Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

एलएलबीको इन्ट्रान्स दिइरहेका ५९ जनालाई कारबाही

क्याम्पस प्रमुख सुशील कर्णले दिएको जानकारी अनुसार काठमाडौंबाट खटिएर आएको विशेष टोलीले ती ५९ जना परीक्षार्थीलाई परीक्षा हलबाट निकालेको हो । उनीहरू सबैको इन्ट्रान्स (प्रवेश परीक्षा) रद्द भएको छ ।
उद्‌घोष संवाददाता
४ असार २०८२, बुधवार

विराटनगर । सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा मंगलबार सञ्चालन भएको एलएलबी (ब्याचलर अफ लेजिस्लेटिभ ल) को प्रवेश परीक्षामा ५९ जना परीक्षार्थी  कारबाहीमा परेका छन् । 

क्याम्पस प्रमुख सुशील कर्णले दिएको जानकारी अनुसार काठमाडौंबाट खटिएर आएको विशेष टोलीले ती ५९ जना परीक्षार्थीलाई परीक्षा हलबाट निकालेको हो । उनीहरू सबैको इन्ट्रान्स (प्रवेश परीक्षा) रद्द भएको छ ।

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा कानुन संकायको स्नातक तहमा ३ सय जना विद्यार्थीका लागि मंगलबार प्रवेश परीक्षा लिइएको थियो । ३ सय जनाको सिटका लागि देशभरका ८७२ जना परीक्षार्थी सहभागी थिए । 

‘ती मध्ये कोही मोबाइल चलाइरहेको अवस्थामा, कोही अनियमित अवस्थामा फेला परेपछि काठमाडौंबाट आएको टोलीले कारबाही गरेको हो’ क्याम्पस प्रमुख कर्णले भने ‘संख्या चाहिं ५९ हो कि ६० हो यकिन छैन । यही हाराहारीमा हुनुपर्छ ।’

देशका विभिन्न भागबाट आएका विद्यार्थीहरू कारबाहीमा परेको उनले जानकारी दिए ।

क्याम्पस प्रमुख कर्णले दिएको जानकारी अनुसार प्रवेश परीक्षा १ घन्टा ४० मिनेटको थियो । 

बिहान ८ बजे परीक्षा सुरू भएको थियो । परीक्षा सुरू भएको केहीबेरमै उनीहरू निरीक्षण टोलीको फन्दामा परेका थिए । 

कानुन संकायको स्नातक पढ्न अहिले अर्को  कुनै विषयमा स्नातक गरेको हुनुपर्ने प्रावधान छ । 

राजविराजको यो क्याम्पस कानुन पढ्न चाहने विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्दै आएको छ । 

यो क्याम्पसमा कानुनका साथै मानविकी, विज्ञान, वाणिज्यशास्त्र र शिक्षाशास्त्रको पनि पठनपाठन हुन्छ ।

View : 492

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved