विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुन्डुस्थित निवासमा गएको मंगलबार साँझ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा पुगेका थिए ।
पित्तथैलीको शल्यक्रियापछि आराम गरिरहेका ओलीको स्वास्थ्य अवस्था बुझ्न गएको औपचारिक बहाना थियो, तर भेटको मर्म राजनीतिक थियो ।
दुई दलका शीर्ष नेताहरूबीच प्रदेश सरकार परिवर्तनको कुरा छलफलको मुख्य विषय थियो ।
उपसभापति शर्माले कोशीमा कांग्रेस प्रदेश सभापतिसमेत रहेका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरे ।
त्यसपछि ओलीले कांग्रेस टोलीलाई जे भने, त्यसले उनको गृह प्रदेश कोशीबारे केही संकेत प्रष्ट गरेको थियो । त्यसक्रममा ओलीले भनेका थिए, ‘कोशीमा मुख्यमन्त्री फेर्नुपर्छ भन्नेमै छु म । तर, अब एमालेबाटै अर्को नेतालाई त्यहाँको मुख्यमन्त्री बनाऔं ।’
अध्यक्ष ओलीकै छत्रछायाँमा रहेका कार्की कोशीमा तेस्रोपटक मुख्यमन्त्रीका रुपमा वहाल छन् । तर, उनै ओलीले कोशीमा कार्कीको विकल्प खोज्ने प्रस्ताव रुपमा त्यसदिन भनेका थिए । यसले ओलीको कार्कीप्रतिको असन्तुष्टि खुलेको थियो । मुख्यमन्त्री कार्कीका राजनीतिक अभिभावक ओली उनीसित बिच्किएको प्रमाण थियो त्यो ।
ओली मुख्यमन्त्री कार्कीसँग सन्तुष्ट नरहेको बारे उनी आफै पनि जानकार रहेको कार्की निकट स्रोतले उद्घोषलाई बताएको छ ।
‘मुख्यमन्त्रीसँग पार्टी अध्यक्ष बिच्केको केही महिना नै भैसकेको छ’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘अध्यक्ष ओली मुख्यमन्त्रीबाट कार्कीलाई हटाएर एमालेकै तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने योजनामा रहेको बारे हामी जानकार छौं ।’
आफैले तीन पटकसम्म मुख्यमन्त्री बनाएका आफ्नै क्षेत्रका कार्कीसँग ओली किन बिच्किए ? एमाले नेताहरू यसबारे खुलेर बोल्न मान्दैनन् ।
अनौपचारिक कुराकानीमा उनीहरूले बताएअनुसार ओली मुख्यमन्त्री कार्कीको कार्यशैलीसँग सन्तुष्ट छैनन् । त्यस्तै चुनावयता उनले कार्कीसँग दुरी बनाउन सुरु गरेका थिए ।
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ओली बालेन शाहसँग ठूलो मतान्तरले पराजित भएका थिए । पराजयअघि ओलीले आफ्नो लामो राजनीतिक जीवनमा कहिल्यै नगरेको तीव्र घरदैलो अभियान चलाएका थिए ।
पार्टीको ‘अजेय गढ’ मानिने आफ्नै निर्वाचन क्षेत्र झापा ५ मा पुगेर कार्यकर्ता र मतदातासँग घनिभूत संवाद गर्दा उनले स्थानीय स्तरको गहिरो असन्तुष्टि महसुस गरेको नेताहरू बताउँछन् ।
झापा–५ का बहुसंख्यक एमाले मतदाताले मुख्यमन्त्री हिक्मत कार्की, उनका दाजु दीपक कार्की, प्रदेशसभा सदस्य होमबहादुर थापा र उनका भाइ गोविन्द थापाविरुद्ध खुलेआम गुनासो पोखेका थिए ।
एक स्थानीय एमाले नेताका अनुसार, ‘कार्की र थापा दाजुभाइलाई त ओलीको कोषाध्यक्ष भन्नेहरू पनि थिए ।’ क्षेत्रीय तहका कार्यकर्ताको लगातारको गुनासो र मुख्यमन्त्रीसहित स्थानीय नेताहरूको प्रभावले आफ्नो ‘फिल्ड’ बिग्रिएको ओलीलाई लागेको थियो । कार्की परिवार गौरादहको पुरानो एमाले परिवार हो ।
हिक्मत कार्की एमालेका सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री छन् भने दीपक कार्की केन्द्रीय सदस्य । थापा दाजुभाइ नै पार्टी संरचनामा सक्रिय छन् ।
कार्यकर्ताहरूका अनुसार यी दुई परिवारको संयुक्त प्रभावले पार्टीको साधनस्रोत, टिकट वितरण र निर्णय प्रक्रियामा एकलौटी कब्जा गरेको आरोप लाग्ने गरेको छ ।
‘कार्की र थापा परिवारका कारण क्षेत्रमा धेरै कार्यकर्ता पाखा परेका छन्, क्षेत्रीय सन्तुलन बिग्रिएको छ’ ती नेताले भने ‘कार्की दाजुभाइले फिल्ड बिगारेछन् भन्ने ओलीलाई चुनावकै बेला परेको थियो । त्यही भएर उहाँले मुख्यमन्त्रीसँग दुरी बनाउनुभएको हो ।’
चुनावताका भएको ओलीको घरदैलो अभियानले एमालेको आन्तरिक किचलो मात्र उजागर गरेन, निर्वाचन परिणामले पनि त्यसलाई पुष्टि गर्यो ।
बालेन शाहले ओलीलाई फराकिलो अन्तरले हराए । यो पराजयलाई ओलीले व्यक्तिगत लोकप्रियताको ह्रासभन्दा बढी स्थानीय नेतृत्वको कमजोरी र पार्टीभित्रको ‘सिन्डिकेट’ को परिणामका रूपमा लिएको एमाले नेताहरू बताउँछन् । आफूमा भएको कमजोरी कहिल्यै महसुस नगर्ने ओलीको स्वभावले कार्कीसँग उनको दुरी बढाएको एमाले नेताहरू बताउँछन् ।
त्यसो त ओलीकै संरक्षकत्वमा झापा–५ मा कार्की र थापा परिवारको प्रभाव एमालेभित्र लामो समयदेखि छ ।
कार्की दाजुभाइ जस्तै थापा दाजुभाइले पनि पार्टी संरचनामा आफ्नो पकड जमाएका छन् । यी परिवारले स्थानीय तहको टिकट वितरणदेखि स्रोत साधनसम्ममा अनुचित प्रभाव पारिरहेको कार्यकर्ताको आरोप छ ।
स्थानीय स्तरमा रहेको ‘जञ्जाल’ ले सामान्य कार्यकर्तालाई निराश बनाएको एमालेजन बताउँछन् ।
आफ्ना कमजोरी स्वीकार गर्नुभन्दा त्यसको दोष अरूमाथि थोपर्ने प्रवृत्ति एमाले अध्यक्ष ओलीका लागि नयाँ होइन ।
सत्ता र संगठनभित्र उत्पन्न असन्तुष्टि, जनस्तरमा बढ्दो आलोचना वा निर्वाचनमा देखिएको निराशाजनक परिणाम यी सबैलाई आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिनुको साटो उनले प्रायः अरू नेतामाथि जिम्मेवारी सार्ने शैली अपनाउँदै आएका छन् । झापा ५ मा आफूले भन्दा क्षेत्रका कार्कीसहितका नेतालाई उनले दोष दिएको नेताहरू बताउँछन् ।
चुनावमा एमालेले अपेक्षाअनुसार परिणाम हासिल गर्न नसक्नुको कारण आफ्नै नेतृत्वप्रति बढेको असन्तुष्टि, जनतामाझ घट्दो विश्वास वा सरकार र पार्टी सञ्चालनशैली हुन सक्छ भन्ने स्वीकार गर्न ओली तयार देखिदैनन् ।
बरु, प्रदेश नेतृत्व कमजोर भयो, स्थानीय तहका नेताहरू प्रभावकारी भएनन् वा कार्की समूहकै कारण पार्टीलाई क्षति पुग्यो भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको कार्की निकटहरूको भनाइ छ ।
‘उहाँ बिच्किनुको कारण यही हो’ ती नेताले भने, ‘पछिल्लो समय कार्की आफ्नो पक्षमा खुलेर नउभिएको भन्ने असन्तुष्टि पनि ओलीमा देखिन्छ ।’
View : 314
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved