Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

मोरङ क्याम्पसका आंशिक प्राध्यापकद्वारा २५ बुँदे माग प्रस्तुत

शिक्षाशास्त्र संकायलाई राष्ट्रियस्तरमै उत्कृष्ट बनाउन जोड
उद्‌घोष संवाददाता
३० कार्तिक २०८२, आइतवार

विराटनगर । मोरङ क्याम्पसमा शिक्षाशास्त्र संकायका आंशिक प्राध्यापकहरू संकायको समग्र उन्नतिका लागि एकजुट बनेका छन् । 

गुणस्तरीय शिक्षा र प्रभावकारी शैक्षिक व्यवस्थापन सुनिश्चित गर्न उनीहरूले २५ बुँदे मागसहितको सुझावपत्र क्याम्पस नेतृत्वसमक्ष प्रस्तुत गरेका छन् ।

क्याम्पसको शिक्षाशास्त्र संकायलाई राष्ट्रियस्तरमै उत्कृष्ट संकाय बनाउने उद्देश्यसहित तयार पारिएको सो सुझावपत्र क्याम्पस प्रमुख डा. रामावतार शरण, सहायक क्याम्पस प्रमुख डा. सुशील अधिकारी तथा त्रिवि प्राध्यापक संघ क्याम्पस इकाईका सभापति नवीन अधिकारीलाई बुझाइएको हो । 

आंशिक प्राध्यापकहरूले आफ्नो माग तत्काल कार्यान्वयनका लागि कदम चाल्न आग्रह गरेका छन् । 

उनीहरुले शिक्षाशास्त्र अध्ययन गरेका प्राध्यापकलाई नेतृत्वको जिम्मेवारी दिएमा शिक्षाशास्त्र संकाय प्रभावकारी हुने उनीहरुले जोड दिएका छन् ।

विसं २०१२ सालमा स्थापना भएको मोरङ क्याम्पसमा २०६८ सालदेखि शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तह (बीएड) को पढाइ सुरु गरिएको थियो । पछि २०७६ सालदेखि स्नातकोत्तर (एमएड) पढाइ सुरु गरिएको थियो ।

सुझावपत्र विभिन्न सरोकारवाला निकायहरूलाई समेत बोधार्थस्वरूप प्रदान गरिएको छ । 

कर्मचारीको छाता संगठन त्रिवि कर्मचारी संघ–क्याम्पस इकाई, स्वतन्त्र विद्यार्थी युनियन, नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, एमाले निकट प्रगतिशील प्राध्यापक संगठन, माओवादी निकट राष्ट्रिय प्राध्यापक संगठन तथा मधेशी प्राध्यापक संघलाई  बोधार्थस्वरुप मागपत्र हस्तान्तरण गरिएको छ ।

यसअघि मागपत्र क्याम्पस प्रमुखलाई मात्र बुझाउने परम्परा रहे पनि यसपटक संकायको दिगो विकासका लागि सहायक प्रमुख तथा प्राध्यापक संघका प्रतिनिधिलाई पनि औपचारिक रूपमा जानकारी गराइएको छ ।

रामकुमार मेहताको नेतृत्वमा बुझाइएको मागपत्र कार्यक्रममा सूर्य निरौला, पुष्प निरौला, बद्री पौडेल, गणेश दुलाल र धीराज आचार्यलगायतका प्राध्यापकहरूको सक्रिय सहभागिता थियो ।

View : 283

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved