Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

मुख्यमन्त्रीमा तेस्रो पटक इन्ट्री, को हुन् हिक्मत कार्की

उद्घोष सम्वाददाता
२७ वैशाख २०८१, बिहिवार

विराटनगर । कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनी प्रदेश सभाको दोस्रो कार्यकालमा तेस्रो पटक मुख्यमन्त्री भएका हुन् ।

२०७९ पुस २४ मा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेशको चौथो मुख्यमन्त्री बनेका कार्की उपधारा (३) बमोजिम २०८० भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री बनेका थिए । 

२०२१ असोज ११ गते झापाको गौरादह नगरपालिका–३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रुपमा जन्मिएका कार्की प्रदेश सभाको एकै कार्यकालमा तेस्रो पटक मुख्यमन्त्री नियुक्त भए ।

आफ्नो बाल्यकाल गौरादहमै बिताएका कार्कीले एसएलसीसम्मको अध्ययन स्थानीय जनता माविमा पुरा गरेका थिए । 

विद्यालयमा अध्ययन गर्दैगर्दा अनेरास्ववियुमा सङ्गठित भई विद्यार्थी राजनीतिमा सक्रिय भएका कार्की  पार्टी सम्पर्कमा भने २०३६ साल तिर मात्रै पुगेका थिए । उनी महेन्द्र बहुमुखी क्याम्पस धरानमा आईएल अध्ययन गर्ने उद्देश्यले २०४२ सालमा धरान गएका थिए ।

आईएलको पहिलो ब्याजका रुपमा अध्ययन सकेर उच्च शिक्षाका निम्ति उनी नेपाल ल कलेजमा भर्ना भए । उनले कानुनमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।

अनेरास्ववियुको विभिन्न तहका कमिटीहरूको नेतृत्वदायी भूमिका (क्याम्पस प्राक, जिल्ला कमिटी काठमाण्डु, बाग्मती अञ्चल कमिटी) निर्वाह गर्दै कार्की २०५५ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

देशका दुई ठूला कम्युनिष्ट पार्टीको एकताद्वारा निर्माण भएको नेकपाको केन्द्रीय कमिटी सदस्य हुँदै कार्की नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भई स्थायी कमिटी सदस्य रहेका छन् । साथै कोशी प्रदेश सहइन्चार्ज एवम् मोरङ जिल्ला इन्चार्जको भूमिकामा समेत कार्कीले राजनीतिक जिम्मेवारी सम्हाल्दै आएका छन् । 

संसदीय राजनीतिमा २०७४ सालको प्रदेश सभा निर्वाचनमा झापाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५(१) बाट प्रत्यक्ष निर्वाचित कार्की तत्कालीन प्रदेश १ को सरकारमा २०७४ फाल्गुन ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए । उनले ३ वर्ष ७ महिना मन्त्रीको सफल कार्यकाल पुरा गरेका थिए । 

कार्की २०७९ साल मङ्सिर ४ गते सम्पन्न दोश्रो प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको क्षेत्र नम्बर ५(१) बाट दोश्रो पटक निर्वाचित भएका थिए ।

कार्कीको परिवारमा आमा, दाजुभाउजू, श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

View : 77

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved