Biratnagar, Morang, Nepal
३१ साउन २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

नेकपा कोशीमा मन्त्री बन्ने आकांक्षीको लर्को, दलको बैठकले टुंगो लगाउन सकेन नाम

उद्‌घोष संवाददाता
३१ साउन २०८३, आइतवार

Advertisement

विराटनगर । मन्त्री बन्न रहर गर्ने आकांक्षीहरुको लर्को लागेपछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी संसदीय दलको बैठक मन्त्रीको नाम टुंगो नलगाई सकिएको छ । शनिबार भएको दलको बैठक तीन घण्टा चलेको थियो । 

संसदीय दलका नेता इन्द्र आङ्बोले शनिबारको बैठकमा सबै सांसदहरुले कुरा राखेको र मन्त्री पदमा दाबी गरेको जानकारी दिए ।

‘तर, सकारात्मक कुरा के छ भने समावेशी, भूगोल, जनसंख्या सबै कुरा ख्याल गरेर पार्टीले गर्ने निर्णय स्वीकार्य हुने उहाँहरुको कुरा छ,’ बैठकपछि आङ्बोले सञ्चारकर्मीहरुसँग भने ‘मन्त्री भएर जानेहरुले जसको हातमा लठ्ठी, उसैको भैंसी जस्तो नगरुन् भन्ने सबैको कुरा छ ।’ सोमबारसम्म समय भएकाले नाम टुंग्याउन हतार नभएको उनको भनाइ छ ।

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरिएपछि नेकपा सहभागी बन्दैछ । सोमबार नेकपाबाट नियुक्त हुने मन्त्रीहरुको सपथ गराउने योजना छ । 

सोही अनुसार दलको बैठकबाटै मन्त्रीको नाम टुंगो गर्न नेकपाले बैठक राखेको थियो । तर, पूर्व मुख्यमन्त्री राजेन्द्र राई र दल नेता आङ्बो बाहेकका सबै सांसदले मन्त्रीमा दाबी गरेका छन् । 

कोशीमा नेकपाले सम्भवतः भौतिकसहित ४ मन्त्रालय पाउनेछ । ४ मन्त्रालयका लागि १५ जनाले दाबी नछाडेपछि बैठक बिना निष्कर्ष सकिएको सहभागी सांसदहरुले बताएका छन् । 

‘नेकपामा साविक माओवादीलाई ३ र साविक एकीकृत समाजवादीले एउटा मन्त्रालय पाउने कुरा छ,’ नेकपाका एक सांसदले भने ‘तर, ४ वटा मन्त्रालयमा दाबी गर्नेंको संख्या चाहिं १५ जना भयो । 

त्यसैले अब पार्टी प्रदेश इञ्चार्ज, दलका नेता र प्रदेश संयोजकले केन्द्रसँग समन्वय गरेर नाम फाइनल गर्ने कुरा छ ।’

नेकपा प्रदेश इञ्चार्जसमेत रहेका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले कोशीमा नेकपाले मुख्यमन्त्री नपाउँदा सांसदहरुले आक्रोश प्रकट गरेको जानकारी दिए । 

नेकपाभित्र कोशीको नेतृत्व आफूहरुले पाउनुपर्ने अडान थियो । तर, एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच ३ बुँदे सहमति हुँदा कोशीको नेतृत्व एमालेले गर्ने सहमति भएको थियो ।

View : 24

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved