ सलकपुरका भोजराज अधिकारी रसुवाबाट बेपत्ता बनेको बुधबार १५ दिन पूरा भयो । दुई सातायता उनको घरको वातावरण एकदमै सुनसान छ । 

४३ वर्षीय भोजराजको फोन नआएको १५ दिन पूरा भयो । भदौ १० गते बिहान ८ बजेर ४८ मिनेटसम्म उनी परिवारको सम्पर्कमा थिए । त्यसपछि उनको मोबाइल मौन भयो । त्यो मौनता अहिलेसम्म कायमै छ ।

‘बुबा कहाँ हुनुहुन्छ?’ भन्दै १४ वर्षीया छोरीले सोध्दा परिवारसँग उनलाई दिने जवाफ छैन । भोजराजका ७३ वर्षीय बुबा हरिहर अधिकारी र ६१ वर्षीया आमा जानुका अधिकारीका लागि छोराको पर्खाइ दिनसँगै झन् भारी हुँदै गएको छ । त्यसदिन बिहानै भोजराज रसुवागढी पुगेका थिए । 

उनी जी मोटर्स नामको कम्पनीमा काम गर्थे । भन्सारसम्बन्धी कामका लागि रसुवा पुगेका उनी भोटेकोशीमा आएको विनाशकारी बाढीपछि एकाएक सम्पर्कविहीन भएका हुन् ।

‘हामी दाइ खोजेको खोज्यै छौं,’ भाइ नवराजले भने ‘हामीले कहाँ–कहाँ खोजेनौं र ? अहिलेसम्म केही पत्ता लागेको छैन । हामीलाई जे भए पनि चाहियो जस्तो भइसकेको छ ।’ 

भाइ नवराजले ठ्याक्कै त्यही शब्द त प्रयोग गर्न सकेनन् । तर, उनले पनि हराइरहेका अरु हजारौं परिवारका सदस्यले भने जस्तै दाइको सास भए सास, नभए लास भए पनि भेटिए हुन्थ्यो भन्ने कामना गरिरहेका छन् । 

भदौ १० मा आएको भोटेकोशीको विनाशकारी बाढीले घर, सडक र पुल मात्रै बगाएन, धेरै परिवारको जीवनबाट आफन्तहरु नै गायब बनाइदिएको छ । बाढी आएको १५ दिन पूरा हुँदा पनि हराइरहेकाहरुको उनीहरुको मृत्यु पुष्टि भएको छैन । 

उनीहरु जीवित रहेको प्रमाण पनि भेटिएको छैन । यही अवस्थाले परिवारलाई सबैभन्दा बढी थकित बनाएको छ । 

झापाको बुद्धशान्ति–२ का अमृत दियाली १५ दिनदेखि यही पीडाले सताइएका छन् । 

उनका भाइ राजकुमार दियाली, भाइकी श्रीमती श्रृति र चार वर्षीय भतिजा सिराज भोटेकोशीको बाढीपछि सम्पर्कविहीन छन् । राजकुमार ३३ वर्षका थिए । 

श्रृति ३० वर्षकी, सिराज चार वर्षका थिए । तीन जनाको एउटै परिवार एकैपटक हराएपछि दियाली परिवारले नदीको किनारदेखि सम्भावित खोजस्थलसम्म धाउन थाल्यो । 

खोज्दै जाँदा नवलपुरसम्म पुगे । त्यहाँ बाढीले बगाएर ल्याएको एउटा हात भेटियो । त्यो दृश्य अमृतका लागि सामान्य थिएन । 

हिलोले ढाकिएको, कुहिन थालेको त्यो हात हेर्दा उनको नजर अडियो । औंला र नङको बनावट नियाल्दा उनलाई आफ्नै भाइ राजकुमारको सम्झना आयो ।

‘त्यो हात भाइको हुन सक्छ जस्तो लाग्यो । हेर्दा औंला र नङको बनावट पनि मिलेजस्तो देखियो,’ अमृतले भने, ‘त्यसपछि कम्तीमा केही त पत्ता लाग्ला कि भन्ने आशा भयो ।’

त्यही आशामा अमृतले डीएनए परीक्षणका लागि नमुना दिएका छन् ।  परीक्षणको पालो पर्खिरहेका छन् । तर, अहिलेसम्म रिपोर्ट आएकै छैन । 

‘अब अरू के पर्खनु ?’ अमृतले भने, ‘आशा त धेरै हदसम्म मारिसक्यौं ।  त्यो हात भाइको नै रहेछ भने पनि कम्तीमा मनलाई एउटा उत्तर मिल्थ्यो ।’ राजकुमारको जीवन रसुवासँग जोडिएको डेढ दशकभन्दा लामो थियो ।

स्याप्रुबेँसी–५ मा उनले सुनचाँदीको व्यवसाय गर्दै आएका थिए । व्यवसाय राम्रै चलेको थियो । गाउँमा उनको आफ्नै घर थियो । 

आमाबुबा हुँदासम्म परिवारको आवतजावत भइरहन्थ्यो । पछि आमाबुबा बिते । घर भाडामा लाग्यो । राजकुमारको परिवार रसुवामै बस्न थाल्यो । झापाको घर चाडपर्वमा मात्र सम्झनाको ठाउँ बन्थ्यो । 

भदौ ८ गते उनी परिवारसहित काठमाडौं आएका थिए । कपनको उमंगचोकमा जग्गा किन्न कुरा चलेको थियो । बैना गर्ने तयारी थियो । जग्गाधनी नआएपछि त्यो काम रोकियो । 

दुई दिनपछि राजकुमार परिवारसहित रसुवा फर्किए । त्यो भेट अमृतका लागि अहिले जीवनकै सबैभन्दा गहु्रंगो सम्झना बन्न पुगेको छ ।  

काठमाडौं छाड्ने बेलाको एउटा सानो घटना उनलाई बारम्बार सम्झना आउँछ । ‘खाना खाइसकेपछि भतिजाले हातमुख चुठिदिनुस् ठूलो बाबा भन्यो,’ अमृतले सम्झिए, ‘रमा फुपूबाट दुईवटा भाले ल्याइदिनू, काटेर खान्छु भन्दै थियो ।’ 

त्यसपछि राजकुमार रसुवा फर्किए । उनले चाँडै फेरि काठमाडौं आउने बताएका थिए । तर फर्किएनन् । त्यसपछि उर्लिएको भोटेकोशीमा उनीहरू तीनै जना हराइरहेका छन् । राजकुमारसँगै बस्दै आएका उनका भान्जा सचिन खाती भने संयोगले बाँचे । 

बाढी आउनुभन्दा केहीअघि राजकुमारले धितो राखिएको गहना पु¥याउन उनलाई चिलिमेतर्फ पठाएका थिए । 

सचिन काम सकेर फर्किंदा त्यहाँको दृश्य बदलिइसकेको थियो । घर, पसल र बस्तीमाथि बाढीको विनाश छरिएको थियो । उनलाई पठाउने मामासहित परिवार नै कहाँ गयो भन्ने पत्ता लागेन । 

झापा काँकडभिट्टाका ४७ वर्षीय दीपक खरेलको परिवार पनि यस्तै अनिश्चितताको बीचमा छ । 

दीपक रसुवाको हाकुबेँसीस्थित २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा सेफ्टी अफिसरका रूपमा काम गर्दै आएका थिए । 

भदौ १० गते बिहान उनले श्रीमती मल्लिकासँग फोनमा कुरा गरेका थिए । चाँडै घर फर्किने कुरा गरेका थिए । 

तिजमा परिवारसँगै हुने आश्वासन दिएका थिए । त्यसपछि भने अहिलेसम्म उनको न फोन लाग्न सकेको छ, न अन्य कुनै खबर नै आउन सकेको छ । ‘तिज मनाउन चाँडै घर आउँछु भन्नुभएको थियो,’ मल्लिकाले भनिन्, ‘फोन राखेको केही समयपछि उहाँसँग सम्पर्क भएन ।’

त्यो बिहानको कुराकानी नै अहिले मल्लिकाका लागि दीपकको अन्तिम आवाज बनेको छ । ७० वर्षीया कृष्णकुमारी कान्छो छोरा फर्किने बाटो हेरिरहेकी छन् । मोबाइल बज्दा उनी झस्किन्छिन् ।

छोराको खबर होला कि भन्ने आशाले फोनछेउमा कान पुर्याउने उनी अरुकै फोन हो भन्ने भएपछि निराश हुन्छिन् । यसरी फोनको प्रत्येक घन्टीले उनलाई आशावादी तुल्याउँछ ।

अनि छोराको फोन नभएको निश्चितताले फेरि निराश बनाइदिन्छ । यसरी आशा पलाउने र मर्ने क्रम दिनहुँ दोहोरिइरहेको छ ।

उनी बाढीमै परेर बेपत्ता भए कि कतै थुनिए भन्ने अन्योलले परिवार आधामासु भइसकेको छ । उत्तर बिनाको  प्रश्न बोकेर दिन काट्नु खरेल परिवारको दैनिकी जस्तै भइसकेको छ । न मृत्युको प्रमाण छ, न जीवनको खबर !

‘यस्तो अवस्था सबैभन्दा पीडादायी हुनेरहेछ,’ दाइको खबर पर्खिरहेका सुन्दरहरैंचा सलकपुरका नवराज अधिकारी थप्छन् ‘के गर्नु र कसो गर्नुको दोधारमा परेका छौं ।’

नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार बुधबार साँझसम्ममा १ हजार ३५७ जनाको शव फेला परेको छ । हालसम्म ५ हजार ३२६ जना हराइरहेका छन् भने १३ हजार ५८३ को उद्धार भएको छ । 

यीमध्ये कोशीका १४१ जना बेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार बुधबारसम्म कोशी प्रदेशका विभिन्न जिल्लाका १४१ जना सम्पर्कविहीन रहेका हुन् ।

View : 74

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved