काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियता कमजोर बन्दै गएको भन्दै राष्ट्रिय एकता र लोकतन्त्रलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् ।
४४औँ वी.पी. स्मृति दिवसको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रममा बोल्दै नेता कोइरालाले राष्ट्रियता बलियो नभएसम्म लोकतन्त्रको मात्रै कुरा गरेर उपलब्धि हासिल गर्न नसकिने धारणा व्यक्त गरे ।
उनले भने, ‘राष्ट्रियता अहिले एकदमै कमजोर अवस्थामा छ । राष्ट्रियता मजबुत नभइकन जतिसुकै लोकतन्त्रको कुरा गरौं, त्यसले फाइदा गर्दैन। राष्ट्रियता र प्रजातन्त्रलाई सँगसँगै लिएर हिँड्नुपर्छ । वी.पी. कोइराला साहसका धनी थिए ।’
देशको वर्तमान अवस्था अत्यन्त जटिल र संवेदनशील रहेको उल्लेख गर्दै उनले सबै राजनीतिक शक्ति राष्ट्रिय हितलाई केन्द्रमा राखेर एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘नेपालको अवस्था अत्यन्त भयावह छ। हामी रहन्छौं, माटो यही रहन्छ, तर अवस्था नाजुक ढंगबाट गइरहेको छ । अब पनि हामी एकढिक्का भएर अगाडि बढ्न सकेनौं भने नेपाली कांग्रेसको के अवस्था हुन्छ, त्यो त हुन्छ नै । तर अब हाम्रो चिन्ता नेपाली कांग्रेसभन्दा पनि देशको चिन्ता धेरै ठूलो भएर गएको छ ।’
उनले देशलाई विद्यमान संकटबाट मुक्त गर्न वी.पी. कोइरालाले २०३३ सालमा भारतबाट फर्किएपछि अघि सारेको राष्ट्रिय एकता र मेलमिलापको नीति आत्मसात् गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘देशको अवस्था अत्यन्त अप्ठ्यारो र नाजुक अवस्थाबाट गइरहेको छ । त्यसलाई मुक्ति दिलाउनका निम्ति पनि वी.पी.ले ३३ सालमा भारतबाट फर्केर भनेको राष्ट्रिय एकता र मेलमिलापलाई मनन गर्दै हामी अगाडि बढ्न सक्यौं भने पक्कै पनि हाम्रो गन्तव्यमा पुग्न सक्छौं ।’
कार्यक्रममा संस्थागत सुदृढीकरणको विषयमा पनि संक्षिप्त धारणा राख्दै उनले संस्था कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने विषयमा सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए ।
View : 34
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved