Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

साजीलाल माविको ५९ औं वार्षिकोत्सव

मणिराम दाहाल
२३ माघ २०८१, बुधवार

सुन्दरहरैंचा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा राम्रो र अनुशासित भए देशको गति अगाडि बढ्ने बताएका छन् । 

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित साजीलाल माध्यमिक विद्यालयको मंगलबार भएको ५९ औं वार्षिकोत्सब तथा अभिभावक भेलालाई सम्बोधन गर्दै शिक्षामा राम्रो सुधारको गति नदेखिएको उल्लेख गरे ।  

उनले विज्ञ, राजनीतिक दल तथा जनप्रतिनिधि एक भएर देशमा शिक्षाको हित र विकास गर्नु जरुरी रहेको धारणा राखे  । उनले साजीलाल मावि सो क्षेत्रको पुरानो विद्यालय भएकोले बालबालिकाको हित र पढाइका लागि सबैको साथ सहयोगको खाँचो परेको बताए ।

विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले कक्षा नर्सरीदेखि १२ सम्ममा हाल २ हजार ८ सय ५२ जना विद्यार्थीहरू अध्ययनरत रहेको बताए ।

विसं २०२१ सालमा समाजसेवी स्व ननीलाल चौधरी तथा खडानन्द चौधरीको परिवारबाट आफना पिता स्व साजीलाल चौधरीका नाममा करिब २१ बिघा जमिन दान गरेकाले सो बाहेक विभिन्न समयमा समाजसेवी तथा शिक्षाप्रेमीहरूको पहलमा विद्यालयको नाममा दर्ता हुन आएको करिव २७ बिघा जमिन गरी ४८ बिघा विद्यालयको स्वमित्वमा रहेको उनले जानकारी दिए ।

उनले विद्यालय परिसरमा दुई बिघाको हाता, ४५ वटा कोठा भएका पक्की तथा कच्ची भवन,  खानेपानीको व्यवस्था, पर्याप्त मात्रामा शौचालय, दुई वटा चमेनागृह, विद्यालयको आफ्नै २ वटा स्कुल बस रहेको जानकारी दिए । 

समारोहमा नगर प्रमुख केदारप्रसाद गुरागाईले नगरपालिकाले विद्यालयलाइ गरेको लगानीको प्रतिफल आफूले हेर्न चाहेको बताए । 

कार्यक्रममा विद्यालय प्रोत्साहन तथा अक्षयकोषबाट  विद्यालयका शिक्षकलाई सम्मान गरिएको थियो । समारोहमा विद्यार्थी तथा शिक्षकले नृत्य, गीत, कविता, मुक्तकलगायत  प्रस्तुत गरेका थिए ।

View : 414

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved