Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

झापा ५ मा बालेनविरुद्द बढ्दो रोष :

‘भोट माग्न आए, जितेपछि धन्यवादसम्म भनेनन्’

उद्‌घोष संवाददाता
२८ वैशाख २०८३, सोमवार

दमक (झापा) । कुनै बेला प्रधानमन्त्री बालेन शाहलाई आफनो छोरो भन्ने पूर्व प्रधानमन्त्री सुशीला कार्कीको दुई वटा भिडियो अहिले भाइरल छ । 

एउटामा कार्कीले ‘अब बालेनकी श्रीमतीलाई आमा भन्नू’ भनेकी छन् भने अर्को भिडियोमा ‘बालेनमा ओलीको विरोध बाहेक अरु केही छैन । न्यायिक ज्ञान र भाव त छँदै छैन’ भनेकी छन् । 

अन्तरिम सरकार प्रमुखका रुपमा निर्वाचन सम्पन्न गराएर उनकै भाषामा आफनै छोरो बालेनलाई सत्ता सुम्पिएकी कार्की दुई महिनामै प्रधानमन्त्रीप्रति आक्रामक रुपमा पेश हुनुको कारण उनले लुकाएकी छैनन् । 

प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहेकी सपना प्रधान मल्ललाई नरोजी बालेनले  चौथो वरियताका डा मनोज शर्मा रोजेपछि पूर्वप्रधानन्यायाधीश कार्की बिच्किएकी हुन् । 

केही अघिसम्म बालेनलाई खुला साथ दिएकी कार्की दुई महिना पूरा हुँदा नहुँदा बालेनप्रति मोहभङ्ग भएको अवस्थामा पुगेकी छन् । 

सुशीला कार्की मात्रै होइन, बालेनलाई मत दिएर प्रतिनिधि सभामा पठाउने झापा ५ का मतदातामा पनि दुई महिनाकै बीचमा प्रधानमन्त्रीप्रति तीव्र असन्तुष्टि देखिन थालेको छ । 

एक साताभन्दा लामो समयदेखि सडकमा निरन्तर प्रदर्शन गरिरहेका दमकका सुकुम्बासीहरू आफनो मत खेर गएको बताइरहेका छन् । 

सुकुम्बासीबाहेकका मतदाताहरू चुनाव जितेर गएपछि क्षेत्रमा फर्केर नआएको भन्दै रोष प्रकट गर्न थालेका छन् । 

झापा ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएर प्रधानमन्त्री बनेका बालेन शाह चुनाव जितेयता आफनो निर्वाचन क्षेत्र  फर्किएका छैनन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको किल्ला भत्काएर ठूलो मतान्तरले जित हासिल गरेको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि उनी मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्न, उनीहरूको कृतज्ञता स्वीकार गर्न वा कम्तीमा एउटा औपचारिक धन्यवाद सभा गर्नसमेत आएका छैनन् । 

यो विषयले असन्तुष्ट झापा ५ का मतदाता काठमाडौंका सुकुम्बासी बस्तीमा डोजर चलेपछि प्रधानमन्त्रीसँग झनै आक्रोशित सुनिन्छन् । 

फागुन २१ को निर्वाचनमा बालेन शाहले झापा ५ बाट केपी शर्मा ओलीलाई  झण्डै ५० हजार मतान्तरले हराएर इतिहास रचेका थिए । 

पूर्वप्रधानमन्त्री कार्कीले भने जस्तै बालेनमा ओलीको विरोध गर्ने सिवाय केही नभएको भन्दै मतदाता पनि असन्तुष्ट सुनिन थालेका हुन् । 

त्यसो त बालेनले जितेकै राती ‘जनताको साथले यो जिम्मेवारी पाएको छु, अब परिवर्तन आउँछ’ भनेका थिए । तर, प्रधानमन्त्री बनेपछि उनी काठमाडौंको सिंहदरबार र सोसल मिडियामा व्यस्त रहे । झापा ५ का मतदाताले भने उनको प्रत्यक्ष उपस्थिति अझै देख्न पाएका छैनन् । 

‘हामीले ओलीलाई हराएर बालेनलाई जितायौं, तर उनी अहिलेसम्म फर्किएनन्,’ दमक–७ स्थित सुकुम्बासी बस्तीका रामु धिमालले  भने, ‘चुनावका बेला यहाँ आएर भोट माग्ने, तर जितेपछि एकपटक पनि धन्यवाद दिन नआउने ? यो कस्तो शैली हो ?’

दमक–१ का अर्का मतदाता गोविन्द राजवंशीले उनकै जसो शैलीमा थपे, ‘बालेनले काठमाडौंमा राम्रो काम गर्नुभयो भन्ने हामीले सुनेका थियौं । तर प्रधानमन्त्री हुने बित्तिकै सुकुम्बासीहरुको बेहाल पार्नुभो । झापा ५ मा पनि हामी धेरै मतदाता सुकुम्बासी छौं । अहिलेसम्म डोजर आएको छैन । तर, उहाँ हामीलाई धन्यवाद भन्न पनि आउनु भएन । यो उहाँको दायित्व हो नि । कम्तीमा एउटा सभा गरेर ‘धन्यवाद’ भन्न सकिन्थ्यो ।’

बालेनको राजनीतिक यात्रा काठमाडौं महानगरपालिकाको मेयरबाट सुरु भएको थियो । फागुन २१ को निर्वाचनमा उनी झापा ५ बाट उम्मेदवार बने । 

ओलीको आधार क्षेत्रमा चुनौती दिएर जित हासिल गरेपछि उनी राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बने ।

तर, उनले अहिलेसम्म न सामाजिक सञ्जाल न सदन न त क्षेत्र, कहिकतैबाट आफना मतदातालाई आभार  प्रकट गरेका छैनन् । 

रास्वपाको स्थानीय समिति पनि बालेनको व्यवहारबाट आजित सुनिन्छ ।

चुनाव अघि पनि आफूहरूलाई बालेनको सचिवालयले कुनै जानकारी नदिने, पार्टीसँग समन्वय नगर्ने समस्या रहेको चुनावपछि यो समस्या झन बढेको रास्वपा झापा ५ क्षेत्रीय समितिका एक पदाधिकारी बताउँछन् । 

‘चुनाव अघि पनि उहाँको गतिविधिबारे पार्टीलाई केही थाहा हुँदैनथ्यो, अहिले पनि केही थाहा हुने अवस्था छैन’ ती पदाधिकारीले भने ‘सचिवालयले पनि पार्टी स्थानीय समितिलाई सुनेको अनुभुति हामीले गर्न पाएका छैनौं ।’ 

ओलीको धुँवादार विरोध गर्दै उनैलाई हराउन आइपुगेका बालेनको क्षेत्र र स्थानीयबासीप्रति कुनै जिम्मेवारी नभएका कारण यस्तो भएको बताउनेहरू धेरै छन् । 

‘बालेनको आधार क्षेत्र कहाँ हो ? काठमाडौं कि झापा ?’, दमकका युवा व्यवसायी आनन्द बस्नेतले भने, ‘चुनाव जित्ने बित्तिकै उहाँ प्रधानमन्त्रीको कुर्सीमा बस्नुभयो । झापाका समस्याहरू सडक, सिँचाई, बाढी नियन्त्रण, युवा बेरोजगारीबारे उहाँले कति जानकारी राख्नुभएको छ ? 

बालेनको टिम ‘भर्चुअल’ शैलीमा काम गरिरहेको छ । फेसबुक र टिकटकमा सक्रिय, तर यहाँका मतदातासँग प्रत्यक्ष सम्वाद र सम्बन्ध छैन ।’ 

नेपालको मात्रै होइन राजनीतिमा निर्वाचन जितेपछि आफनो क्षेत्रमा फर्केर धन्यवाद सभा गर्नु सामान्य र विश्वब्यापी परम्परा हो । 

केपी ओलीले पनि आफनो क्षेत्रमा बारम्बार कार्यक्रम गरेका थिए । तर बालेनले अहिलेसम्म झापा ५ मा कुनै औपचारिक धन्यवाद कार्यक्रम गरेका छैनन् ।

उनको सोसल मिडिया पोस्टहरूमा पनि स्थानीय मतदाताप्रति विशेष कृतज्ञता व्यक्त भएको देखिदैन । 

नयाँ पुस्ताको नेतृत्वले प्रविधि र द्रुत निर्णयलाई जोड दिने भन्ने मान्ने हो भने पनि जनतासँगको भावनात्मक सम्बन्धको विकल्प अर्को हुन्न ।

बालेनले यो कुरा बिर्सिए भने उनी पनि पुराना नेताहरू जस्तै बन्न सक्ने सम्भावना छ । 

न्यायालयदेखि विश्वविद्यालयसम्म एक दलीय भर्ती केन्द्र बनाउन खोजेको आरोप उनले सुरुबाटै खेपिरहेका छन् । 

झापा ५ का मतदाताहरूले बालेनबाट ठूलो परिवर्तनको आशा गरेका थिए ।

ओलीको भन्दा झन्डै ५० हजार बढी मत पाउनुको कारण पनि यही हो । 

युवाहरूले ‘परिवर्तन’ को नारा सुनेर भोट दिए । आफ्ना सन्तानको भावना बुझेर पाकाहरूले पनि त्यसै गरेका थिए ।  

अहिले दुई महिना बित्दै गर्दा क्षेत्रमा  गुनासो बढन थालेको छ ।  प्रधानमन्त्री बनेपछि उनी देशव्यापी मुद्दामा व्यस्त भए पनि क्षेत्रका वासिन्दालाई धन्यवाद पनि नभन्ने भन्ने गुनासो झापा५ मा जताततै सुनिन थालेको छ ।

View : 298

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved