विराटनगर । मोरङ क्षेत्र नं. ४ का संघीय सांसद सन्तोष राजवंशीले विराटनगरको ऐतिहासिक र पुरानो विरासतलाई पुनर्जीवित गर्न वर्तमान सरकार र आफू पूर्ण रूपमा लागिपरेको उद्घोष गरेका छन् ।
राजवंशी चलचित्रकर्मी समाद समितिद्वारा नयाँ वर्ष तथा सिरुवा पर्वको अवसरमा बुधबार विराटनगरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।
सांसद राजवंशीले विराटनगरलाई केवल राजनीतिक केन्द्रमा मात्र सीमित नराखी सांस्कृतिक, शैक्षिक र स्वास्थ्यको उत्कृष्ट ‘हब’ का रूपमा विकास गर्ने आफ्नो संकल्प रहेको बताए । औद्योगिक रुपमा चिनिएको विराटनगरको पुरानो विरासतलाई पुनर्जीवित गर्ने पक्षमा आफू रहेको उनले बताए ।
उनले विराटनगर–१९ स्थित वैजनाथपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला बनाउन आफूले ९५ करोड रुपैयाँ बराबरको विस्तृत योजना बजेटका लागि सरकारसमक्ष प्रस्ताव गरिसकेको जानकारीसमेत दिए ।
साना र टुक्रे योजनाले विकासको गति नलिने भन्दै रास्वपाले ठूला र गौरवका योजनालाई प्राथमिकता दिने भएकाले वर्तमान सरकारले सांसद विकास कोष जस्ता कार्यक्रमलाई निरन्तरता नदिने उनले बताए ।
उनले आफू मोरङ ४ बाट निर्वाचित भए पनि आफ्नाे निर्वाचन क्षेत्रमा मात्र सीमित नरही समग्र देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाउँदै वर्तमान सरकार भ्रष्ट र दुष्ट स्वभाव भएकाविरुद्ध निर्मम भएर अगाडि बढिरहेको दाबी गरे ।
कलाकारिता क्षेत्रबाट राजनीतिमा पुगेका राजवंशीलाई सोही अवसरमा राजवंशी चलचित्रकर्मी समाद समिति, आदिवासी चलचित्रकर्मी समाज र नेपाल चलचित्र महासंघ कोशी लगायतका संस्थाहरूले सम्मान गरेका थिए ।
समाद समितिका अध्यक्ष दीपनारायण राजवंशीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विराट राजवंशी उत्थान समितिका केन्द्रीय अध्यक्ष भूवनेश्वर राजवंशी, नेपाल सरकारका उपसचिव तोमप्रसाद उप्रेती, चलचित्र महासंघ कोशीका अध्यक्ष अरुण प्रधान र विराट राजवंशी सांस्कृतिक पुस्तकालयका अध्यक्ष कुशेश्वर राजवंशी लगायतका व्यक्तित्वहरूले उनको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै सम्मान अर्पण गरेका थिए ।
View : 268
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved