Biratnagar, Morang, Nepal
२७ जेठ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
आर्थिक

समृद्ध सहकारीका प्रबन्धक चार महिनादेखि फरार

उद्‌घोष संवाददाता
२७ जेठ २०८३, बुधवार

समृद्ध नेपाल कृषि सहकारीका प्रबन्धक युवराज प्रधान र जिल्ला प्रशासन कार्यालय मोरङले छलफलका लागि उपस्थित गराउन दिएको आदेश (पत्र) ।

विराटनगर । मोरङको बेलबारीस्थित समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक युवराज प्रधान लामो समयदेखि सम्पर्कविहीन बनेपछि बचतकर्ताहरू न्यायको खोजीमा आन्दोलित बनेका छन् । 

प्रबन्धक प्रधान विगत चार महिनादेखि मोबाइल स्वीच अफ गरी फरार भएसँगै सहकारी कार्यालय पनि बन्द छ जसको कारण पीडितहरूले जिल्ला प्रशासन कार्यालय मोरङमा कारबाहीको माग गर्दै सामूहिक निवेदन दिएका छन् ।

साना तथा मझौला व्यवसायी महासंघ मोरङका अध्यक्ष दिनेशभक्त श्रेष्ठका अनुसार, सहकारीमा आफ्नो मेहनतको कमाई बचत राखेका शेयरधनीहरूले आफ्नो बचत रकमको स्पष्ट विवरणसहित प्रशासन गुहारेका हुन् । 

पीडितहरूले बुझाएको विवरण अनुसार राजकुमार कार्कीको १५ लाख ४९ हजार ९७३ रुपैयाँ, सुस्मिता श्रेष्ठको १५ लाख ४२ हजार , जानुका कार्कीको ३ लाख ७८ हजार ३०६, बिकाश गिरीको २ लाख १२ हजार ७८१ र बिमला कार्कीको २ लाख ११ हजार १८० रुपैयाँलगायत थुप्रै बचतकर्ताको ठूलो रकम सहकारीमा फसेको छ ।

पीडितहरूको उजुरीलाई गम्भीरतापूर्वक लिंदै जिल्ला प्रशासन कार्यालय मोरङले सहकारीका प्रमुख व्यवस्थापकसहित १४ जनालाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।

प्रशासनले आरोपितहरूलाई कार्यालयमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय, मोरङलाई समेत आवश्यक निर्देशन दिइसकेको छ ।

सहकारीका प्रबन्धक प्रधानसहित पदाधिकारीहरू सरस्वती नेपाल, उषाकुमारी दाहाल, लबमन पाण्डे, लोकेन्द्र भाट र टेकबहादुर शाहीलाई विपक्षी बनाई पेश गरिएको निवेदनका आधारमा प्रशासनले यो कदम चालेको हो ।

प्रबन्धक प्रधान सम्पर्कविहीन बनेपछि बचतकर्ताहरू आफ्नो रकम फिर्ता नपाउने हो कि भन्दै ठूलो चिन्तामा देखिएका छन् ।

View : 70

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved