Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

खडेरीले विराटनगरमा पानीको समस्या

उद्घोष सम्वाददाता
२३ वैशाख २०८१, आइतवार

विराटनगर । लामो खडेरीका कारण जमिन मुनिको पानी सुक्दै गएकाले विराटनगरमा पनि पानीको हाहाकार हुन थालेको छ । नेपाल खाने पानी संस्थानद्वारा वितरित पानीमा दिनहुँ समस्या देखिन थालेको छ ।

जमिन मुनिको पानी सुक्दै गएकाले उपभोक्ताले चाहे जति पानी नेपाल खानेपानी संस्थानले दिन सकिरहेको छैन ।

नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार विराटनगर महानगरपालिका भित्र नेपाल खानेपानी संस्थानका १३ हजार जति ग्राहक छन् । दैनिक ९० लाख लिटर पानीको खपत हुन्छ ।

संस्थानले जम्म १३ वटा कुवाबाट पम्प गरेको पानी उपभोक्ताको घर–घरमा पुर्‍याउने गरेको छ । मिल्सएरिया, देवकोटा चोक, पानीटंकी र मुनालपथ गरी चार ठाउँको टंकीबाट पानीको आपूर्ति हुने गरेको छ ।

गर्मीमा पानीको माग स्वतः बढ्छ तर कुवा सुक्दै गएकाले क्षमता अनुसारको पानी संस्थानले दिन सकेको छैन । यही बेला विद्युत आपूर्ति पनि अनियमित हुने गरेकाले खानेपानी संस्थानलाई पानी आपूर्ति गर्न थप समस्या भएको हो ।

नेपाल खानेपानी संस्थानले विराटनगरका १५ प्रतिशत जति उपभोक्तालाई मात्र पानी दिंदै आएको छ । संस्थानले पानी दिन नसकेको ठाउँमध्ये पुष्पलाल चोक क्षेत्रमा मानगढ खानेपानी योजनाले, बरगाछी पश्चिम जामुनगाछी खानेपानी योजनाले र पिचरा क्षेत्रमा खानेपानी उपभोक्ता समितिबाट उपभोक्तालाई पानी वितरण हुँदै आएको छ ।

महानगरपालिकाको बाँकी क्षेत्रमा जनता अहिले पनि चापा कलकै भरमा छन् ।

विराटनगरको खाने पानीको समस्या समाधान गर्न जापानी सहयोग नियोग (जाइका) ले सहयोग गर्ने भएको छ ।

जाइकाले सहयोग गर्ने योजनाको ठेक्का पनि लागि सकेको छ । जाइकाको खानोपनी योजनाको जापानकै कम्पनी सिमुजु कर्पोरेशनले दुई अर्बमा ढेक्का पनि लिइसकेको छ । 

दुई वर्ष भित्रमा सम्पन्न गर्नेगरी आगामी जेठ १५ गतेदेखि काम शुरू गर्न लागेको खानेपानी संस्थाका प्रमुख सन्तोष रौनियारले बताए ।

View : 100

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved