Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

'धन' मोहमा डुबेका सुधन

गृहमन्त्री नियुक्त हुनुभन्दा दुई दिनअघि मात्रै उनले धनकुटामा २० रोपनी जमिन किनेका थिए ।
उद्‌घोष संवाददाता
१० वैशाख २०८३, बिहिवार

विराटनगर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले चैत २९ मा सार्वजनिक गरेको प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण र त्यसको स्रोत विवादले गृहमन्त्री सुधन गुरुङ पदबाट राजीनामा दिन बाध्य भएका छन् । 

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका व्यापारी दीपक भट्टसँगको व्यावसायिक साझेदारी विवाद र विभिन्न कम्पनीमा रहेको ठूलो परिमाणको सेयर लगानीको स्रोत देखाउन नसकेपछि गुरुङ विवादमा परेका थिए । 

बुधबार गृहमन्त्री पदबाट राजीनामा दिएका  गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा धनकुटा, चितवन र गोरखा गरी तीन ठाउँमा आफ्नो जग्गा रहेको खुलाएका छन् । 

यी तीनमध्ये धनकुटाको साँघुरीगढी गाउँपालिका–६ को कार्कीछापमा रहेको १९ रोपनी १५ आना जग्गा सुधनको आफ्नै नाममा छ । 

चितवनको भरतपुर १८ मा रहेको ३० कट्ठा बुबा दिलबहादुर गुरुङ र गोरखाको चुननुव्रीमा रहेको २२१ रोपनी जमिन बाजे रासमल गुरुङ तथा परिवारको नाममा रहेको उल्लेख छ । 

यी तीन मध्ये धनुकटाको कार्कीछापमा रहेको जग्गा सुधनले गृहमन्त्रीमा नियुक्त हुनुभन्दा दुई दिनअघि मात्रै किनेको धनकुटा मालपोतको अभिलेखमा देखिएको छ । 

चितवन र गोरखाको जमिनको स्रोतमा सुधनले पैतृक भनेर उल्लेख गरेका छन् । 

उनको आफ्नै नाममा भएको धनकुटाको जमिनको स्रोतमा भने उनले ‘लगानीबाट प्राप्त आय’ भन्ने उल्लेख गरेका छन् । चैत १३ मा प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई गृहमन्त्री पदमा नियुक्त गरेका थिए । २६ दिनपछि सम्पति विवादले उनको पद गएको छ । 

चैत ११ मा गुरुङले कार्कीछापमा १९ रोपनी १५ आना जमिन किनेको धनुकटा मालपोतको अभिलेखमा उल्लेख छ । मालपोत कार्यालय धनकुटाका एक जना कर्मचारीले दिएको जानकारी अनुसार चैत ११ मा वारेसमार्फत सो जग्गा सुधनको नाममा पास भएको छ । 

‘१६७ कित्ता नम्बरको जग्गा उहाँको नाममा पास भएको देखिन्छ,’ ती कर्मचारीले भने ‘जुनु लिम्बू नामको जग्गाधनीबाट उहाँले किनेको अभिलेखमा देखिन्छ ।’ 

मालपोत कार्यालयका अनुसार साँगुरीगढी ६ वडा कार्यालयले गरेको सिफारिसका आधारमा जग्गाको सरकारी मूल्याङ्कन राखेर जग्गा किनबेच भएको हो । वडा कार्यालयले सो जग्गामा बाटो नभएको, सडकबाट भित्र पर्ने भनेर सिफारिस गरेको छ । 

सोही अनुसार प्रतिरोपनी १७ हजार रुपैयाँ सरकारी मूल्यांकन गरेर जग्गा किनबेच भएको छ । त्यसवापत जग्गाको मूल्य ६ लाख ९० हजार रुपैयाँ भएको उल्लेख छ । सोही मूल्यांकन अनुसार राजस्व बुझाइएको मालपोतको भनाइ छ । 

गृहमन्त्रीमा नियुक्त हुनुभन्दा दुई दिनअघि मात्रै सुधनको नाममा पास भएको उक्त जग्गा भएको ठाउँ पूर्वको चर्चित पर्यटनस्थल भेडेटारबाट ३ किलोमिटर उत्तरमा पर्छ । स्थानीयवासीका अनुसार धनकुटाका दुई चर्चित पर्यटन केन्द्र भेडेटार र नमस्ते झरनाको बीचमा यो ठाउँ अवस्थित छ । 

मौसमी हिसाबले यो ठाउँ न भेडेटार जस्तो एकदमै चिसो छ, न अन्यत्र जस्तो गर्मी नै । बाह्रैमास न धेरै चिसो, न धेरै गर्मीको मौसमी अवस्था रहने भएकाले यो ठाउँमा पछिल्लो समय होटलहरु खुल्ने, रिसोर्ट खुल्ने क्रम चलेको छ । 

‘लोकेसन (भौगोलिक अवस्थिति) को हिसाबले धनकुटा जाने बाटोमा पर्ने भएकाले उत्तर भन्नुपर्छ,’ कार्कीछापकै एक जना होटल व्यवसायीले भने ‘तर, भेडेटारबाट यता आउँदा ओरालै ओरालो पर्छ । त्यसैले हामी भेडेटारभन्दा तल भन्छौं ।’ 

ती होटल व्यवसायीका अनुसार केही अघि देखि नै सुधनले कार्कीछापमा जग्गा किनेको हल्ला चलेको थियो । 

‘केही महिना अघि नै जग्गा किनेको भन्ने सुनेका थियौं,’ उनले भने ‘तर, कहिले पास गरेको, कतिमा गरेको भन्ने थाहा भएन ।’ साँघुरीगढी–६ का वडाध्यक्ष यमप्रसाद मगर (दीपक) ले जग्गा कसले किनेको आफूलाई थाहा नभएको तर जग्गाधनीले सिफारिश मागेपछि चैत ११ मा आफूले सिफारिश दिएको बताए । 

‘त्यो ठाउँ कोशी राजमार्गले छुँदैन त्यसैले बाटो नभएको भन्नै प¥यो,’ उनले भने ‘जे छ त्यही भनेर सिफारिश गरेका हौं ।  कसले किन्यो हामीले सोध्ने कुरा भएन ।’ 

उनले जग्गाको भाउ फरक–फरक पर्ने बताउँदै भने ‘हामीले  सिफारिश गरेको जग्गा त्यही ३ लाख रुपैयाँ रोपनी जतिमा किनबेच हुन्छ होला ।’ 

वडाध्यक्ष मगरले प्रतिरोपनी ३ लाख सम्ममा किनबेच हुने बताइरहदा स्थानीयवासी तथा होटल व्यवसायीहरु भने त्यो मान्न तयार छैनन् । 

सोही ठाउँमा केही महिना अघि मात्रै सात रोपनी जमिन किनेका इटहरीका एक जना होटल व्यवसायीले आफूले ६ लाख रुपैयाँ रोपनीले किनेको जानकारी दिए । ‘मैले किनेको जमिन पनि हाइवे भन्दा धेरै भित्र छ, मैले चाहिँ ६ लाख रुपैयाँ रोपनीले लिएको हुँ,’ उनले भने ‘यहाँ रिसोर्ट खोल्ने मनसायले जग्गा लिएको हुँ ।’ 

सुधन गुरुङले कार्कीछापमा जग्गा लिनुको उद्देश्य पनि रिसोर्ट नै हुनसक्ने ती व्यवसायीले बताए । सुधनले यसअघि पोखराको फेवातालमा पनि यस्तै परियोजना अघि बढाउन खोजेका थिए ।

यातायात व्यवसाय गर्दै आएका कार्कीछापकै एक जना स्थानीय बासिन्दाले पनि ती होटल व्यवसायीले भने जस्तै दर भाउमा जग्गा किनबेच हुने गरेको आफूले सुनेको बताए । 

‘बाटो नजिकको जग्गाको दाम त आनाकै ४–५ लाखसम्म पर्छ,’ उनले भने ‘बाटोभन्दा भित्रभित्र रोपनीको ६–७ लाखसम्म पर्छ । यहाँ होटल खोल्नेहरुले जग्गा किन्ने हुन् । अरुले त्यत्ति किन्दैनन् ।’ 

वडाध्यक्षले भनेकै दाममा किनबेच भएको हो भने सुधनले लगभग ६० लाख रुपैयाँमा जग्गा किनेको देखिन्छ । यदि स्थानीय व्यवसायीले भनेको मूल्यमा किनबेच भएको हो भने यो जग्गाको मूल्य एक करोडभन्दा बढी पर्न जान्छ । 

गुरुङको व्यापारिक साझेदारीदेखि सम्पत्तिको स्रोतबारे सर्वत्र प्रश्न उठेर आलोचना भएपछि उनले राजीनामा दिइसकेका छन् ।  त्यसक्रममा उनले स्वार्थको द्वन्द्व नहोस् भनेर राजीनामा दिएको उल्लेख गरेका छन् ।

View : 175

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved