Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै

बैठकमा अवरोध गर्ने कांग्रेसको संकेत, एकीकृत समाजवादी र जसपाले मत दिने

उद्‌घोष सम्वाददाता
३१ वैशाख २०८१, सोमवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिंदैछन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने सम्बन्धी सम्भावित कार्यसूची प्रदेश सभा सचिवालयले आइतबार नै प्रकासित गरिसकेको छ ।

सरकार गठन भएकै दिन बैशाख २७ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो । उक्त बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने सूचना प्रदेश सभामा सोही दिन दर्ता गराएका थिए ।

सोमबार बिहान ११ बजे पाँचौं अधिवेशनको पहिलो बैठक बस्नेछ । बैठकमा प्रदेश प्रमुखबाट अधिवेशन आह्वान भएको पत्र पढेर सुनाउने र मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम तथा कोशी प्रदेश सभा नियमावली २०७४ (पहिलो संसोधन समेत) को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने र निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । 

यता सरकार गठनसम्बन्धि विषय अदालतमा प्रवेश गरेको अवस्थामा मुख्यमन्त्री कार्कीले हतारमा विश्वासको मत लिन खोजेको भन्दै नेपाली कांग्रेसले भने सोमबारको बैठकमा विश्वासको मत लिनेसम्बन्धी कार्यसूचीमा असहमति जनाएको छ । कांग्रेसले बैठक समेत अवरुद्ध हुने सक्ने चेतावनी दिंदै थप रणनीति बनाउन सोमबार नै दलको बैठक बस्ने तयारी गरेको हो ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूले सोमबार बिहान बस्ने दलको बैठकपछि धारणा सार्वजनिक गर्ने बताए ।

कार्यव्यवस्था परामर्श समितिको सदस्य समेत रहेका नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले अदालतमा मुद्दा चलिरहेको अवस्थामा सरकारले हतारमा विश्वासको मत लिन खोजेको बताए । विश्वासको मत लिन पर्याप्त समय बाँकी भए पनि मुख्यमन्त्री कार्कीले हतार गरेपछि कांग्रेसले पनि आफ्नो औपचारिक धारणा दलको बैठकपछि सार्वजनिक गर्ने बताए ।

उनले पार्टीको केन्द्रीय तहबाट सर्कुलर आएकोले सोमबार विहान ८ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिए । दलको बैठकपछि मात्रै आधिकारिक धारणा सार्वजनिक हुने भएकोले कार्यव्यवस्था समिति बैठक सोमबार १० बजे फेरि बस्ने सहमति भएको तामाङले जानकारी दिए ।

‘हामीलाई केन्द्रबाटै सर्कुलर आएको छ, कस्तो खालको धाराण बनाउने भनेर ८ बजे दलको बैठक बोलाइएको छ’ उनले भने, ‘सदनमै जाने कि नजाने, बैठक चल्न दिने कि नदिने वा रोष्ट्रम घेर्ने भन्ने विषय बैठकपछि टुंगिने छ ।’

यता वर्तमान केन्द्रीय सत्ता समीकरणको अर्को दल नेकपा एकीकृत समाजवादीले दलगत रुपमा विश्वासको मत दिने भएको छ । कोशी प्रदेशमा चारजना सांसद रहेको एकीकृत समाजवादीले केन्द्रीय समीकरणकै भावनाअनुसार विश्वासको मत दिने जनाइएको छ ।

नेकपा एकीकृत समाजवादी संसदीय दलकी प्रमुख सचेतक विद्या चाम्लिङले पार्टीको महाधिवेशन तयारी लगायतका विषयमा छलफल गर्न महत्वपूर्ण बैठक चलिरहेका कारण आफूसहित तीन जना सांसदहरू काठमाडौंमा रहेको बताइन् । कार्की नेतृत्वको सरकारलाई विश्वासको मत लिन पर्याप्त संख्या भए पनि दलको तर्फबाट पूर्वमन्त्री एवं प्रदेश सांसद कमलप्रसाद जबेगुले विश्वासको मत दिनेबारे छलफल भइरहेको जानकारी दिइन् ।

‘अहिले हाम्रो बैठक पनि चलिरहेकोले काठमाडौंमै छौं, सरकारलाई विश्वासको मतका लागि मत टन्नै छ, दलकै तर्फबाट विश्वासको मत नदिने भन्ने छैन’ उनले भनिन्, ‘अहिलेसम्म हामी सबै माथिकै समीकरणमा छौं, विश्वासको मत नपुग्ने अवस्था हुन्थ्यो भने सबै जना सहभागी हुनुपर्ने बाध्यता पनि हुन्थ्यो, कोही एक जनाले भए पनि सरकारलाई मत दिने विषयमा भोलिसम्म निर्णय भई सक्छ ।’

केन्द्रमा सत्ता समीकरण भएपनि कोशी प्रदेशमा सरकार गठनप्रति रुष्ट बनेको एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले भने पार्टीको महाधिवेशनको तयारीको कारण देखाउँदै एमालेबाट मुख्यमन्त्री बनेका कार्कीलाई विश्वासको मत नदिने रणनीति बनाएका छन् ।

उनले सोमबारको बैठकमा सहभागी हुन सक्ने सम्भावना नरहेको बताइसकेका छन् । कार्की नेतृत्वको सरकार गठनमा समेत असन्तुष्ट देखिएका राई सरकार गठनसम्बन्धी कुनै पनि प्रक्रियामा सहभागी छैनन् ।

केन्द्रीय समीकरणमा बसिसकेपछि सोहीबमोजिम कोशी प्रदेशमा पनि सत्ता समीकरणको सरकार बनाउन भूमिका खेल्नुपर्नेमा राईले प्रत्यक्ष रुपमा असहयोग गर्दै आएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले आरोप लगाएका छन् । सोही कारण राईलाई दुबै दलले बेवास्ता समेत गर्दै आएका छन् ।

त्यसैगरी कार्की नेतृत्वको सरकारलाई जनता समाजवादी पार्टीकी सांसद निर्मलाकुमारी लिम्बूले भने विश्वासको मत दिने बताएकी छन् । जसपा विभाजनपछि अशोककुमार राई नेतृत्वको जसपासँग नजिक रहेकी उनले हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएकी हुन् ।

मुख्यमन्त्री कार्की नेकपा एमालेका ३९ (उपसभामुख बाहेक) र माओवादी केन्द्रका १३ गरी ५२ जना सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा (५) अनुसार बिहीबार मुख्यमन्क्री नियुत्त भएका हुन् ।

View : 342

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved