Biratnagar, Morang, Nepal
७ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

बिराट किचनले पायो खाद्य स्वच्छताको सर्वोच्च ‘क’ वर्ग

उद्‌घोष संवाददाता
६ असोज २०८३, मङ्गलवार

Advertisement

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज परिसरमा सञ्चालित बिराट किचन प्रालि (कलेज क्यान्टिन) ले खाद्य स्वच्छता स्तरमा सर्वोच्च श्रेणी ‘क’ अर्थात् ‘अति उत्तम’ प्राप्त गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सोमबार गरेको अनुगमन तथा मूल्यांकनमा बिराट किचनले ९७ अंक प्राप्त गर्दै ‘क’ श्रेणी हासिल गरेको हो ।

खाद्य अनुसन्धान अधिकृत प्रकृति वस्तीका अनुसार खाद्य स्वच्छताका विभिन्न सूचकको मूल्यांकनपछि किचनलाई ‘अति उत्तम’ वर्गको हरियो स्टिकर प्रदान गरिएको हो । 

होटल स्तरीकरणसम्बन्धी निर्देशिकामा तोकिएका ५० वटा सूचकका आधारमा अनुगमन तथा मूल्यांकन गरिएको उनले बताइन् । 

खाद्य स्वच्छताको स्तरका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य व्यवसायलाई ‘क’ अति उत्तम, ‘ख’ उत्तम, ‘ग’ सन्तोषजनक र ‘घ’ सामान्य गरी चार वर्गमा विभाजन गरेको छ ।

बिराट किचनले बिराट मेडिकल कलेजमा उपचाररत बिरामी, उनीहरूका परिवारजन, कर्मचारी तथा आगन्तुकलाई भोजन उपलब्ध गराउँदै आएको छ । 

किचनमा हाल ६ जना विशेषज्ञ डाइटिसियन कार्यरत रहेको सञ्चालक रविकान्त साहले बताए । 

उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था, उपचार विधि र व्यक्तिगत रुचिलाई ध्यानमा राखेर डाइटिसियनले भोजनको योजना तयार गर्ने गरेका छन् । त्यसैगरी कलेजमा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीलाई नियमित खाना तथा खाजा उपलब्ध गराउँदै आएको उनले बताए ।

View : 23

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved