विराटनगर । यतिखेर मुख्य राजमार्ग छाडेर गाउँघरका अधिकांश भित्री पिच सडकमा घाममा सुकाइएका मकैका बिस्कुन बग्रेल्ती देखिन्छन् ।
सवारी नै अवरोध हुनेगरी सुकाउने गरिएका यी मकै आखिरमा कहाँ खपत हुन्छन् ? कसले किन्छन् ? भन्ने प्रश्न धेरैको मनमा उठ्न सक्छ । यसको उत्तर भने पूर्वी नेपालमै सञ्चालनमा रहेको मुलुककै एउटा आधुनिक ठूलो दाना उद्योगले दिइरहेको छ ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा पछिल्ला वर्षहरूमा मकै खेती उल्लेख्य रूपमा विस्तार भएको छ । मकै खेतीको यो तीब्र विस्तारमा भने परोक्ष रूपमा गौरी शंकर एग्रो इण्डस्ट्रिज प्रालि जोडिएको छ ।
सुनसरीको कोशी गाउँपालिकास्थित लौकहीमा स्थापित गौरी शंकर एग्रो इण्डस्ट्रिज प्रालि किसानका लागि पछिल्ला वर्ष भरपर्दो बजार बनेको छ ।
करिब ११ बिघा क्षेत्रफलमा फैलिएको यो उद्योगले किसानसँग प्रत्यक्ष तथा कृषि सहकारीमार्फत मकै खरिद गर्दै आएको छ । उद्योगले खरिदमा मात्र सीमित नरही किसानलाई गुणस्तरीय बीउ, प्राविधिक परामर्श र उत्पादन वृद्धि सम्बन्धी सहयोगसमेत उपलब्ध गराउँदै आएको छ । त्यसैले यस क्षेत्रका किसान मकै उत्पादनतर्फ थप आकर्षित भएका छन् ।
सन् २०२२ मा करिब ६ अर्ब रुपैयाँको लगानीमा निर्माण सुरु भएको यो उद्योग नेपालको सबैभन्दा ठूलो पशुपन्छी दाना उद्योगमध्ये एक मानिन्छ । उद्योगको प्रतिघण्टा ४० टन दाना उत्पादन गर्ने क्षमता रहेको उद्योगका कार्यकारी निर्देशक टिकाराम पोखरेल बताउँछन् ।
उनका अनुसार, उद्योगले ब्रोइलर, लेयर्स, प्यारेन्ट, गिरिराज कुखुरा, गाई–भैंसी, बंगुुर, माछा तथा हाँसका लागि आवश्यक विभिन्न प्रकारका दाना उत्पादन गर्दछ । उद्योगबाट उत्पादित दाना ‘गौरी शंकर’ ब्रान्डका नामले बजारमा बिक्री हुँदै आएको छ ।
उद्योगमा युरोप, अमेरिका लगायतका मुलुकबाट आयात गरिएका अत्याधुनिक स्वचालित फिड प्लान्ट, अटो ब्याचिङ प्रणाली, कम्प्युटराइज्ड उत्पादन नियन्त्रण प्रणाली तथा ठूलो क्षमताका आधुनिक साइलो जडान गरिएको छ ।
यी प्रविधिका कारण कच्चा पदार्थको भण्डारणदेखि उत्पादनसम्म गुणस्तर कायम गर्न सहज भएको उद्योगको दाबी छ ।
त्यस्तै उद्योगले किसानको चिसो अर्थात् ओसिएको मकै किनेर आफै सुकाउने पनि गर्दछ । त्यसका लागि उद्योगले तीन वटा आधुनिक ड्रायर मेसिन जडान गरेको छ ।
तीन दशकभन्दा बढी समयदेखि नेपालको पोल्ट्री क्षेत्रमा सक्रिय अविनाश समूहका संस्थापक गुणचन्द्र विष्टद्वारा प्रवद्र्धित यो उद्योगमा पोल्ट्री, पशुपालन तथा कृषि क्षेत्रमा लामो अनुभव भएका व्यवसायीहरूको लगानी छ ।
अविनाश समूह कुखुरापालनसँगै एलपीजी, ऊर्जा, धातु तथा व्यापार क्षेत्रमा समेत स्थापित व्यावसायिक समूहका रूपमा परिचित छ ।
उद्योगका कार्यकारी निर्देशक टीकाराम पोखरेलका अनुसार केही वर्षअघिसम्म नेपालमा दाना उद्योगका लागि आवश्यक करिब ८५ प्रतिशत मकै भारतलगायतका मुलुकबाट आयात गर्नुपथ्र्यो । अहिले त्यो अवस्थामा निकै परिवर्तन भएको छ ।
‘पाँच–छ वर्षअघि दाना बनाउन चाहिने अधिकांश मकै भारतबाट आउँथ्यो । अहिले आयातको हिस्सा करिब २० प्रतिशतमा झरेको हाम्रो अनुमान छ । नेपाली किसानले उत्पादन गरेको मकै नै पर्याप्त हुन थालेको छ,’ उनी भन्छन् ।
उनका अनुसार उद्योगको उद्देश्य नेपाली किसानले अझ बढी मकै उत्पादन गरून् र दानाका लागि आवश्यक मुख्य कच्चा पदार्थ स्वदेशमै उपलब्ध होस् भन्ने हो । यद्यपि दाना उत्पादनमा प्रयोग हुने भटमास भने अझै विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
नेपालमा वार्षिक करिब १२ अर्ब रुपैयाँ बराबरको भटमास आयात हुने उनको अनुमान छ । ‘यदि भटमासको उत्पादन पनि नेपालमै बढाउन सकियो भने ठूलो परिमाणमा आयात प्रतिस्थापन गर्न सकिन्छ,’ पोखरेल भन्छन् । उनका अनुसार, दाना उद्योगका लागि मकै र भटमास नै मुख्य कच्चा पदार्थ हुन् । अन्य उद्योगजस्तो दाना उद्योगको भने कुनै पनि सह–उत्पादन नहुने पोखरेल बताउँछन् ।
गौरी शंकर एग्रोले किसानबाट मकै खरिद गरेर आफ्नो उद्योगमा दाना उत्पादन मात्र गर्दैन । उद्योगले मकै सफा गर्ने, ग्रेडिङ गर्ने र अन्य दाना उद्योगलाई मकै आपूर्ति गर्ने काम पनि गर्दै आएको छ । ‘हामीले सफा गरेर ग्रेडिङ गरेको मकै अन्य दाना उद्योगले पनि किनेर लैजान्छन्’ पोखरेल भन्छन् ।
एक तथ्याङ्कअनुसार कोशी प्रदेशमा वार्षिक करिब १० देखि १२ लाख मेट्रिक टन मकै उत्पादन हुन्छ । नेपालभर उत्पादन हुने करिब ३१ लाख मेट्रिक टन मकैमध्ये सबैभन्दा धेरै हिस्सा कोशी प्रदेशकै रहेको छ । झापा, मोरङ र सुनसरी जिल्ला यसका प्रमुख उत्पादन क्षेत्र हुन् ।
कृषि विषयका विद्यार्थीसमेत रहेका पोखरेल विगत २०४४ सालदेखि कृषि तथा पोल्ट्री क्षेत्रमा सक्रिय छन् । उनका अनुसार नेपालमा कुखुराको मासु उपभोग निरन्तर बढिरहेका कारण दाना उद्योगको बजार पनि विस्तार भइरहेको छ ।
‘आज प्रत्येक बजार र चोकमा फ्रेस हाउस पुगेका छन् । मानिसको मासु उपभोग बढेसँगै दाना उद्योगको माग पनि बढेको छ ।
अहिले नेपाल चल्ला, अण्डा र तयारी दानामा लगभग आत्मनिर्भर भइसकेको छ,’ उनले भने । उनका अनुसार नेपालमा तयारी दानाको आयात अहिले नगण्य रहेको छ भने मकै उत्पादन पनि आत्मनिर्भरताको चरणमा पुगेको छ ।
किसानको उत्पादनको सुनिश्चित बजार, आधुनिक प्रविधिमा आधारित उत्पादन, आयात प्रतिस्थापनको प्रयास र स्वदेशी कृषि उत्पादनको उपयोगका कारण गौरी शंकर एग्रो इण्डस्ट्रिज पूर्वी नेपालको कृषि तथा पोल्ट्री क्षेत्रलाई जोड्ने महत्वपूर्ण कडीका रूपमा स्थापित हुँदै गएको पोखरेल बताउँछन् ।
उद्योगले किसानको मकैलाई उचित मूल्यमा बजार उपलब्ध गराउनुका साथै स्थानीय उत्पादनलाई औद्योगिकीकरणमार्फत मूल्य अभिवृद्धि गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाइरहेको उनको दाबी छ ।
भविष्यमा भटमास उत्पादनमा पनि नेपाल आत्मनिर्भर बन्न सके दाना उद्योगको कच्चा पदार्थमा विदेशी निर्भरता अझै घट्ने पोखरेल उल्लेख गर्छन् ।
‘उद्योग, किसान र बजारबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन सके नेपाल पशुपन्छी दाना उत्पादनमा दीर्घकालीन रूपमा पूर्ण आत्मनिर्भरतातर्फ अघि बढ्छ’ उनले भने ।
View : 253
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved