Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा बियर, कोक फेन्टादेखि चुरोट गुट्कासम्मको बिक्रीमा प्रतिबन्ध

उद्‌घोष संवाददाता
२० असार २०८१, बिहिवार

विराटनगर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पालिकाभित्र बोतलमा बिक्री हुने मदिरादेखि कोक फेन्टा, चुरोट खैनीदेखि गुट्कासम्मको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । 

गाउँपालिकाले बिहीबार सार्वजनिक गरेको सुचना नं. ६५ मा गाउँपालिकाका सबै सरोकारवालाहरूलाई सम्बोधन गर्दै ती सामग्रीहरूको आयात, बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा प्रतिबन्ध लगाएको उल्लेख छ ।

गाउँपालिकाका अध्यक्ष मेजर राईको अध्यक्षतामा असार १८ गते बसेको १८ औं कार्यपालिकाको बैठकले प्रतिबन्ध लगाउने बियर, रक्सी, डिउ, कोक, फेन्टा, रेडबुल, सुर्ती तथा सुर्तीजन्य चुरोट, गुड्खाको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ । 

उक्त निर्णय अनुसार असार १८ गतेदेखि यस्ता खाद्य सामग्रीको आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको जनाइएको छ । त्यसैगरी हाल आयात भइसकेको हकमा भने आगामी असोज १५ गतेभित्र विक्री वितरण गरिसक्न समेत आग्रह गरिएको छ ।

गाउँपालिकाले यस्ता सामग्रीको सेवनले स्वास्थ्यमा गम्भीर असर पार्ने, स्थानीय अर्थतन्त्रलाई कमजोर बनाउने, महिला तथा घरेलु हिंसाका घटना बढाउने र गाउँलाई विघटन बनाउन प्रत्यक्ष असर पार्ने निष्कर्ष निकालेको सूचनामा उल्लेख गरिएको छ ।

‘गाउँपालिकाभित्र अन्यत्रबाट आयात गरिने सिसाजन्य मदिरा तथा अन्य पेय पदार्थहरू (वियर, रक्सी, डिउ, कोक, फेन्टा, रेडबुल, सुर्ती तथा सुर्तीजन्य चुरोट, गुड्खा) को सेवनले लिम्चुङबुङवासीको स्वास्थ्यमा गम्भीर असर पारी रोगी बनाउने, स्थानीय अर्थतन्त्रलाई कमजोर बनाउने, महिला तथा घरेलु हिंसा उत्पन्न गर्ने तथा गाउँलाई विघटन बनाउन प्रत्यक्ष असर पार्ने भएको हुँदा लिम्चुङबुङवासीहरुलाई रोगबाट बचाउन, आर्थिक सुधार गर्न, विघटनोन्मुख गाउँलाई बचाउन, महिला तथा घरेलु हिंसाबाट उन्मुक्ति दिन आदिको निम्ति मिति २०८१/३/१८ गते देखि आयातमा पूर्ण रुपमा प्रतिबन्ध र हाल सम्म आयात गरिसकेको सामानहरूलाई २०८१ सालको असोज १५ गते भित्र बिक्रीवितरण गरि सक्नु पर्ने’ भनी सूचनामा उल्लेख छ ।

लिम्चुङबुङमा २०७८ को जनगणना अनुसार जनसङ्ख्या ९ हजार ६८९ रहेको छ । उक्त गाउँपालिकामा पहाडे जनजाति समुदायको जनसङ्ख्या उल्लेख्य छ । जनगणना अनुसार कुल जनसङ्ख्याको ४७.८ प्रतिशत राई जाती रहेका छन् । त्यस्तै १५.३ प्रतिशत मगर र ४.१ प्रतिशत तामाङ जाती रहेका छन् ।

View : 611

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved