धोङ्गोक्या पुस्लियाको भीर काटेपछिको सडक र सोही सडकबाट गुडेर किमाथाङ्का पुगेको ट्याक्टर । तस्वीर : गाउँपालिका अध्यक्ष वाङ छेदर लामा ।
विराटनगर । पूर्वी नेपालको महत्वपूर्ण सडक तथा भारत–चीन जोड्ने छोटो मार्गका रुपमा रहेको विराटनगर (रानी)–किमाथाङ्का सडकको भोटखोलामै पहिलो पटक सवारी साधन पुगेको छ ।
किमाथाङ्कामा पहिलो पटक ट्याक्टर पुगेपछि भोटखोलाबासी उत्साहित बनेर ट्याक्टर चालकहरूको भव्य स्वागत पनि गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माणाधीन खाँदबारी–किमाथाङ्का सडकखण्डको किमाथाङ्कामै ट्याक्टर पुगेपछि वर्षौंदेखिको सडक सपना पूरा भएकोमा स्थानीय दंग भएका हुन् ।
कोशी राजमार्गअन्तर्गत विराटनगरको रानीदेखि चीनको सीमावर्ती किमाथाङ्कासम्मको ३ सय ५७ किलोमिटर सडक सञ्जाल पूर्ण रुपमा जोडिएको जनाइएको छ ।
सीमावर्ती भोटखोला गाउँमा खाद्यान्न बोकेका तीनवटा ट्याक्टर शुक्रबार पहिलो पटक पुगेको गाउँपालिका अध्यक्ष वाङ छेदर लामाले बताए ।
उनले सबैभन्दा कठिन खण्डका रुपमा रहेको धोङ्गोक्या पुस्लियाको भीर काटेपछि उक्त सडक खण्डको १० दशमलव ८१ किलोमिटर खण्ड ‘ब्रेक थ्रु’ भएको र उक्त दिनलाई विशेष दिनका रुपमा लिइएको बताए ।
‘किमाथाङ्का पुग्नको लागि कठिन धोङ्गोक्या पुस्यिला खण्डको भीर बाटो ब्रेक थ्रु भएको छ’ उनले भने, ‘धन्यवाद छ धोङ्गोक्पा भीर खण्ड सडक निर्माण गर्ने कन्ट्याक्टर ओशिस प्रतिनिधि जगत केसी र टिमलाई ।’
भोटखोलाको च्याम्ताङदेखि घोङ्गोक्पासम्मको कठिन भीर फोरेर सडक बनेपछि सदरमुकाम खाँदबारीबाट हिंडेका ट्याक्टर पहिलो पटक किमाथांका गाउँ पुगेका हुन् ।
गाउँसम्म ट्याक्टर पुगेपछि स्थानीयले चालक, एक्साभेटर अपरेटर र किमाथांका सडक अभियानमा जुटेका व्यक्तिहरूलाई स्वागत सम्मान समेत गरेका छन् ।
किमाथांका नाका भोटखोला गाउँपालिका–१ स्थित चीनसँग सीमा जोडिएको दुर्गम हिमाली क्षेत्र हो ।
संखुवासभा सदरमुकाम खाँदबारीबाट किमाथाङ्काको दुरी १६२ किलोमिटर छ । सडक नपुगेका कारण यहाँ पुग्न पैदल झण्डै १० दिनसम्म लाग्ने गरेको थियो ।
भोटखोला–१ का वडाध्यक्ष नुर्वु च्यावाले नेपालतर्फको च्याम्ताङ गाउँदेखि गुडेर पहिलो पटक किमाथाङ्कासम्मै ट्याक्टर पुग्दा निकै खुसी महसुस भएको बताए । अघिअघि रहेको बाटोको ढुंगा स्काभेटरले पन्छाउँदै पछिपछि तीनवटा ट्याक्टर गाउँ पुगेको बताए ।
कोशी राजमार्ग अन्तरगत रानीदेखि किमाथाङ्कासम्मको सडक मध्ये खाँदबारी–किमाथाङ्का खण्ड मात्रै जोडिन बाँकी थियो ।
रानीदेखि खाँदबारीसम्मका २०० किलोमिटर सडक भने पहिल्यै कालोपत्रे सम्पन्न भइसकेर सञ्चालनमा रहेको छ ।
दोभानदेखि किमाथाङ्कासम्मको सडक कालोपत्रे तथा स्तरोन्नति र यस खण्डको १० वटा पक्की पुल निर्माणका लागि समेत ४ अर्ब ७२ करोड रुपैयाँ श्रोत सुनिश्चित भइसकेको जनाइएको छ ।
त्यसैगरी, खाँदबारीदेखि नुमसम्मको ३९ किलोमिटर सडक कालोपत्र गर्ने काम पनि तीव्र गतिमा अघि बढेको छ । नुमभन्दा माथिल्लो क्षेत्रमा कच्ची सडक निर्माण सम्पन्न भइसकेको उत्तर–दक्षिण कोशी सडक योजनाका डिभिजन प्रमुख रामबहादुर गुरुङले बताए ।
यो सडक खण्डको सबैभन्दा चुनौतीपूर्ण खण्ड मानिएको स्थानको चट्टानी खण्ड फोर्नका लागि नेपाल सेनाले सहयोग गरेको जनाइएको छ ।
सेनाले चट्टान फोरेर गत वैशाख २८ मा सडक आयोजनालाई सडक हस्तान्तरण गरेको जनाइएको छ ।
आयोजना प्रमुख गुरुङले अब घोङ्गोक्पादेखि किमाथाङ्कासम्मको १२ किलोमिटर सडकलाई चालु आर्थिक वर्षभित्रै थप स्तरोन्नति गरी नियमित रूपमा सवारी सञ्चालन गर्ने लक्ष्य राखिएको जानकारी दिए ।
घोङ्गोक्पा–किमाथाङ्का खण्डको स्तरोन्नतिका लागि मात्रै यसै वर्ष १ अर्ब ५९ करोड १३ लाख रुपैयाँ स्रोत सुनिश्चित भएको उनले बताए ।
फाक्सिन्दा दोभानदेखि बरुणसम्मको २७ दशमलव ५ किलोमिटर सडक कालोपत्रका लागि पनि २ अर्ब ४३ करोड ४ लाख ८३ हजार रुपैयाँ बजेट प्राप्त भइसकेको जनाएको छ ।
नेपालबाट भारत र चीनलाई छिटो जोड्ने सबैभन्दा छोटो त्रिदेशीय सडक मार्गका रुपमा यो सडक चिनिन्छ ।
रानीदेखि किमाथाङ्कासम्मको सीधा सडक पहुँच स्थापित भएमा त्रिदेशी व्यापारका साथै पर्यटन, ढुवानी तथा सीमापार आवतजावतमा उल्लेखनीय सहजता हुने जनाइएको छ ।
View : 141
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved