Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

नेपाली मदिरालाई टोकियोमा कास्य पदक

उद्‌घोष संवाददाता
६ जेठ २०८३, बुधवार

विराटनगर । नेपाली मदिरा उद्योगका लागि ऐतिहासिक सफलता हासिल गर्दै ‘द हिमालयन रिजर्भ’ ले प्रतिष्ठित टोकियो ह्विस्की एन्ड स्पिरिट्स कम्पिटिसन (टीडब्लुएससी) २०२६ मा कास्य पदक जित्न सफल भएको छ ।

एशियाकै ठूलो तथा कडा प्रतिस्पर्धामध्ये एक मानिने उक्त प्रतियोगितामा जापानका प्रख्यात विज्ञहरूले प्रत्यक्ष नाम नखुलाइ स्वाद परीक्षण गरेर उत्कृष्ट मदिरा छनोट गर्ने गर्छन् । 

विश्वका स्थापित अन्तर्राष्ट्रिय डिस्टिलरीहरूसँगको प्रतिस्पर्धामा नेपाली उत्पादनले गुणस्तर र मिश्रण कलाका आधारमा यो सम्मान प्राप्त गरेको हो ।

यो उपलब्धि ‘द हिमालयन रिजर्भ’ उत्पादन गर्ने कम्पनी प्रिमियर डिस्टिलरी लिमिटेडका लागि महत्वपूर्ण कोशेढुंगा बनेको कम्पनीले जनाएको छ ।

यो अन्तर्राष्ट्रिय सम्मानले हिमालय क्षेत्रमै उत्पादन हुने नेपाली मदिरा विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको पुष्टि गरेको भन्दै कम्पनीले खुशी बाँडेको छ । 

‘मदिरा पारखीहरूका लागि समेत यो उपलब्धिलाई नेपाली मदिरा उद्योगको नयाँ बिहानी का रूपमा हेरिएको छ’ कम्पनीले भनेको छ । 

कम्पनीका अनुसार यो कास्य पदक केवल एउटा ब्रान्डको सफलता मात्र नभई नेपाली मदिराको अन्तर्राष्ट्रिय पहिचान, गुणस्तर तथा मिश्रण सीपको विश्वस्तरीय प्रमाण हो । 

यसले नेपाली मदिरा उद्योगलाई अन्तर्राष्ट्रिय बजार विस्तारमा थप उत्साह र अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।

View : 134

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved