Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

औद्योगिक जनशक्ति सुदृढीकरणका लागि मानव संसाधन सम्मेलन हुँदै

उद्‌घोष संवाददाता
२२ वैशाख २०८३, मङ्गलवार

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा नेपाल मानव संसाधन सम्मेलनको दोस्रो संस्करण यही वैशाख २५ र २६ गते मोरङको विराटचोकमा आयोजना हुने भएको छ । 

औद्योगिक विकासका लागि सक्षम र दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्यसहित सम्मेलन गर्न लागिएको हो ।

नेपालको औद्योगिक क्षेत्र अहिले दक्ष जनशक्तिको अभाव, वैदेशिक रोजगारीतर्फ बढ्दो पलायन, सीप असन्तुलन, कर्मचारी स्थायित्वको कमी तथा प्रविधिगत परिवर्तनजस्ता चुनौतीले प्रभावित भइरहेको सन्दर्भमा सम्मेलनले यी समस्यालाई सम्बोधन गर्ने लक्ष्य लिएको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए ।

सम्मेलनले मानव संसाधन व्यवस्थापनलाई गुणस्तर र उत्पादकत्वसँग प्रत्यक्ष रूपमा जोड्दै औद्योगिक विकासको आधारका रूपमा पुनस्र्थापित गर्ने अध्यक्ष राठीले बताए । 

साथै, नवीन अभ्यासहरूको आदान–प्रदान, कर्मचारी स्थायित्व अभिवृद्धि, अप्रेन्टिसशिप तथा प्रमाणिकरण प्रणाली सुदृढीकरण, डिजिटल एचआर प्रणाली प्रवद्र्धन तथा रोजगारदाता र तालिम प्रदायकबीच सहकार्य विस्तारमा जोड दिइनेछ ।

दुई दिने सम्मेलनमा ९ वटा सत्रमा विभाजन गरिनेछ । ती सत्रहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव भएका वक्ता र प्यानलिस्टहरूको सहभागिता रहने उद्योग संगठन मोरङका कार्यसमिति सदस्य तथा मानव संसाधन विकास समितिका संयोजक दीपक अग्रवालले बताए । 

उनका अनुसार बहुराष्ट्रिय कम्पनीहरूको मानव संसाधन अभ्यास, प्रविधिको प्रभाव, डिजिटल एचआर प्रणाली, कर्मचारी स्थायित्वका उपाय तथा सम्बन्धित ऐन–कानुनका विषयमा प्रस्तुति गरिनेछ ।

त्यसैगरी औद्योगिक क्षेत्रमा दक्ष जनशक्ति विकासमा उद्योगको भूमिका, अन्तर्राष्ट्रिय मापदण्डको अवलम्बन, मूल्य अभिवृद्धि श्रृंखलामा जनशक्तिको योगदान तथा सफलताका व्यावहारिक अनुभवसमेत साझा गरिने बताइएको छ।

सम्मेलनमा कुमारी जब टाइटल स्पोन्सर, रिगो एचआर सिल्भर स्पोन्सर तथा जब्स डाइनामिक्स सपोर्टरको रूपमा रहनेछन् भने इन्स्योर, क्वालिटी परियोजना र एनभीक्यूएसले प्राविधिक सहयोग गर्नेछन् । 

सम्मेलनमा उद्योगी, व्यवस्थापक, प्रशासक, मानव संसाधन प्रमुख, तालिम प्रदायक, नीति विश्लेषक, विद्यार्थी तथा विभिन्न औद्योगिक प्रतिष्ठानका प्रतिनिधि गरी १५० भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

सम्मेलनबाट मानव संसाधनसम्बन्धी रणनीतिक रोडम्याप तयार हुने, कर्मचारी स्थायित्वका उपाय पहिचान हुने, अप्रेन्टिसशिप मोडेल विकास हुने तथा डिजिटल प्रणालीसम्बन्धी व्यवहारिक ज्ञान विस्तार हुने विश्वास आयोजकले लिएको छ ।

उद्योग संगठन मोरङका अनुसार सन् २०२४ मा सम्पन्न पहिलो संस्करणले मानव संसाधनलाई औद्योगिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गरेको थियो भने यसपटकको दोस्रो संस्करणले ती उपलब्धिलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

View : 122

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved