Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

आन्दोलनकै बीचमा पोखरियामा प्रवेश परीक्षा

सामुदायिक विद्यालयले भर्ना नलिंदा अभिभावकहरूले बाध्य भएर विद्यार्थीलाई निजी विद्यालयमा भर्ना गर्नुपर्ने अवस्थाप्रति आन्दोलनरत शिक्षक सम्वद्ध संघ संगठनले उदासिनता देखाएको भन्दै अभिभावकको रोहवरमा पोखरियाले प्रवेश परीक्षा लिएको हो ।
उद्‌घोष सम्वाददाता
७ वैशाख २०८२, आइतवार

काठमाडौं केन्द्रीत आन्दोलनरत विराटनगरका शिक्षकहरू बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै । तस्वीर : शिक्षक टंक न्यौपानेको फेसबुकबाट

विराटनगर । कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा चिनिएको विराटनगर महानगरपालिका–३ स्थित पोखरिया माध्यमिक विद्यालयले शनिबार अभिभावकको रोहबरमा प्रवेश परीक्षा लिएको छ ।

जारी शिक्षक आन्दोलनका क्रममा विद्यालय नखोल्न र शैक्षिक गतिविधि नगर्न शिक्षकहरू सम्वद्ध राष्ट्रिय शिक्षक महासंघले आह्वान गरेका बेला प्रवेश परीक्षा लिएको भन्दै विराटनगरका ४४ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले आपत्ति जनाएका छन् ।

सामुदायिक विद्यालयले भर्ना नलिंदा अभिभावकहरूले बाध्य भएर विद्यार्थीलाई निजी विद्यालयमा भर्ना गर्नुपर्ने अवस्थाप्रति आन्दोलनरत शिक्षक सम्वद्ध संघ संगठनले उदासिनता देखाएको भन्दै अभिभावकको रोहवरमा पोखरियाले प्रवेश परीक्षा लिएको हो ।

पोखरियाले अभिभावककै दवावमा प्रवेश परीक्षामा लिन बाध्य भएको जनाइएको छ । अभिभावकहरूले आफ्ना छोराछोरी लिएर विद्यालय पुगेपछि प्रवेश परीक्षा लिनुपरेको विद्यालय प्रशासनले जनाएको छ । 

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी भएपछि सामुदायिक विद्यालयले विद्यार्थी भर्ना लिन सकेका छैनन् । 

शनिबार बिहान आफ्नो छोराछोरी लिएर अभिभावकहरू विद्यालयमा पुगेका थिए । 

भर्नाको प्रवेश परीक्षाका लागि फर्म लिइसकेको विद्यालयले परीक्षा नलिएको भन्दै ठुलो संख्यामा अभिभावकहरूले दवाव दिएका थिए । 

विद्यालयले अभिभावकको दबाव थेग्न नसकेको भन्दै शनिबार प्रवेश परीक्षा लिएको जनाइएको छ । 

संस्थागत विद्यालयले आइतबारदेखि नियमित पठनपाठन अघि बढाउन लागेको बेला सामुदायिक विद्यालयको भर्ना कार्यक्रम अन्यौलमा पर्दै आएको छ । 

शनिबार पोखरिया माविमा प्रवेश परीक्षा संचालनको तयारी हुँदै गर्दा आन्दोलनरत शिक्षक महासंघ सम्वद्ध शिक्षक नेताहरूले परीक्षा रोक्न दवाव दिए । तर अभिभावकको दवावले उनीहरू पछि हटेपछि परीक्षा सम्पन्न भएको जनाइएको छ ।

नयाँ शैक्षिक सत्रमा पोखरिया माविमा भर्ना हुन २ हजार ४३० जना नयाँ विद्यार्थीले प्रवेश परीक्षाको आवेदन फारम लगेको विद्यालयले जनाएको छ । 

वैशाख ३ गतेलाई तोकिएको प्रवेश परीक्षा शिक्षक आन्दोलनमा ऐक्यवद्धताकै कारण ६ गतेलाई सारेको व्यवस्थापन समितिको भनाइ छ । 

पोखरिया माविका प्रधानाध्यापक खेम भट्टराईसहित धेरै शिक्षक समेत आन्दोलनकै लागि काठमाडौं छन् । 

उनीहरूले आन्दोलनमै ऐक्यवद्धता जनाइरहेको बेला हजारौं विद्यार्थीको विद्यालय भर्नाको प्रारम्भिक प्रक्रिया नै रोक्ने गरी प्रवेश परीक्षामा अवरोध भएको अभिभावकहरूले मन पराएनन् ।

‘हामीले आन्दोलन छाडेको पनि छैन, हाम्रै आन्दोलन भएर नै काठमाडौंको सडकमा उत्रिएका छौं, प्रवेश परीक्षा लिने कुरामा दवाव बढ्नु स्वभाविक छ, राम्रो गरौं भनेर अभिभावकले साथ दिएको विद्यालय हो’ एक शिक्षकले भने, ‘आन्दोलनले बिग्रिन सक्ने विद्यालयको शैक्षिक कार्यक्रमलाई त हामीले नै जेनतेन मिलाउलाँ, हामीप्रति आशा गरेर भर्नाका लागि अहिलेसम्म पर्खिरिए बसेका अभिभावक र नानीबाबुको लागि पनि हामीले सोच्नुपथ्र्यो, विद्यार्थीको विद्यालय त चल्दैन होला नि, पोखरियाको हकमा विद्यालय व्यवस्थापन समिति र अभिभावकको अग्रसरतामा परीक्षा भएको देखिन्छ ।’

२०२८ सालको शिक्षा ऐनको आधारमा चल्न नसकिने भन्दै शिक्षकहरूले चर्काएको आन्दोलन शनिबार १८ दिन पूरा गरेको छ । 

काठमाडौं केन्द्रीत शिक्षकहरूको संख्या बढ्दै गएको शिक्षक महासंघले जनाएको छ । 

आइतबारदेखि विहान ९ बजे नै माइतिघर मण्डलामा भेला भएर आन्दोलन चर्काउने महासंघले घोषणा गरेको छ ।

View : 241

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved