विराटनगर । प्रदेश सरकारबाट बाहिरिएको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै सरकारलाई दिइएको समर्थन बुधबारकै मितिदेखि फिर्ता लिएको जानकारी गराएका हुन् ।
थापाले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था तथा जनताको जनादेशलाई उच्च सम्मान गर्दै प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको जिम्मेवार, रचनात्मक तथा प्रभावकारी भूमिका निर्वाह गर्ने उल्लेख गरेका हुन् ।
बुधबार कोशी प्रदेश सचिवालयस्थित दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने निर्णय गरेको प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।
‘नेपाली कांग्रेस संसदीय दलले प्रमुख प्रतिपक्षको रूपमा समर्थन फिर्ता लिँदै रचनात्मक प्रतिपक्षको भूमिकामा जाने निर्णय गरेको छ’ प्रमुख सचेतक तामाङले भने, ‘विगतमा कांग्रेस–एमाले सरकारबीच कार्यदललाई निरन्तरता दिने विषयमा भएको सहमतिलाई कायमै राख्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको छ ।’
प्रमुख सचेतक तामाङले अहिलेको नयाँ गठबन्धन अनुसार प्रदेशको बजेट सन्तुलन कायम गर्न कांग्रेसले आवश्यक भूमिका निर्वाह गर्ने समेत जानकारी दिए ।
‘विगतमा गठन भएको कार्यदलमा कांग्रेस पनि समावेश भएर जाने र सदनजस्तो गरिमा बोकेको ठाउँबाट हिजोको सरकारले व्यक्त गरेको प्रतिबद्धता, विशेषगरी बजेट सन्तुलनको विषयलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्छ भन्ने विषयमा आजको बैठकमा छलफल भएको छ’ उनले भने ।
कांग्रेसले सरकारका जनहितकारी, सुशासनमुखी तथा प्रदेशको विकास र समृद्धिमा योगदान पुर्याउने कार्यक्रमहरूमा रचनात्मक सहयोग गर्ने जनाएको छ ।
साथै, सरकारका गलत निर्णय, जनविरोधी कार्य तथा संवैधानिक एवं कानुनी व्यवस्थाविपरीतका गतिविधिको प्रभावकारी रूपमा खबरदारी गर्ने पत्रमा उल्लेख गरेको छ ।
View : 49
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved