लोकतान्त्रिक पार्टी किन डराउँछ चुनावदेखि ?
सुनसरी । लोकतन्त्र, विधिको शासन र जनमतको सम्मानलाई आफ्नो राजनीतिक आदर्श बताउँदै आएको नेपाली कांग्रेस आफ्नै आन्तरिक निर्वाचन सहज रूपमा सम्पन्न गर्न नसक्ने अवस्थामा पुगेपछि पार्टीको लोकतान्त्रिक प्रतिबद्धतामाथि प्रश्न उठेको छ ।
चार केन्द्रीय सदस्यदेखि जिल्ला सभापति, तरुण दलका जिल्ला सभापति, नेविसंघका पूर्वकेन्द्रीय उपसभापति र दुई पटकका प्रतिनिधिसभा सांसदसम्मको उपस्थिति रहेको क्षेत्रमा समेत निर्वाचन सम्पन्न हुन नसक्नुले कांग्रेसको नेतृत्व र लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको कार्यकर्ताहरूले बताए ।
सुनसरीका क्षेत्र नं. २ र ४ मा निर्वाचन हुन नसकेको घटनाले कांग्रेसको संगठनात्मक व्यवस्थापन, नेतृत्वको जवाफदेहिता र आन्तरिक लोकतान्त्रिक संस्कारमाथि नै संकट देखिएको हो ।
विशेषगरी सुनसरी क्षेत्र नं. २ को अवस्था राजनीतिक रूपमा चासोको केन्द्र बनेको छ । यस क्षेत्रमा इनरुवाका दुई जना मेयर, रामधुनीका एक जना पूर्वमेयर, इटहरीका वर्तमान मेयर, चार जना केन्द्रीय सदस्य, जिल्ला सभापति, तरुण दलका जिल्ला सभापति, नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपसभापति तथा दुई पटक प्रतिनिधिसभा सदस्य भइसकेका नेताको प्रभाव देखिंदै आएको छ ।
यति धेरै राजनीतिक अनुभव, संगठनात्मक पहुँच र नेतृत्वदायी व्यक्तित्वहरूको उपस्थिति हुँदाहुँदै पनि निर्वाचन सहज रूपमा अघि बढ्न नसक्नुले कांग्रेसको आन्तरिक व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको कार्यकर्ताहरू बताउँछन् ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदका उम्मेदवार सुदीप अधिकारीले निर्वाचन व्यवस्थापनमा अनियन्त्रित र अस्वाभाविक परिस्थिति सिर्जना भएको भन्दै आपत्ति नै जनाइसकेका छन् ।
उनले चुनावी मर्यादा, पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठ्ने अवस्था आएपछि सबै पक्षको सहमतिमा निर्वाचन प्रक्रिया स्थगित गरिएको बताएका छन् ।
अधिकारीले निर्वाचनका क्रममा विभिन्न चुनौती र घेराबन्दीका प्रयास भएको उल्लेख गर्दै प्रतिनिधिहरूको गोप्य मतदानको अधिकार सुरक्षित हुने वातावरणमा यथाशीघ्र पुनः निर्वाचन सम्पन्न गराउन पार्टी नेतृत्व र निर्वाचन समितिको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले निर्वाचन प्रक्रियालाई रोकेर सहमतिका नाममा लोकतान्त्रिक मान्यता विपरितको काम गर्नु उचित नहुने स्पष्ट धारणा राखेका छन् ।
‘नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ मा निर्वाचन प्रक्रिया सुरु भइसकेपछि सिर्जित प्राविधिक समस्याको निष्पक्ष समाधान खोजेर पुनः पारदर्शी जनादेशमा जानुको साटो सहमतिका नाममा पहुँच र गुटगत निकटताका आधारमा केन्द्रीय महाधिवेशन प्रतिनिधि कब्जा गर्न खोज्नु पार्टीको आन्तरिक लोकतन्त्रमाथिको गम्भीर प्रहार र पद्दतिहीनताको पराकाष्ठा हो’ अधिकारीले भनेका छन्, ‘निर्वाचनमा होमिइसकेका क्षेत्रीय प्रतिनिधिहरूको सार्वभौम मताधिकारलाई कुण्ठित गर्दै शक्तिको उन्मादमा आफ्ना मान्छे संस्थागत गर्ने यो गलत अभ्यासले लोकतान्त्रिक निष्ठा, निष्पक्षता र विधिको शासनको धज्जी उडाएको छ ।’
उनले आफु हारजित जे भएपनि चुनावको स्वभाविक प्रक्रियामा जान तयार रहेको बताए । तर उम्मेदवार बनेर आफ्नो मत सुरक्षित गर्न तम्सेका पार्टीका निष्ठावान् र जिम्मेवार कार्यकर्ताहरूलाई नै पाखा लगाएर कब्जा गरिएको भन्दै यस्तो संरचनाले कांग्रेसभित्र अवसरवाद र भागबण्डाको घातक नजिर स्थापित हुनेतर्फ सजक रहन नेतृत्वलाई आग्रह गरेका छन् ।
सुनसरी २ मा तीन दिनअघि निर्वाचनको प्रक्रिया चलिरहँदा बाहिर बाँडिएको उम्मेदवारहरुको लिष्टको बिषयलाई लिएर विवाद निकालिएको थियो । मतदानको प्रक्रियाभन्दा बाहिर उब्जिएको विवादलाई नै आधारमा मानेर निर्वाचनको सम्पूर्ण रोकिएको तर अहिलेसम्म पुनः निर्वाचनको प्रक्रिया प्रारम्भ हुन नसकेको जनाइएको छ ।
कार्यकर्ताहरूले निर्वाचनमा धाँधली भएको वा कुनै उम्मेदवारको सम्भावित जित रोक्न प्रक्रिया प्रभावित पारिएको हो ? भन्दै प्रश्न खडा गरेका छन् ।
सुनसरी–२ मा स्थानीय तहदेखि पार्टीको केन्द्रीय नेतृत्वसम्म प्रभाव राख्ने व्यक्तिहरूको उपस्थिति छ । जिल्ला नेतृत्व, भ्रातृ संगठनका पदाधिकारी, पूर्वसांसद तथा केन्द्रीय सदस्यहरूको अनुभव र राजनीतिक पहुँचलाई हेर्दा निर्वाचनलाई पारदर्शी, मर्यादित र विवादरहित रूपमा सम्पन्न गराउन नेतृत्वदायी भूमिका अपेक्षित गरिएको उनीहरू बताउँछन् । तर त्यसको विपरित हुने गरी व्यवहार देखिनु कांग्रेसमा आस्थावान कार्यकर्ताहरुका लागि निकै दुखद् भएको उनीहरू बताउँछन् ।
निर्वाचन प्रक्रिया नै अघि बढ्न नसक्ने अवस्था आउनुले धेरै अनुभवी नेताहरू रहेको क्षेत्रमा पार्टीको आन्तरिक निर्वाचन व्यवस्थापन किन प्रभावकारी हुन सकेन भन्ने गम्भीर प्रश्न उब्जाएको हो । कार्यकर्ताहरूले आफ्नो नेतृत्व आफैँ छान्ने वातावरण सुनिश्चित गर्न नसक्ने नेतृत्व पनि असक्षम घोषित हुने बताएका छन् ।
यो घटनाले नेपाली कांग्रेसले आफूलाई लोकतान्त्रिक मूल्य र मान्यता विपरितको पार्टीका रूपमा प्रस्तुत गरिएको गुनासो तिब्र बनेको हो ।
सुनसरी ४ मा पनि सुरु भइसकेको निर्वाचन प्रक्रिया अवरुद्ध छ । क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि निर्वाचनका क्रममा उम्मेदवारले नै मतपेटिका तोडफोड गरेको दृष्यले कांग्रेस कार्यकर्ताहरू निरास बनेका छन् ।
गत मंगलबार भएको निर्वाचनमा ७८ प्रतिशत मत खसेको थियो । मतपेटिका भने जिल्ला प्रहरी कार्यलयमा सुरक्षित राखिएको छ ।
मतदान भइरहेका बेला मतपत्रसम्बन्धी विषयमा विवाद उत्पन्न भएपछि दुई पक्षबीच हातहालाहालकै अवस्था बनेको जनाइएको छ ।
विवादकै क्रममा क्षेत्रीय सभापति तथा कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले मतपेटिकामा लात्तले हानेर फ्याँकिदिएका थिए । सोही कारण निर्वाचन प्रक्रिया प्रभावित भएको थियो । घटनापछि उनी त्यहाँबाट फरार भएका थिए ।
क्षेत्रीय सभापतिका उम्मेदवार गफार अन्सारी पक्षले भने निर्वाचनमा आफ्नो पक्षको स्थिति बलियो देखिएपछि मनोज साह पक्षले विवाद सिर्जना गरेको आरोप लगाएका छन् ।
सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी र मनोज साह चुनावी मैदानमा उत्रिएका थिए ।
सुनसरीको घटनाले पार्टीभित्र नेतृत्व चयन गर्ने प्रक्रियाको विश्वसनीयता र प्रतिनिधिहरूको मताधिकारबारे गम्भीर बहस सिर्जना गरेको छ । पार्टी नेतृत्वले निर्वाचन स्थगित हुनुका कारण सार्वजनिक गर्दै पुनः निर्वाचनको मिति र प्रक्रिया स्पष्ट गर्नुपर्नेमा कार्यकर्ताहरूले भने आवाज चर्काउँदै लगेका छन् ।
उनीहरूले लोकतन्त्रलाई भाषणमा होइन, व्यवहारमा देखाउनु पर्ने, प्रतिनिधिहरूको मताधिकारको सम्मान हुनुपर्ने, पारदर्शी निर्वाचन र नेतृत्वको जवाफदेहिता देखिनु पर्ने भन्दै नेतृत्व समक्ष प्रश्न खडा गरेका छन् ।
View : 46
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved