Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नैतिक बल गुमाउँदै गएको सरकारले भौतिक बलको प्रयोग बढायो : शान्ति समाज

उद्‌घोष सम्वाददाता
१४ पुष २०८०, शनिवार

विराटनगर । सरकारले नैतिक बल गुमाउँदै गएर भौतिक बलको प्रयोग बढाएको भन्दै मानव अधिकार तथा शान्ति समाजले टिप्पणी गरेको छ । शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली र बल प्रयोगबाट दुई युवकको मृत्यु भएको घटनाप्रति शान्ति समाजले विज्ञप्तिमार्फत सरकारको विरोध गरेको हो ।

सरकारले उक्त घटनामा मानवीय क्षतिलाई टार्न सक्नुपर्ने भएपनि प्रहरीले अत्याधिक बल प्रयोग गरेका कारण दुई जनाको मृत्यु भएको शान्ति समाजको विज्ञप्तिमा उल्लेख छ । घटनाको प्रारम्भिक अध्ययनपछि धारणा सार्वजनिक गर्दै शान्ति समाजकी महासचिव रेनुका पौडेलले सरकार पछिल्लो चरणमा भ्रष्टाचारमा लिप्त बन्दै गएको, सरकारले नैतिक बल गुमाउँदै गएको र भौतिक बलको प्रयोग बढाउँदै लगेको उल्लेख गरिन् ।

मानव अधिकार तथा शान्ति समाजले कुनैपनि आगजनी तोडफोडका घटनाहरुको सदैब निन्दा गर्दै आएको भन्दै युवाको पिडा नबुझ्ने सरकारी संयन्त्र र नागरीकको समस्या संम्बोधन नगर्ने सरकारका कारण आम नागरिकमा आक्रोस बढ्दै गइरहेको जनाइएको छ । 

‘पुष १३ गते बिहानैदेखि कोरिया जाने भाषा परीक्षामा सहभागी नगराएको भन्दै सो क्षेत्रमा हजारौं युवाहरुले प्रदर्शन गरिरहेको अशान्त स्थितिमा पार्टीको कार्यक्रममा भाग लिन हिँडेका मन्त्री प्रकाश ज्वाला चढेको गाडी सो क्षेत्रमा प्रवेश गर्नुले स्वयं मन्त्री ज्वाला र सरकारी निकायको समेत कमजोरी देखिन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘गत मंसिर महिनादेखि काठमाडौं उपत्यकामा भइरहेका प्रदर्शनहरुमा प्रहरी प्रशासनको दुरुपयोग भएको र त्यस्तो दुरुपयोग रोक्न शान्ति समाजले यस अघि नै सरकारलाई आग्रह गरिसकेको छ ।’

शान्ति समाजका तर्फबाट संस्थापक सभापति कृष्ण पहाडीले पुष ८ गते प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई पत्र लेखी प्रहरीले अबलम्बन गर्न थालेको आक्रामक एवं स्वेच्छाचारी शैलीप्रति चिन्ता ब्यक्त गर्दै ध्यानाकर्षण गराएका थिए ।
शान्ति समाजले संयुक्त राष्ट्रसंघ महासभाद्वारा १७ डिसेम्वर १९७९ मा पारित (प्रस्ताव नम्बर ३४/१६९) ‘कानून कार्यान्वयन गर्ने अधिकारीका लागि आचारसंहिता’ को सदैव पालना एवं सम्मानका लागि ध्यानाकर्षण समेत गराएको छ ।

View : 245

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved