Biratnagar, Morang, Nepal
३० भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

जनता नमूना मावि पूर्वविद्यार्थीद्वारा ९० हजार राहत प्रदान

२९ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर  ।  रसुवामा आएको भीषण बाढीका पीडितहरूको सहयोगार्थ जनता नमूना माध्यमिक विद्यालय विराटनगर–२ का पूर्वविद्यार्थी तथा अध्ययनरत बालबालिकाहरूले ९० हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटाएका छन् ।

 

पूर्वविद्यार्थी संघ, जनता माविको अगुवाइमा सञ्चालित ‘एकपटक सहयोग गरे पनि फेरि केही थपौँ’ अभियानअन्तर्गत संकलित कुल ९० हजार १५७ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा दाखिला गरिएको हो ।


बाढीका कारण ठूलो जनधनको क्षति भएपछि पीडित नेपालीको घाउमा मलम लगाउने उद्देश्यले पूर्वविद्यार्थीहरूबाट ८२ हजार ५८२ रुपैयाँ संकलन भएको थियो ।

त्यस्तै विद्यालयमा अध्ययनरत साना बालबालिकाहरूले समेत आफ्नो खाजा खर्च कटाएर जोगाएको ७ हजार ५७५ रुपैयाँ राहतका लागि उपलब्ध गराएका थिए ।

 

संकलित दुवै रकम छुट्टाछुट्टै भौचरमार्फत जिल्ला प्रशासन कार्यालय मोरङ हुँदै राहत कोषमा जम्मा गरिएको पूर्व विद्यार्थी डा मनोज राउतले बताए ।

 


विपद्को यस घडीमा हातेमालो गर्दै राहत संकलन अभियान सफल पार्न प्रमुख सल्लाहकार भुवन रेग्मी, अध्यक्ष उमेश भगत, महासचिव देवी पोखरेल र सचिव नारायण पराजुलीले सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गरेको डा राउतले बताए ।

 
त्यसैगरी विद्यालयका प्रधानाध्यापक चिन्तामणि रिजाल, पूर्वप्रधानाध्यापक ईश्वर घिमिरे सहित पूर्वविद्यार्थीहरूको समन्वय एवं सहकार्यमा राहत रकम संकलन गरिएको डा राउतको भनाइ छ । 
 

View : 96

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved