Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

ओखलढुंगाका महिला विराटनगर अदालतमा

उद्घोष सम्वाददाता
१४ वैशाख २०८१, शुक्रवार

उच्च अदालत विराटनगरको प्रवेश द्वारमा ओखलढुङ्गाका महिलाहरु । तस्वीर: कमल/उद्घोष

विराटनगर । ओखलढुङ्गाको सुनकोशी–५ मुलखर्क निवासी सन्छरीमाया तामाङ बिहीबार दिउँसो विराटनगर स्थित उच्च अदालत परिसरमा चर्को गर्मीका कारण रूखको छहारी खोज्दै थिइन् । उनको नाममा अरूले नै तीन लाख रूपैयाँ ऋण खाएकाले उनी अदालत आएकी हुन् ।

सुनकोशी– ३ सिस्नेरी निवासी कुमारी बुढाथोकीको नाममा पनि अरूले नै खाएको दुई लाख रूपैयाँ ऋणले उनलाई अदालतसम्म ल्याएको छ । 

बिहीबार ओखलढुङ्गाबाट दुईवटा गाडीमा आएका ४४ जना महिला एकै मुद्दामा विराटनगर आएर यहाँको चर्को गर्मीबाट जोगिन सितल ठाउँ खोजिरहेका थिए । उच्च अदालत परिसरमा महिलाहरूको भीड देखिएकाले बाटो हिंड्नेहरूलाई पनि कौतुहलता थियो ।

श्रीमतीको साथी बनेर अदालत आएका सन्छरीका श्रीमान् बमबहादुर तामाङलाई आफू बसेको ठाउँ गाउँपालिका हो वा नगरपालिका भन्ने सम्झना थिएन । त्यति मात्रै हैन श्रीमतीको नाममा ऋण रहेको संस्थाको नाम पनि थाहा थिएन । 

इटहरीमा कपडा पसल गरेर बसेका कुमारी बुढाथोकीका छोरा टंक बुथाढोकीलाई पनि आमाको नाममा ऋण रहेको संस्थाको नाम सम्झना भएन ।

निकै बेरको सोधखोजपछि मात्रै आरम्भ चौतारी लघुबित्तबाट यतिका महिलाको नाममा अरूले ऋण लिएको खुल्यो । 

लघुबित्तका तत्कालीन शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले २ सय ५७ जना बचतकर्ताको नाममा ऋण निकालेर चलाएका थिए । टंक बुढाथोकीका अनुसार गाउँमा रहेको सहकारी संस्थामा महिलाहरूले मासिक २ सय ५० रूपैयाँ बचत गर्दै आएका थिए । 

सहकारी लघुबित्तमा मिलेको र दुईवटा लघुबित्त गाभिएर एक भएपछि ती गाउँका सर्वसाधारण बचतकर्तालाई संस्थाको नाम सम्झना छैन । 

उच्च अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार यतिका महिला बकपत्रका लागि अदालत आएका हुन् । उनीहरूसँगै लघुबित्तका सञ्चालकहरू पनि बकपत्रका लागि आएका छन् । बचतकर्ताहरूले ऋण नतिरेको जनाउसहितको पत्र आएपछि मात्रै उनीहरूले आफू ऋणी भइसकेको थाहा पाएका थिए । 

प्रमुख सापकोटाले बचतकर्ताको नक्कली ऋण देखाएर ३ करोड ८४ लाख हिनामिना गरेको आरोपमा प्रहरीले मुद्दा चलाएको छ । 

सापकोटाले नक्कली ऋण निकाल्दै रकम मिटर ब्याजमा लगाएको र सो रकम नउठेकाले फिर्ता गर्न नसकेपछि मात्रै छानविनको दायरामा आएको बताइएको छ ।

सापकोटा गत वर्ष काठमाडौंमा पक्राउ परी बैंकिंग कसुरमा मुद्दा खेपिरहेका छन् । 

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बालिष्टर सिंहले उच्च अदालतको वाणिज्य इजलासमा दर्ता भएको मुद्दा भएकाले पीडितहरू विराटनगर पुगेको बताए । 

पक्राउ परेर मुद्दा चलाइएका तत्कालिन शाखा प्रमुख सापकोटा पुर्पक्षका लागि कारागारमा रहेको सिंहले जानकारी दिए । 

उच्च अदालत विराटनगरमा मुद्दा चलेकाले सापकोटा पनि मोरङ कारागारमै रहेको उनले बताए ।

View : 367

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved