क्यानको साधारणसभा विराटनगरमा
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको राजधानी विराटनगरमा रहेको बैजनाथपुर क्रिकेट रंगशाला निर्माणको काम अघि नबढेको भन्दै प्रदेश सरकारलाई हस्तान्तरण गरे दुई वर्षभित्रमा बनाइदिने घोषणा गरेका छन् ।
आइतबार विराटनगरमा आयोजित नेपाल क्रिकेट संघ (क्यान) को बार्षिक साधारणसभामा बोल्दै मुख्यमन्त्री कार्कीले बैजनाथपुरमा रहेको जग्गामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न सकिने बताए ।
उनले सरकारले चालु आर्थिक वर्षमै नेपाल सरकारले निर्माणको जिम्मा प्रदेश सरकारलाई दिएमा दुई वर्षभित्र आधुनिक रंगशाला बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘दुई वर्षअघि नेपाल सरकारसँग विराटनगरको बैजनाथपुरमा रहेको करिब १७–१८ बिघा जग्गामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा भएको थियो र प्रदेशलाई जिम्मा दिने नीतिगत व्यवस्था पनि गरिएको थियो, तर अझै जग्गा हस्तान्तरण भएको छैन’ उनले भने, ‘यदि नेपाल सरकारले यो आर्थिक वर्षमा नै पूर्ण लगानीसहित निर्माणको जिम्मा कोशी प्रदेश सरकारलाई दिन्छ भने हामी दुई वर्षभित्र आधुनिक अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौं ।’
उनले प्रदेशसँग सीमित स्रोत र जनशक्तिको कमि भए पनि नेपालको खेलकुद विकासका लागि आवश्यक पर्ने सम्पूर्ण प्रयास र बाह्य सहयोग जुटाएर भए पनि यो आयोजनालाई अगाडि बढाउन तयार रहेको बताए ।
मुख्यमन्त्री कार्कीले संघीय सरकारले हस्तान्तरणमा ढिलाइ गरे प्रदेश सरकार आफैंले पनि अर्को स्थानमा रंगशाला निर्माणको काम अघि बढाउने बताए ।
‘यदि नेपाल सरकारले दिएन भने पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा विराटचोक क्षेत्रमा पनि रंगशाला निर्माण गर्न सकिन्छ’ उनले भने ।
मुख्यमन्त्री कार्कीले छोटो समयमा नेपालले दुईवटा विश्वकपमा छनोट हुन सफल भएको भन्दै त्यसमा क्यानको भूमिका ठुलो रहेको बताए । साथै, कोशी प्रदेश सरकारले क्रिकेटको विकासमा पूर्ण सहयोग गर्न तयार रहेको बताउँदै संघलाई कुनै समस्या भए सहयोग गर्ने बताए ।
भर्खर सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा कोशी प्रदेश सरकार पनि जोडिन चाहेको बताउँदै उनले कोशी प्रदेशको पहिचान अर्ना भएकाले विराटनगरबाट प्रतिनिधित्व गर्ने विराटनगर किङ्स टोलीसँग आफूहरू तेस्रो संस्करणदेखि सहकार्य गर्न इच्छुक रहेको बताए । त्यसका लागि सकेसम्म कोशीकै पहिचान झल्किने गरी टोलीको नाम ‘कोशी अर्नाज्’ राख्न पनि सुझाव दिए ।
मुख्यमन्त्री कार्कीले प्रतियोगिताको प्रथम पुरस्कार नै प्रायोजन गर्नुपरे पनि प्रदेश सरकार तयार रहेको बताए ।
View : 130
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved